+
+

संसदलाई अहिले वामदेवको खाँचो छ !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १९:२५

बजारमा यतिबेला वामदेवलाई ‘बारी’ बनाएर खेती चलाउनेहरु थोरै मत्थर भएका छन्, तर खेती बन्द भएको छैन । नेकपा नेतृत्वभित्रको आन्तरिक सन्तुलनमा टेकेर राष्ट्रिय राजनीतिमा एकाएक आफ्नो नायकत्व स्थापित गर्ने सपनासित ‘वामदेव खेती’लाई जोड्ने हो भने केही गम्भीर तस्वीर पटाक्षेप हुन्छन् ।

यो ‘वामदेव खेती’ सित ईश्वर पोखरेललाई अलग राख्दा यो विषय नै टुहुरो हुन्छ । ‘दोष’ वामदेवको पनि नभएको होइन ।

वामदेवको दोष

सशस्त्र द्वन्द्वकालमै पार्टीको निर्देशनमा माओवादीसित संवादको शुरूवात वामदेवबाट भयो भन्नेमा कुनै द्विविधा छैन । त्यसो त पार्टीले अह्राउनुअघि पनि वामदेवले माओवादीसित सम्पर्क स्थापित नगरेका थिएनन् । तर, त्यसको सांगठानिक वैधानिकता थिएन । जब तत्कालीन एमालेले माओवादीसित संवादको औचित्य महसुस गर्यो, तब त्यसलाई कार्यान्वयन गर्ने ल्याकत वामदेवले मात्र राख्थे । तत्कालीन महासचिव माधव नेपालको निर्देशनबमोजिम उनले ती काम गरे । यो संवादको शृफ्ला प्रकारान्तरमा पार्टी एकतामा रुपान्तरण भएको छ ।

यसबीच संवादको तदरुकता, सौहाद्रताको विकास र पार्टी एकतासम्मका गतिविधिमा पार्टीका अरु अरु नेता पनि जोडिदै आए । र, एकता सम्भव भयो ।

ईश्वरको दुःख

यो एकताले पार्टीका निर्वाचित महासचिव ईश्वर पोखरेलको महासचिव पद खोस्यो ।

किन यस्तो भयो ? यसबारे एकीकृत पार्टीका नेताहरुले मौकामा बताउलान् । तर, केही बुझिने विषय स्मरण गरौं ।

पहिलो कुरा हो, एकीकृत पार्टीको महासचिव हुने कुरा पूर्व पार्टीहरुको एक्लो विषय थिएन । पार्टी एकतापछि ईश्वर स्वीकार्य व्यक्ति बन्न सकेनन् । समस्या तत्कालीन एमालेमै थियो । उनले पोहोरको चुनावमा वामदेव हराउन खेलेको भूमिकाबारे प्रायः शीर्षस्थ नेता जानकार छन् । त्यसमाथि तत्कालीन माओवादीले उनलाई महासचिव नमान्ने अवस्था । यत्ति कारण हो, उनको महासचिव खोसिएको ।

उनले बुझे कि, यो सब काम वामदेवले गरे-गराए । यसमा माधव नेपाल लागे । तर, उनको बुझाई शत्-प्रतिशत गलत थियोे । जीवनमा पार्टी महासचिव बन्नै नसक्ने उनलाई वामदेवले कस्तो अवस्था बोकेर महासचिव बनाए ? यो कुरा बिर्सिंदा उनैलाई पाप लाग्छ ।

के बुटवल महाधिवेशनमा ईश्वर प्रदीप नेपालभन्दा योग्य भएर, लोकप्रिय भएर महासचिव जितेका थिए ? होइन । वामदेवले ईश्वरलाई नबोकेका थिए भने बुटवल महाधिवेशनबाट जित्ने महासचिव प्रदीप नै थिए ।

भृकुटीमण्डप महाधिवेशनबाट झिनो मतान्तरमा उनले फेरि महासचिव जिते, सुरेन्द्र पाण्डेसित । हैन, यसलाई यतिमै टुंगो लगाइदिऔं’ भनेर वामदेवले आँखा मात्रै सन्काएको भए उनको राजनीति त्यही दिनसम्मलाई मात्र थियो । तर, वामदेवले आफ्नो भन्दा बढी उनको चिन्ता गरेको देख्ने पंक्तिकारका नजर जिउँदै छ ।

‘वामदेव खेतीको’ पछिल्लो रुप

ईश्वर कस्ता मान्छेका घेरामा छन्, यहाँ नाम नतोकौं । तर, राम्राको घेरामा उनी पटक्कै छैनन् । जनाधार नभएका, भूगोलको अनुभव कम भएका र कर्मचारी वा त्यस प्रवृत्तिका मानिस वरिपरि छन् । नेता हुन् । त्यसैले केही राम्रो जनाधार भएका पनि उनकहाँ पुग्छन् । तर, ती व्यक्ति निर्णायक छैनन् । त्यसमाथि उनी आफैंमा आत्मकेन्द्रित स्वाभावका छन् । पार्टी जीवनसित सम्बन्ध राख्ने हरेक घटना र सन्दर्भमा उनी डेढअक्कली चिन्तन राख्छन् । उनी अहिले वामदेवविरुद्ध खेती चलाउने स्थितिमा यही कारणले पुगे ।

