+
+

प्रहरीकै शंकाको घेरामा परिन् सांसद निरुदेवी पाल

पेस्तोल तेर्सिएकै हो कि बनावटी घटना ?

गौरव पोखरेल गौरव पोखरेल
२०७५ साउन १७ गते २०:१३

१७ साउन, काठमाडौं । प्रतिनिधिसभाकी सांसद निरुदेवी पाललाई अज्ञात व्यक्तिले पेस्तोल ताकेको भनिएको घटनामा नयाँ ‘टि्वस्ट’ आएको छ । अज्ञात पेस्तोलधारी पत्ता लाग्नु त परै जाओस्, पीडित भनिएकी सांसद पालमाथि नै प्रहरीले आशंका गर्न थालेको छ ।

मंगलबार राति बानेश्वरमा अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइल लुटेको भन्दै सांसद पालले बुधबार बिहानदेखि सुरक्षा गार्डसमेत लिइसकेकी लिएकी छिन् ।

तर, बानेश्वरजस्तो राजधानीको मुटुमा कसैले पेस्तोल ताकेर माननीयको मोबाइल लुट्छ भन्ने कुरा प्रहरी अधिकारीले अहिलेसम्म पत्याउन सकेका छैनन् ।

राजधानीमा सांसदलाई पेस्तोल ताकिएको जस्तो अति संवेदनशील सुरक्षा प्रश्नमा प्रहरीले सक्रियतापूर्वक चासो दिनु स्वाभाविकै हो । तर, देशको सुरक्षा अंग यस कुरामा आश्चर्यमा परेको छ कि सांसद पालमाथि पेस्तोल ताकिएको समाचार मंगलबार रातिसम्म प्रहरीले थाहै पाएन ।

भोलिपल्ट मिडियामा समाचार आएपछि मात्रै महानगरीय अपराध अनुसन्धान महाशाखा, काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, बानेश्वर झल्यास्स भए । त्यसपछि यो घटनामा स्वयं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि चासो दिए ।

तर, प्रारम्भिकरुपमा बुझ्दै जाँदा यो घटना ‘फेक’ हुन सक्ने निश्कर्षमा प्रहरी अधिकारीहरु पुगेका छन् । मानिसहरुको चलह-पहल भइरहने बानेश्वरजस्तो ठाउँमा पेस्तोलधारीले सांसदमाथि नै हतियार देखाएर थ्रेट गर्न सक्ने गरी राजधानीको सुरक्षा व्यवस्था कमजोर नरहेको प्रहरीको दाबी छ ।

तर, बुधबार हामीले भेट्दा सांसद निरुदेवी पाल निकै आत्तिएकी र डराएकी देखिन्थिन् । सांसद पालले जसरी घटनाको बयान गरिन्, त्यसले उनीमाथिको आक्रमण बनावटी जस्तो महसुस हुँदैनथ्यो ।

उनी संसदीय सुनुवाइ समितिको बैठक सकेर प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार जाने क्रममा गाडीमा बसेका बेला हामीले मंगलबार रातिको घटनाबारे सोध्यौं ।

घटना कसरी भयो ?  पालले यसरी सुनाइन्-

म मंगलबार साँझ साढे ६ बजे राष्ट्रपतिनिवासबाट आएँ । बिहान साढे ७ बजेदेखि निस्केको मान्छे, हिजो यति धेरै थकाइलाग्यो कि खाना पनि खान मन लागेन र लुगा फेरेर पल्टें ।

सवा ८ बजेतिर मलाई यस्तो चिया खान मन लाग्यो कि भित्र हेरें, दूध थिएन । बाबुलाई लिएर आइज भन्छु भनेको, पढिराखेको रहेछ । त्यसलाई पनि भन्न सकिनँ । अनि फेरि लुगा फेरेर तल ओरालोमा दूध लिन गएँ ।

