+
+

५० वर्षपछि लालपुर्जा हातमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३० गते ११:४८


३० असार, बुटवल । २०२५ सालमा नापी भएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) ५० वर्षपछि पाउँदा रुपन्देहीका जग्गाधनीहरु औधी खुशी भएका छन् ।

गाउँ ब्लकमा दर्ता भएको धेरै वर्षपछि जग्गा धनी प्रमाणपत्र पाउँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. १५, १६ र १७ का एक सय १६ परिवारमा खुशी छाएको हो ।

साविक गंगोलिया ३ (ख) कित्ता नंं.१३२ कि ७० वर्षीया मालतीदेवी थारुले जग्गा नापी भएको ५० वर्षपछि लालपुर्जा पाउँदा अचम्म लागेको बताइन् । ‘आफ्नो जीवनमा लालपुर्जा पाइएला भन्ने आशै मारिसकेकी थिएँ,’ मालतीदेवीले भनिन्, ‘हातमा लालपुर्जा नहुँदा डेढ बिघा जग्गा हुँदाहुँदै पनि सुकुम्बासी जस्तै भएर बस्नुपरेको थियो, बल्ल केही गर्न पाइएला भन्ने आश पलायो ।’

मालतीदेवी जस्तै साविक मधवलियाकी ६० वर्षीया कोइली चौधरी ढिलै भए पनि बुढेसकालमा लालपुर्जा पाउँदा परिवारका सबै जना खुशी भएको बताउँछिन् । ‘धेरै वर्षसम्म लालपुर्जा पाइने आशामा बितायौं तर नपाउँदा पाइने हो कि हैन विश्वासै थिएन,’ कोइलीले भनिन्, ‘चुनावका बेला सबैले लालपुर्जा दिन्छु भन्थे, तर यसपाली चाहीँ साँच्चै पाउँदा बल्ल विश्वास लाग्यो ।’

मालतीदेवी र कोइली जस्तै तिलोत्तमा नगरपालिका वडा नं. १५, १६ र १७ का ११६ परिवारलाई शनिबार तिलोत्तमा नगरपालिका कार्यालय परिसरमा संघीय सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री खनालले वर्षौंदेखि जग्गाको जोतभोग गरेका र स्वामित्व भएकाले समेत जग्गाधनी प्रमाणपत्र नपाउँदा सर्वसाधारण जनताले अनेक सास्ती, हैरानी र आर्थिक क्षति ब्यहोरिरहेको बताए ।

संविधानले सबै नागरिकलाई जग्गाको मालिक बनाउने भनेकाले संघीय सरकारले पुरानो ऐन संशोधन गरेर जोतभोगका आधारमा सबैलाई जग्गाधनीको प्रमाणपत्र बाँड्ने आश्वासन दिए ।

‘भूमिको स्वामित्वका सम्बन्धमा थुप्रैखाले समस्या छन् तर यो सरकारले उच्चस्तरीय आयोग बनाएर भूमिसम्बन्धी सबै समस्या हल गरेरै छाड्छ,’ मन्त्री खनालले भने, ‘अब्यवस्थित बसोबास र सुकुम्बासीलाई पनि ‘अन द स्पट’ जग्गाधनी प्रमाणपत्र दिने गरी नीति बनाउँदै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?