भारत देख्ने प्रवृत्ति

ईश्वरले आफैंले पनि आफ्नो महासचिव खोसिने कुरासँग भारतलाई जोडे । भारतले केही काम नपाएर एउटा बबुरो नेता ईश्वर सिध्याउन खेल्छ ? पत्याइसक्नुको कुरै छैन ।

त्यहाँदेखि अहिले रामवीर मानन्धरले आफ्नो क्षेत्र खाली गर्छु भन्दासम्म उनले त्यहाँ अर्थोक नदेखेर भारत नै देखिरहे । पार्टी महासचिव खोसिँदा फेसबुकमा लेखेरै पार्टीमा भारत छिरेको भने । अहिले फेरि त्यही गीत गाइरहेका छन् । पार्टी अफिसमा जागिरे एउटा कर्मचारी जिन्दगीभर कोही न कोही नेताको पछाडि दौडियो । जो पार्टीभित्र शक्तिमा आयो, उ त्यसैको भक्त । र, त्यही मान्छे अहिले ईश्वरको भक्त ।

दास भएर बाँच्न सिकेको मान्छे जतिसुकै विद्वान किन नहोस्, दासता नदेखाई बाँच्नै सक्दैन, सुँगुर जति हट्टाकट्टा भए पनि अन्तिममा चाहिने फोहोरी डंगुर न हो ।

रामवीरको राजीनामाको विषय प्रवेशपछि ‘वामदेव खेती’ चलाउने मुख्य गोटी त्यही मान्छे थियोे । जसले वामदेव भारतबाट उचालिएको कब्जियतपूर्ण खबरहरु प्रवाहित गरिरहृयो । म्यासेज गरेर, म्यासेन्जरबाट ती समाचार शेयर गर्न क-कसलाई दबाब दियो, त्यसको रेकर्ड सुरक्षित छन् । तथ्य चाहिएन, सन्दर्भ र घटनाक्रम पनि चाहिएन, एकोहोरो, गोयवल्स शैलीमा वामदेव ‘भारतबाट परिचालित’ बनाइए ।

अहिलेको समय नेकपाका लागि चुनाव अनुकूल छैन । त्यो कदम आत्मघाती हुन्छ । यतिसम्म भनिएका सन्दर्भलाई पार्टीका शुभचिन्तकहरुले राम्रै मनले भनेका, लेखेका कुरा भनेर बुझ्नुपर्छ । तर, यसमा ग्रयाण्ड डिजाइन देख्ने, भारत नै देख्ने डेढअक्कली चिन्तनबाट ईश्वरजत्तिका सुझबुझ भएका नेता बेलैमा मुक्त हुँदा उनैलाई फाइदा छ ।

संसदमा वामदेव

नेकपा नेतृत्वभित्र जुनखालको समीकरण, सन्तुलन छ, त्यसको व्यवस्थापन गर्नका लागि पनि वामदेवको उपस्थिति र सक्रिय भूमिकाको महसुस पार्टी अध्यक्षद्वय सहित नेतृत्वका सबैले गरेका छन् । किनभने, उनीसँग हिजो खेलेका वाम एकतासम्बन्धी भूमिकाको लेजिटिमेसी छ । व्यक्तिगत रुपमा पनि उनी आन्तरिक समीकरण व्यवस्थापनमा कुशल छन् भनेर पार्टीका दुबै अध्यक्षले भन्दै आएको कुरा छ ।

अहिले नेकपाको दुई तिहाई भएको संसद छ, सरकार छ । तर, संसद र सरकारको अनुभुती कार्यकर्तासँग पुग्न सकेको छैन । त्यस्तो भूमिका खेलिदिने नेता छन्, तर तिनको ध्यान अन्तै छ । वामदेव एकता र समन्वयका नेता हुन् । अहिले सत्तारुढ माननीय नै सरकारको आलोचक बनिरहेको अवस्था छ । सरकारको वचावमा लाग्नुपर्ने नेता, कार्यकर्ता नै गुट र उपगुट प्रेरित भएर उत्रिएका छन् ।

हिजो अलग-अलग पार्टी भएर काम गरेका नेताहरु आज एउटै पार्टीबाट संसदमा छन् । यस्तोमा कतिपय व्यक्तिगत, कतिपय संस्थागत विमतीहरु जिउँदै छन् । तिनलाई हल गर्ने अलग्गै संयन्त्र पार्टी संगठन र संसदलाई चाहिएको छ । त्यसैले वामदेवको आवश्यकता त्यहाँ भएको हो । नभए, जीवनमा तीनवटा चुनाव हारेको अनुभव उनले यसअघि लिइसकेका हुन् । जितेका दुई चुनाव र हारेका तीन चुनावमध्ये यसचोटिको हारले उनलाई भन्दा बढी पार्टीलाई, पार्टीको एकतालाई र सरकारको रफ्तारलाई असर गर्नेखाले भयो भनेर अध्यक्षद्वयले विभिन्न सन्दर्भमा भनिरहेको विषय हो ।

संसदलाई अहिले एकजना प्रभावकारी सन्वयकर्ताको अभाव छ । सरकार सञ्चालनका एक जबरजस्त सहजकर्ता संसदभित्रै निर्माण गर्नु छ । त्यसैले वामदेवको संसद प्रवेशको सान्दर्भिकता सकिएको होइन, बरु झन् झन् बढेको छ । त्यसैले उपयुक्त समय र वातावरण सिर्जना गरी वामदेवलाई सांसद बनाउनुमै पार्टी, जनता र मुलुकको हितमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?