४ असोज, काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका, भुटाहा बजारमा बिहीबार दिउँसो गोली हानी हत्या गरिएका खुर्सिद अन्सारीको शव उठाउन स्थानीयले मानेका छैनन् ।
उनको हत्यापछि विभिन्न ठाउँमा रहेका चेकपोष्ट कट्दा पनि प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयको भिडले प्रहरीविरुद्ध नारावाजी पनि गरेको जनाइएको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारी लगायत स्थानीयसँग छलफलमा जुटेका छन् ।
अभियक्त पक्राउ पर्ने अवस्था हुँदा हुँदै पनि भारततर्फ छिर्न सफल भएको दाबी उनीहरुको छ ।
यद्यपि, अभियुक्तलाई पक्राउ गर्न खोज्दा भारतीय हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् ।
घुस्की प्रहरी चौकीका जवान शिवराज पौडेल घाइते भएका हुन् । हाल उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
को हुन् आलम ?
सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारी स्थानीय रैयाब बोर्डिङ स्कुलका सञ्चालक थिए । उनी तत्कालिन नेकपा (एमाले) का सुनसरी जिल्ला सल्लाहकार समेत थिए ।
गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले अनलाइनखबरसँग कुरा गर्दे खुर्सिद ०५३ सालदेखि नै नेकपा (एमाले) को कार्यकर्ता भएको बताए ।
‘दिनदहाडै भएको यो घटना दुःखद् छ । प्रहरीले अनुसन्धान थालेको छ केही सार्वजनिक होला’, उनले भने ।
उनका अनुसार खुर्सिद त्यहाँको मदर्साका बोर्डको सदस्य समेत हुन् । इस्लामिक सामाजिक संस्थामा पनि उनी संलग्न थिए । उनी मुस्लिम समुदायको मौलाना गुरु समेत हुन् ।
यो पनि पढ्नुस्
सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते
अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा
खुर्सिद अन्सारी हत्या प्रकरणः परिवारले शव उठाउन मानेन
खुर्सिद हत्या प्रकरणः ६ किलोमिटर लखेट्दा पनि समातिएनन् हतियारधारी
प्रतिक्रिया 4