त्यहाँ भित्र पस्ने ठाउँमा एउटा बिजुलीको पोल छ । त्यहाँनेर एउटा केटो, रेनकोट लगाएको थियो, रेनकोटको टोपी लगाएको थियो, त्यहाँ उभिइरहेको थियो । मलाई देखेपछि फरक्क दिवालतिर फर्कियो । मैले ख्यालै गरिनँ  । तल ओरालोमा गएँ । तीन-चारजना एकै ठाउँमा गुजुक्क उभिएर कुरा गरिरहेका थिए । तीनवटा बाइकहरु थिए ।

म तल पसलमा गएँ, दूध पाइँन । त्यसपछि फेरि माथि पसलमा गएँ । त्यहाँ पनि पाइनँ । (साउन १५ गते खीर खाने दिन काठमाडौंमा दूधको अभाव थियो) नपाइसकेपछि त्यहाँबाट फर्किएर फेरि घर जान्छु भन्दाखेरि ठ्याक्कै खुट्टाले मलाई छेकेर यहाँनेर (कञ्चटमा देखाउँदै) लाइ त गो ‘ अहिले पनि यहाँ पोलिराखेको छ भत्भत ।

गल्लीको अगाडि एउटा स्कुलको भित्ता छ, त्यहाँ बोल्दै नबोलिकन ठेल्यो र एक हातले मोबाइल समात्यो, अर्को हातले यसो गर्‍यो (पेस्तोल ताकेको संकेत गर्दै)

त्यसपछि मैले मोबाइल खोस्न थालेपछि कराइस् भने यहीँ ढाल्दिुन्छु भन्यो । अनि त्यसपछि के भन्यो भने भोलिको बैठक (संसदीय सुनुवाई समिति) मा गइस् भने तेरो बाऊ खड्गे ओलीले पनि तेरो लास पाउँदैन । यत्ति शब्द बोल्यो । अनि विस्तारै रोडतिर गयो ।

यता गयो कि, उता गयो कि, त्यसपछि म कसरी घर गएँ, कसरी पुगें, त्यो थाहा छैन । मार्दिन्छु भनेपछि मेरो ज्यान भन्दा ठूलो त मोबाइल भएन ।

अनि यो नम्बर (अहिले बोकेको) चाहिँ जहिले पनि यही नम्बरबाट बाउ (केपी ओली) सँग फोन गर्थें म । यो नम्बर घरैमा थियो । अनि हत्त न पत्त घर गएर यो फोन लिएर म माथि चार हातखुट्टाले जाँदै गरेको रोजिनाले देखी । कहाँ जाने दिदी भनी । म केही बोलिनँ । एकदमै सास लागिरहेको थियो । बाउलाई फोन गरें । गृहमन्त्री पनि त्यहीँ हुनुहुँदोरहेछ । उहाँसँग पनि कुरा गरें ।

बालाई नै मैले के भनें भने यो ओपन नगरिदिनुहोला । यसले गर्दा भोलिको हाम्रो ईस्यु डाइभर्ट हुन्छ । योचाहिँ नगर्दिनुहोला, तर यस्तो-यस्तो भयो भनेपछि सुरक्षा, सुरक्षा सबैतिर अलर्ट गरे ।

अनि त्यसछाडि माधव ज्वाइँ (पत्रकार माधव नेपाल, जो निरु पाल बस्ने घरमै डेरा बस्छन्) हरुकोमा छिरें । तिनीहरु त किन यसरी माथि गई भन्ने भयो । मैले भनें, ज्वाइँ, कसैलाई नभन्नु तर यस्तो यस्तो भयो ।

मलाई एक घण्टासम्म त्यहीँ तातोपानी खुवाए । मैले ज्वाइँसाहेब, भोलिसम्म नभनौं, भोलि निर्णय भएपछि बरु के-के गर्नुपर्छ गरौंला । भनें । अब आज यस्तो हुनेरहेछ भन्ने भएको भए त हिजै भन्दिन्थें ।

मलाई सेक्युरिटी हिजै पठाइदिन्छु भनेको थियो, मैले पर्दैन, च्यानल गेट लगाएर बस्छु भनंे । अनि बहिनी -प्रहरी) बिहानै पुग्नुभयो ।

