+
+

साउनको महिमाः किन उपवास बस्ने, किन मन्दिर धाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते ८:००

७ साउन, काठमाडौं । आज साउनको पहिलो सोमबार । धार्मिक आस्था राख्नेहरुका लागि विशेष दिन । यस दिन मन्दिर जाने, पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने गरिन्छ ।

त्यसो त अन्नवाली लगाइ सकेपछिको यो फुर्सदिलो समय पनि हो । यतिबेलाको मौसममा छुट्टै मादकता छ । चारैतिर हरियाली । रंगविरंगी फूलहरु । वर्षा र बादलको लुकामारी । सप्तरंगी इन्द्रेणी ।

प्रकृतिको यो मनोहर पृष्ठभूमिमा मनलाई भक्तिभावमा समर्पित गर्नुको पनि बेग्लै आनन्द छ ।

साउनको केही विशेषता छन् । यतिबेला चेलीबेटीहरुले मेहेन्दी लगाउँछन् । चुरा लगाउँछन् । हरियो, रातो, पहेंलो रंगको वस्त्रधारण गर्छन् । अर्थात् साउन भनेको शृंगारको महिना हो, फेसनको महिना हो । यो सात्विक महिना हो । पूजा आराधना गरी सात्विक भोजन ग्रहण गरेर बस्ने गरिन्छ, यो महिनामा ।

यसको अध्यात्मिक, सामाजिक, सांस्कृतिक महत्त्व छ । यति मात्रै होइन, वैज्ञानिक महत्त्व पनि छ ।

साउनको फेसन


साउन फेसनको महिना हो । यतिबेला गरिने फेसनको पनि आफ्नै विशेषता र महत्त्व छ । यो महिनामा खासगरी हरियो, रातो र पहेंलो रंगको संयोजन मिलाइन्छ । चाहे साडी, कुर्तामा होस् वा चुरामा, यी तीन रंगको संयोजन हुन्छ ।

साउनमा लगाइने यस्तो रंग अर्थपूर्ण छ । हरियो रंगलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतीक मानिन्छ ।

चुरा, पोते, मेहेंन्दी लगाउनुको सामाजिक महत्त्व पनि छ । खासगरी अन्नबाली लगाइ सकेपछिको यो फुर्सदिलो समयमा शृंगारको छुट्टै महत्व हुन्छ । हातमा लगाइने प्राकृतिक मेहेंन्दीमा औषधीय गुण पनि हुन्छ । यसले हातलाई आकर्षक देखाउने मात्र नभई, चोटपटक पनि निको हुने बताइन्छ ।

साउनको खानपान


यो वर्षाको मौसम हो । यतिवेला हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । त्यसैले मासुजन्य एवं मसलेदार खानेकुरा सजिलै पच्दैन । त्यस्ता खानेकुरामा संक्रमणको भय पनि रहन्छ । त्यही कारण यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खाने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहत दिन्छ । साउनमा खीरलगायत दूधजन्य परिकार खाने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?