+
+

एस्वेस्टसको व्यवस्थापन गम्भीर हुन विज्ञको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १८:२७

११ कात्तिक, वीरगञ्ज । क्यान्सरजन्य एसबेस्टसको व्यवस्थापनमा गम्भीर हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

नेपालमा अहिले प्रतिबन्ध लगाइएको भए पनि विगतमा एस्वेस्टस लाखौं टन भित्रिएकोले त्यसको समुचित व्यवस्थापन हुनुपर्ने उनीहरुको भनाइ छ ।

एस्वेस्टसको आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्धसम्बन्धी निर्णयमा आयात र बिक्री वितरणमा निरुत्साहित गर्न सफल भएको भए पनि विगतमा गरिएको प्रयोगले जोखिमको अवस्था यथावत रहेको तर्क उनीहरुले गरेका छन् ।

‘देशका विभिन्न भागमा विगतमा लाखौं टन भित्रिसकेको छ, नयाँ र पहिलेदेखि प्रयोगमा रहेका ऐस्वेस्टसहरुको मात्रा एकिन गरी वातावरणमैत्री तरिकाले त्यसको व्यवस्थापन गराउन आवश्यक छ ।’ उनीहरुले भनेका छन् । ‘त्यसको प्रयोगबाट निम्तिन सक्ने स्वास्थ्य समस्याहरुको उचित पहिचान, उपचार र विस्थापन गर्नु नितान्त जरुरी छ ।’

क्यान्सरजन्य एसबेस्टस प्रतिबन्धबारे निर्णयको प्रभावकारी कार्यान्वयनका लागि वीरगञ्जमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा बोल्दै विज्ञहरुले एस्वेस्टसको सम्पर्कबाट मानिसमा तीन प्रकारका रोगहरु लाग्ने जानकारी दिए । शुरुमा एस्वेस्टोसिस (फोक्सोमा जलन वा घाउ) हुने, फोक्सोको क्यान्सर र एस्वेस्टसबाट मात्रे लाग्ने मेसोथेलियोमा नामक क्यान्सरको संक्रमण हुन सक्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साह बताउँछन् । नेपालमा पनि एस्वेस्टसबाट मात्रै लाग्ने मेसोथेलियोमा नामक क्यान्सर पीडित बिरामी फेला परिसकेको छ ।

नेपालमा २०७२ साल असार ५ गतेदेखि नै एस्वेस्टसको अयात, बिक्री वितरण, तथा प्रयोगमा पूर्णतया प्रतिबन्ध लगाइएको छ । विशेषगरी तराइ क्षेत्रमा घरको छानो छाउनक लागि विगतमा एस्वेस्टसको प्रयोग गरिएको र त्यसको प्रतिस्थापन नभएकोले जोखिम कायम रहेको विज्ञहरुको भनाइ छ । खुल्ला सीमा भएका कारण तराइका जिल्लामा अझै पनि चोरी छिपी भारतबाट एस्वेस्टस ल्याएर प्रयोग हुँदै आएको छ ।

वीरगञ्ज महानगरपालिका, वीरगञ्ज भन्सार कार्यालय, सूर्योदय युवा क्लबसँगको सहकार्यमा जनस्वास्थ्य तथा वातावरण केन्द्रले आयोजना गरेको कार्यक्रममा एस्वेस्टसको प्रयोगका कारण मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरहरु, बच्ने उपाय र भएका प्रयासहरुको बारेमा समेत जानकारी गराइएको थियो ।

एस्वेस्टस आयातको अवस्था एवं भन्सार नियन्त्रणका चुनौती, अवसर र उपायहरुको बारमा वरिष्ठ रसायनविद एवं भन्सर विभागको प्रयोगशाला प्रमुख मनोजनिधि वाग्ले र नेपालमा निर्माण सामाग्रीहरुमा एस्वेस्टस परीक्षण विधि विकास एवं प्रयोगका बारेमा त्रिचन्द्र कलेजका उप प्राध्यापक डा अरविन्द पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

विश्व स्वास्थ्य संगठन र क्यान्सरबारे अनुसन्धान गर्ने आइएआरसीले सबैखाले एस्वेस्टसले मानव जातिलाई क्यान्सर लगाउन सक्ने प्रमाणित गरिसकेकोले विश्वका ६६ मुलुकमा यसको आयात, बिक्री, प्रयोगमा बन्देज लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?