म सधैं बाइकमा हिँड्ने मान्छे । मलाई एउटा दम्भ के थियो भने मैले कसैको केही बिगारेको छैन भने मलाई चाहिँ कसले के गर्छ ? यसभन्दा अगाडि मलाई कुनै त्यस्तो फोनसोन केही आएको थिएन ।

त्यो मेरो मोबाइल ९८५११ वाला हो । आइफोन हो । अफ छ । अहिलेसम्म खोलेको छैन । पुलिसले ट्रयाक गर्न लाइरा’छ । फोनमा त मलाई गरेपछि सुबद हुन्छ, यसले समाइहाल्छे भन्ने भयो होला । मलाई यस्तो लाग्छ, अब त्यो फोन त खुल्दै खुल्दैन । त्यो लक हुन्छ । उसले यो तुरुन्त कहीँ खबर गर्न नसकोस् भनेर लगेको होला, आफू भाग्नलाई ।

त्यो मान्छे त्यस्तै २५/२६ वर्षको उमेरको जस्तो थियो । हदै भए २७/२८ वर्षको होला ।  त्यही ताक्ने बेलामा मात्रै एकचोटि अनुहार हेरियो । कहिल्यै त्यो मान्छे देखेको पनि होइन ।

मैले बुधबार सभामुखलाई जानकारी गराएँ । अनि समिति (सुनवाई) मा कुरा राखें । समितिले सिंगै समितिका तर्फबाट सभामुखलाई पनि भन्ने र सरकारलाई पनि भन्ने निर्णय गरेर गृहमन्त्रालयमा पठाइसकेको छ ।

मैले यो कुरा कसैलाई भनिनँ । मैले किन भनिनँ भने उसले यो कुरा केपी ओलीलाई भनेपछि  (प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने अडान) फिर्ता लिन्छ कि भन्ने होला । तर, मैले बालाई पनि के भनें भने या चाहिँ काहीँ कतै गाइँगुइँ नगर्नुहोला, तपाईले मात्रै राख्नुहोस् । त्यसपछि भोलि के गर्नुपर्छ गरौंला ।

सुवास (नेम्वाङ) दाइ अहिले कराउँदै हुनुहुन्थ्यो । बेलैमा किन खबर नगरेको ? यसमा हामी पछि पर्‍यौं भन्दै हुनुहुन्थ्यो ।

दिदी एकदमै आत्तिनुभएको थियोः माधव नेपाल (पत्रकार)

सांसद निरु पाल बसेकै घरमा डेरा गरी बस्ने पत्रकार माधव नेपाल यो घटनाबारे थापा पाउने पहिलो व्यक्ति हुन् । हामीले मंगलबार राति सांसद निरुदेवीको अवस्था कस्तो थियो भनेर प्रश्न गर्दा नेपालले यसरी सुनाए-

बाटामा के के भयो, त्यो त मलाई थाहा भएन । तर, घरमा उहाँ एकदमै आत्तिनुभएको थियो । हाम्रो कोठामा झण्डै ४५ मिनेटजति बस्दा पनि उहाँ एकदमै आत्तिएको हुनुहुन्थ्यो । एकदमै बोल्नै नसक्ने हुनुहुन्थ्यो । मैले त के भयो दिदी, अस्पताल जाने ? भनेको, उहाँले हैन हैन भन्नुभयो ।

उहाँ माथि छतमा त्यस्तै १०/१२ मिनेट बस्नुभएको थियो । त्यहसपछि हाम्रो कोठामा आउनुभयो । मोबाइल पनि लग्यो, यहाँनेर (छातीभन्दा केही माथि देखाउँदै) तेर्स्यायो भन्नुभयो ।

मैले हल्लाखल्ला गरौं न त दिदीभन्दा उहाँले हैन म भोलि आफ्नै तरिकाले निवेदन दिन्छु भन्नुभयो । उहाँले नगर् भनेपछि मैले भन्ने कुरा पनि भएन ।

