+
+

गोरखाको खानीगाउँमा तामाखानी, संरक्षण र उत्खननको माग

बिकास मरहट्टा बिकास मरहट्टा
२०७५ असार १५ गते १५:४१

 १५ असार, गोरखा । पालुङटार नगरपालिका-८ धुवाकोटस्थित खानीगाउँमा तामाखानी रहेको दावी गर्दै स्थानीयले उत्खनन गर्न माग गरेका छन् ।

करिब ८० वर्षअघि आफ्ना बाबुबाजेले उक्त ठाउँबाट तामा निकाल्ने गरेको सुन्नमा आएको उनीहरु बताउँछन् । ‘मैले थाहा पाउँदा यहाँ सानो पानीको ताल थियो, पानी पहेलो हुन्थ्यो,’ स्थानीय ओम नारायण श्रेष्ठले भने, ‘हाम्रा बुवाहरुले २५ पैसा ज्यालामा यहाँबाट तामा झिक्ने काम गर्नुहुन्थ्यो रे ! यहाँबाट निकालेको तामाका किटहरु जातोमा पिसेर तामा बनाउथे रे !’ अहिले तामा पिस्ने जातो नभएपनि तामाका किटहरु भएको उनले दावी गरे ।

उवेला निकालेको तामा हालसम्म पनि घरमा रहेको ७६ वर्षीय धनबहादुर क्षेत्री बताउँछन् । ‘हामी सानोमा गोठालो आउँदा यहाँ डडेका काठका दाउरा, गोबरका गुइठा हुन्थे अनि बाबालाई सोध्दा तामा पकाएको भन्नुहुन्थ्यो,’ उनले भने ।

खानीगाउँ नजिकै रहेको सिद्ध मन्दिरमा सोही ठाउँबाट निकालिएको तामाबाट बनेको हत्तर र तावा अझै पनि रहेको स्थानीय निलबहादुर थापा मगरले बताए । ‘गाइँखुरमा एउटा डिठ्ठाले यहीबाट तामा लगेर घर छाएका छन् भन्ने कुरा सुनेका छौ,’ उनले भने ।

तामा खानी छ भन्दै आएको ठाउँमा अहिले सानो सुरुङ जस्तो भाग रहेको छ । यसअघि ठूलै सुरुङ भएपनि पहिरोले पुरिएर प्वाल सानो भएको स्थानीयहरु बताउँछन् ।

सन् २०१७ सेक्टेम्वर १३ मा स्थानीय सन्तोष भण्डारी सुरुङ भित्र पसेका थिए । ‘गैची कोदाले लिएर हामी भित्र पस्यौ, भित्र फुटेका हाडी पानी खाने भाडा भेट्यौ, तामाखानी उत्खनन गर्न गएकाहरुले खाजापानी गर्न प्रयोग गर्ने भाडा हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भने ।

सुरुङभित्र निलो चट्टान रहेको उनले बताए । ‘भित्र पर्खाल जस्तो पनि लगाएको देखियो, त्यो देख्दा मानिसहरु भित्र पसेर तामा खोतलेको हुनुपर्छ,’ उनले भने ।

उक्त तामाखानीको सम्भाव्यता अध्यन गरेर उत्खनन गर्न स्थानीयले माग गरेका छन् । ‘यहाँ राम्रो तामाखानी निस्कियो भने राज्यको सम्पत्ति पनि बढ्छ, लुकेर बसेको चिजलाई बाहिर निकाल्नुपर्छ,’ स्थानीय मगरले भने ।

तामाखानी प्रचारपसारका लागि यस वर्ष वडा कार्यालयले ५० हजार रकम विनियोजन गरेको वडाअध्यक्ष शंकर कडेलले बताए । ‘यहाँ तामाखानी छ भनेर मैले पहिले देखि सुन्दै आएको थिए, केही महिना अघि हामी आएर हेर्‍यौ अनि प्रचारमा जुटेका हौ,’ उनले भने ।

उक्त खानीको सम्भाव्यता अध्यन गरेर त्यहाँ पाइने किटमा तामाको मिसावट कति छ भन्ने कुरा थाहा पाउनु आवश्यक रहेको उनले बताए ।

तामा खानी रहेको दावी गर्दै उनले आगामी आर्थिक वर्ष खानीको प्रवर्द्धनका लागि थप बजेट बिनियोजन गर्ने जानकारी दिए । ‘यहाँसम्म मोटरवाटो ल्याउने, भूगर्वविदलाई बोलाउने काम गर्न अव जुट्छौ, तामा खानी रहेछ भने सरकारको राजश्व पनि बढ्छ,’ उनले भने ।

विकट क्षेत्र भएर अरुको चासो नपुगेको भन्दै यसको प्रवर्द्धन र प्रचारपसारमा सहयोग गरिदिन स्थानीयले आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?