हामी बसेको घर नयाँबानेश्वरको थापागाउँ नजिकै कृष्णभोग पार्टी प्यालेससँगै टाँस्सिएको छ । यता पस्ने ठाउँमा चाहिँ गल्ली छ । त्यहाँ घर त छ, तर राति मान्छेको खासै चहल-पहल हुँदैन । त्यहाँ कुइनेटो छ । त्यहीँ कुइनेटोमै हो मलाई त्यसो गरेको भन्नुभएको छ उहाँले ।

म दूध किन्न जाँदा त्यहाँ एउटा केटोले मोबाइल खेलाइरहेको थियो, पछि आक्रमण गर्‍यो भन्नुभएको छ । दुई तीनवटा मोटरसाइकल थिए भन्नुहुन्छ । त्यहाँ मोटरसाइकलहरु प्रायः भइराख्छन् ।

उहाँले प्रधानमन्त्रीलाई फोन गर्दा गृहमन्त्री पनि सँगै हुनुहुन्थ्यो रे । पछि राजेश बज्राचार्यको फोन आयो । पछि फेरि बाको भनेर फोन आयो । केपीबाले त के भन्नुभयो थाहा छैन, तर उहाँले ठीकै छ, अहिले हल्ला नगरौं भोलिको बैठकलाई प्रभावित पार्न खोज्या होला भनेर यतैबाट दिदीले भन्नुभयो ।

राति उहाँ त्यतिधेरै आत्तिएको देखिसकेपछि मैले अझ अस्पताल नै जाऔं भनेको हुँ । उहाँले निकैबेर पछि सासले मात्रै गफ गर्नुभयो ।

मैले त बेलुकै फोन गरेर दुई/चारजनालाई भनौं भनेको हो । तर, दिदीले हैन, आज हल्ला नगरौं, तपाईलाई पनि आज भन्दिनथें, असैह्य भएर छिरेको भन्दै हुनुहुन्थ्यो । खास मलाई पनि नभन्ने योजना रहेछ उहाँको । तर, उहाँ एकदमै आत्तिएको अवस्थामा हुनुहुन्थ्यो ।

अनि भोलिपल्ट बिहानैदेखि पुलिसको आउजाऊ भयो । सेक्युरिटी पनि एक जना पीएसओ पठाए ।

अहिले काठमाडौंमा सम्झाँझै पेस्तोल तेर्स्याएर हिँड्न सक्ने अवस्था छैन

प्रहरी के भन्छ ? के गर्दैछ ?

बुधबार बिहानै निरुदेवी पालको डेरा अगाडि प्रहरीको चहल-पहल देखियो । एकजना महिला प्रहरी वाकीटकीसहित पालसमक्ष हाजिर भइन् ।

काठमाडौंमा हतियारधारी देखापर्‍यो भनेपछि स्वाभाविकै रुपमा अपराध अनुसन्धान महाशाखाले पनि चासो दियो । हतियारको कुरो आइसकेपछि महाशाखाले गम्भीर चासो दिएको हो ।

प्रहरी प्रधान कार्यालयमा पनि हल्लीखल्ली मच्चियो । त्यसक्रममा प्रहरीका केही उच्च अधिकारीहरुले घटनास्थलको जाँचबुझ गरे । काठमाडौं प्रहरी परिसरले पनि चासो दियो ।

सुरक्षा अधिकारीहरूको दाबी के छ भने अहिले काठमाडौंमा सम्झाँझै पेस्तोल तेर्स्याएर हिँड्न सक्ने अवस्था छैन । एक उच्च प्रहरी अधिकारीका अनुसार त्यहाँ कुनै शंकास्पद तथ्यहरु पाइएनन् ।

अहिलेसम्म सांसद पालले घटनाबारे प्रहरीलाई औपचारिक जानकारीसम्म गराएकी छैनन्, सीधै प्रधानमन्त्री र गृहमन्त्रीलाई फोन गर्नबाहेक ।

उता, बानेश्वर बृत्तका डीएसपी गोविन्दराज काफ्ले पनि अहिलेसम्म औपचारिक निवेदन नअाएको बताउँछन् । उनी भन्छन्- ‘औपचारिकरुपमा अहिलेसम्म केही पनि आएको छैन । हामीले पनि मिडियामा आएपछि यो घटना थाहा पाएका हौं ।’

अहिलेसम्म लिखित वा मौखिक कुनै उजुरी नअाएको उनको भनाइ थियो ।

विश्लेषणः पाल प्रकरणले उब्जाएका ५ प्रश्न

मंगलबार राति सांसद पालमाथि पेस्तोल ताकिएको र मोबाइल लुटिएको भनिएको यो घटना सामान्य होइन । यस्तो घटनालाई  सुरक्षा निकायले त्यत्तिकै छाडिदिन मिल्दैन । प्रहरीले थाहा भएन भनेर टार्न मिल्ने सामान्य घटना होइन यो ।

यो घटनाले उठाएका केही जटिल प्रश्न यस्ता छन्-

१. दीपकराज जोशीका लागि पेस्तोल कसले ताक्यो ?

सांसद निरुदेवी पालको भनाइ के छ भने संसदीय सुनुवाइ समितिको बैठकमा गइस् ‘तेरो बाऊ खड्गे ओलीले पनि तेरो लास पाउँदैन’ भनेर लुटेराले हतियार देखाएको हो ।

निरु पालको भनाइलाई पत्याउने हो भने संसदीय सुनुवाइ समितिको बैठकलाई प्रभावित पार्न पेस्तोल देखाइएको हो । आखिर त्यसरी पेस्तोल कसले देखायो त ? दीपकराज जोशीको मान्छेले ? या जोशीलाई बदनाम गर्न जोशीका विपक्षीहरुले ? यो गम्भीर प्रश्नको किराना लगाउने जिम्मेवारी सरकार, संसद सचिवालय र नेपाल प्रहरी सबैको हो ।

सांसद निरुदेवीले भनेजस्तै भएको हो र उनले राज्यलाई ढाँटेकी छैनन् भने यो प्रश्नको जवाफ जनसमक्ष आउनैपर्छ- संसदीय सुनुवाइ समितिको सदस्यलाई बैठकमा नजा भन्दै कसले पेस्तोल तेर्स्याएर ? देशमा सरकार छ भने उसले यसको जवाफ दिनैपर्छ ।

२. क-कसले चिन्छन् ‘निरुको बाऊ’ ?

सांसद पालको भनाइ अनुसार लुटेराले ‘तेरो बाऊ खड्गे ओली’ भन्ने शब्द प्रयोग गरेको छ । पालले प्रधानमन्त्री केपी ओलीलाई ‘बाऊ’ भन्छिन् भन्ने रहस्य धेरैलाई थाहा छैन । पाल र केपी ओलीवीचको यो कृत्रिम नाता विशेष गरी युवा संघका नेताहरुलाई मात्र थाहा छ ।

त्यो अज्ञात लुटेराले कसरी थाहा पायो कि निरुदेवीले केपी ओलीलाई ‘बाऊ’ भन्छिन् ? के त्यो लुटेरा बाऊ छोरीका वीचमा परिचित थियो ? यदि थियो भने उसले किन यस्तो पटकथा रच्यो ?

फौजदारी न्यायशास्त्रको मान्यता के छ भने अपराधीले जतिसुकै अपराध लुकाउन खोजे पनि घटनास्थलमा कुनै न कुनै प्रमाणहरु छुटेका हुन्छन् । र, यही मान्यताका आधारमा यो अनुमान लगाउन सकिन्छ कि संसदीय सुनुवाइमा नजा भन्दै पेस्तोल तेस्याउने व्यक्तिले  प्रयोग गरेको ‘तेरो बाऊ खड्गे ओली’ भन्ने शब्दले यो घटनामा संलग्न अपराधी नेकपाभित्रै कतै लुकेको हुन सक्छ ।

स्मरणीय के छ भने एक समय  अशोक नाम गरेका युवा संघका केन्द्रीय सचिवमाथि अज्ञात व्यक्तिहरुबाट भौतिक हमला भयो । तर, त्यो आक्रमण युवा संघभित्रैबाट गराइएको रहस्य पछि पर्दाफास भयो ।

३. सुनको सिक्री छाडेर सुनुवाइ समितिको चिन्ता ?

काठमाडौंमा मोबाइल र सुनको सिक्री लुटिएका घटना बारम्बार आउने गरेका छन् । प्रहरीले दाबी गरेजस्तै शान्ति सुरक्षा गतिलो छ भन्न सकिन्न । र, यो स्थितिमा सांसद निरु पालको मोबाइल लुटिएन होला भनेर दाबी गर्न मिल्दैन ।

मोबाइल लुट्ने बेलामा लुटेराले निरुको छातीमा सक्कली नभएर नक्कली हतियार तेस्र्याएको पनि हुन सक्छ भनेर अनुमान पनि गर्न सकिन्थ्यो । तर, यो घटना सामान्य दुलेचोर वा लुटेराले गराएको होइन भन्ने प्रमाण स्वयं निरुकै वयानले दिइसकेको छ ।

यदि सांसद पालको भनाइलाई पत्याउने हो भने लुटेराले मोबाइल खोस्दाखेरि ‘तेरो बाऊ खड्गे ओली’ भन्दै खोसेको छ । गल्लीको चोरले यसरी निरु पाललाई चिन्दैन, उनको ‘बाऊ’ पनि चिन्दैन । र, भोलि संसदीय सुनुवाई समितिको बैठक बस्दैछ भन्ने सूचनामा पनि पनि काठमाडौंका गल्लीको मोवाइल लुटेरा अपडेट हुँदैन । त्यसैले एकान्त गल्लीमा हुने मोवाइल लुटपाटसँग यो घटना मिल्दो देखिँदैन ।

गल्लीको लुटेराका लागि मन्त्री र सांसदको बाल मतलब हुँदैन, उसले अगाडिको मान्छे हेर्छ, सामान हेर्न र लुट्छ । बैठक सैठकमा नजा भन्ने धम्की दिँदैन ।

निरुदेवीले आफ्नो घाँटीनजिकै पेस्तोल ताकियो भनेकी छिन् । उसले मोबाइल खोसेर लग्यो भनेकी छन् । लुटपाटपछि पनि उनको गलामा सुनको सिक्री सुरक्षितै पाइएको छ । तर, त्यो संसदीय सुनुवाइ समितिको बैठकबारे सचेत लुटेराले उनको गलामा रहेको सुनको सिक्रीचाहिँ किन लगेन ?

यी तथ्यहरुले के स्पष्ट हुन्छ भने यो घटना काठमाडौंका गल्लीमा हुने गरेका सामान्य चोरी र लुटपाटसित सम्बन्धित छैन । यसमा अरु नै रहस्य लुकेको छ ।

४. अब निरु फस्छिन् या प्रहरी ?

सांसद निरुदेवीमाथि पेस्तोल तेर्सिएकै हो भने अपराधी पत्ता लगाउने र राजधानीको शान्ति सुरक्षा भरोसायोग्य बनाउने जिम्मा अब नेपाल प्रहरीको हो । प्रहरीको नेतृत्व सम्हालिरहेका आइजीपी सर्वेन्द्र खनालको हो ।

निरुदेवी पालमाथि भएको आक्रमण सही हो भने पनि यो गम्भीर हो, ‘फेक’ हो भने यो झनै गम्भीर हो । यो गुपचुप पार्ने वा थाहा नपाएजस्तो गर्ने घटना होइन

तर, यो घटना सही होइन र सुरक्षागार्ड पाउनैका लागि वा सुनुवाई समितिलाई प्रभावित बनाउनका लागि सांसद पालले ‘फेक’ घटना गराएकी हुन् भने यसबाट उनी आफैं फस्नेछिन् । किनभने राज्यलाई झुक्याउने र गुमराहमा पार्ने मात्रै होइन, झूठो उजुर बाजुर गर्ने छुट पनि कसैलाई कानूनले दिँदैन ।

यस अवस्थामा निरुदेवी पालमाथि भएको आक्रमण सही हो भने पनि यो गम्भीर हो, ‘फेक’ हो भने यो झनै गम्भीर हो । यो गुपचुप पार्ने वा थाहा नपाएजस्तो गर्ने घटना होइन ।

५. ‘मानव तस्करी’ को छानविन कहाँ पुग्यो ?

बुधबार सांसद निरुदेवीले भनिन्- ‘म सधैं बाइकमा हिँड्ने मान्छे । मलाई एउटा दम्भ के थियो भने मैले कसैको केही बिगारेको छैन भने मलाई चाहिँ कसले के गर्छ ?’

तर, सांसद पालको व्यक्तिगत ‘ट्रयाक रेकर्ड’ चाहिँ उनले दाबी गरेजस्तै ढुक्क हुने खालको छैन । पालले बजारमा धेरै शत्रु कमाएकी छिन् ।

कञ्चनपुर निवासी निरु नेकपाकी समानुपातिक सांसद हुन् । ०७३ साल माघमा पतिको निधन भएपछि उनी बाल बच्चाका साथमा काठमाडौंमा बस्दै आएकी छिन् ।

सांसद निरुदेवी यसअघि एमालेनिकट युवा संघको केन्द्रीय पूर्वकेन्द्रीय अध्यक्ष थिइन् । उनी केपी ओलीको पहिलो प्रधानमन्त्रित्व कालमा जनसम्पर्क सल्लाहकारसमेत बनेकी थिइन् ।

निरुदेवी प्रधानमन्त्रीको केपी ओलीको यति निकट मानिन्छन् कि उनीहरु आफूलाई बाबु-छोरी भन्ने गर्छन् ।

त्यसो त सांसद निरुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उत्तिकै नजिक छिन् । उनी राष्ट्रपतिलाई भेट्न बेलाबखत शीतलनिवास गइरहन्छिन् ।

सूत्रहरुको दाबी के छ भने प्रधानमन्त्रीको जनसम्पर्क सल्लहाकार हुँदा र त्यसपछि पनि निरुले धेरै मानिसहरुलाई नियुक्ति दिलाउने भन्दै आश्वासन लेनदेन गरेकी थिइन् । त्यसरी दिइएका धेरै आश्वासनहरु उनले पूरा गर्न सकेकी छैनन् । यसबाट पनि उनले केही शत्रु कमाएको उनका निटस्थहरु बताउँछन् ।

त्यसो त एक समय निरुमाथि ‘मानव तस्करी’ को आरोपसमेत लागेको थियो । तत्कालीन एमाले नेता महेन्द्र पाण्डे परराष्ट्रमन्त्री भएका बेला मानव तस्करीबारे समाचार आएको थियो । निरु प्रधानमन्त्री कार्यालयमा रहँदा मानव तस्करीसम्बन्धी समाचारमा निरुको समेत नाम जोडिएर आयो ।

यसरी मानव तस्करीमा नाम जोडिएपछि युवा संघले यसबारेमा आन्तरिक छानविन गर्न समिति नै गठन गरेको थियो । चन्द्र लामा र राजीव पहारीलगायतको सक्रियतामा बनेको त्यो छानविन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरी भित्रभित्रै गुपचुप राखिएको छ ।

पार्टीका नेता र मन्त्रीहरु विदेश जाँदा भ्रमण टोलीमा सहभागी गराएर विदेश पठाइदिने भन्दै पैसा लिने गरेको आरोप पाल लगायतका युवा संघका केही नेतामाथि लागेपछि संगठनभित्रैबाट छानविन गरिएको थियो, जसको रिपोर्ट संगठनभित्रै गुपचुप छ अहिलेसम्म ।

तर, सिधै प्रधानमन्त्री राष्ट्रपतिसँग उठबस गर्ने व्यक्ति भएकाले पालसँग जोडिएको यो केस अहिलेसम्म पनि प्रहरीमा पुगेको छैन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?