+
+

के ग्रीन टि पिउनु खतरनाक पनि हुनसक्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ९ गते १४:३७

हामी भन्छौं, ग्रीन टि एन्टिअक्सिडेन्टको भरपुर श्रोत हो । ग्रीन टिको नियमित सेवनले क्यान्सरको संभावनालाई पनि कम गर्छ । छालालाई मुलायम र चम्किलो बनाउनदेखि पाचनयन्त्रलाई चुस्त राख्नसम्म ग्रीन टि पिउनुपर्छ भन्ने गरिन्छ । त्यही कारण अहिले ग्रीन टि कल्चर हुर्किएको छ । के त्यसो भए यो एकदमै हानिरहित पेय हो ? के ग्रीन टि पिउनु वास्तवमै लाभदायक छ ? कि यो केवल बिजनेस फन्डा मात्र हो ?

यसै सन्दर्भमा बीबीसी हिन्दी अनलाइनले एक सामाग्री पेश गरेको छ । त्यसैको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ ।

जो व्यक्ति केही समय अघिसम्म कित्लीमा पकाएको चिया दुध, चिनी मिसाएर पउँथे, उनीहरुले स्वास्थ्यको नाममा आफ्नो स्वाद बदलेका छन् ।

ग्रीन टिको यति धेरै फाइदा हुने कुरा गरेर मानिसले यसलाई अति स्वास्थ्यवर्द्धक मान्न थाले । घरमा चिनी-दुधको खपत कम हुन थाल्यो । तर, एक भारतिय सेलिब्रेटी पोषणविद रुजुता देवेकरले एक भिडियोमार्फत ग्रीन टि पारखीलाई द्विविधामा पारिदिएकी छिन् ।

करीना कपूर र आलिया भट्ट जसता फिटनेस आइकनलाई स्वस्थ राख्ने रुजुताले एक भिडियोमार्फत भनेकी छिन्, ‘ग्रीन टि भन्दा अदुवायुक्त चिया स्वास्थ्य, एन्टिअक्सिडेन्ट र सुन्दरताको लागि प्रभावकारी हुन्छ ।’

उनले ग्रीन टि भन्दा अदुवा चिया राम्रो हुने भनेकी त छिन्, तर त्यसलाई पुष्टि गर्ने आधार उनीसँग छैन । वा उनले आफ्नो अडानलाई चित्तबुझ्दो ढंगले पुष्टि गरेकी छ्रैनन् । उनको भनाईको आशय के छ भने, ग्रीन टि केवल व्यवसायिक उदेश्यले मात्र ‘राम्रो’ भनिएको छ । यद्यपी उनी आफ्नो निष्कर्षमा पुगेकी छैनन् ।

यदि ग्रीन टिको इतिहास हेर्ने हो भने, यसको इतिहास पाँच हजार पुरानो छ । चीनमा यसको प्रयोग सबैभन्दा पुरानो हो । अहिले पनि चीनमा ग्रीन टि पिउने संस्कृति जीवित छ ।

चिया चाहे जुनसुकै होस् । ब्ल्याक टि होस् वा ग्रीन । यी सबै क्यामेलिया साइनेसिस बुट्यानबाट उत्पादन हुने हो । यो बुट्यान कस्तो वातावरणमा हुर्काइएको छ ? कस्तो हावापानीमा उत्पादन गरिएको छ ? कसरी टिपिएको छ ? कसरी प्रशोधन गरिएको छ ? त्यही आधारमा यसको गुणस्तर निर्धारण हुन्छ ।

के हुन्छ ग्रीन टिमा ?

ग्रीन टिमा पाइने तत्वको कुरा गर्ने हो भने, यसमा १५ प्रतिशत प्रोटिन, ४ प्रतिसत अमिनो एसिड, २६ प्रतिसत फाइबर, ७ प्रतिशत कार्बोहाइड्रेट, ७ प्रतिशत लिपिड, २ प्रतिसत पिगमेन्ट्स, ५ प्रतिसत मिनरल्स, ३० प्रतिशत फेनोलिक कम्पाउन्ड हुन्छ । यति प्रतिशत ड्राइ ग्रीन टिमा हुन्छ ।

यस आंकडालाई हेर्दा यो भन्न सकिदैन कि ग्रीन टि पिउनु हानिकारक छ । किनभने ग्रीन टि सदियौंदेखि स्वस्थ्यवर्द्धक पेयकै रुपमा पिउने गरिएको छ । यसबारे विभिन्न खोज-अनुसन्धान भएका छन् । र, विश्वव्यापी रुपमै ग्रीन टिको महत्व र फाइदाबारे चर्चा-परिचर्चा भएका छन् ।

यद्यपी कतिपय अध्ययनमा ग्रीन टिबाट हुने बेफाइदा पनि पाइएको छ । वेबमेड वेबसाइटका अनुसार ग्रीन टिको प्रयोग त सुरक्षित हुन्छ तर, कतिपय अवस्थामा यसले पेटसँग सम्बन्धित समस्या ल्याएको पनि पाइएको छ । कतिपयले ग्रीन टिकै कारण कलेजो र मिर्गौलामा समस्या भएको बताएका थिए ।

वेबसाइटका अनुसार ग्रीन टिको प्रयोग तब हानिकारक हुन्छ, जब यसलाई अत्याधिक मात्रामा प्रयोग गरिन्छ । र, यसले त्यसकारण हानी गर्छ कि यसमा रहेको कैफिनको मात्रा बढी हुन्छ । ग्रीन टिमा कैफिन तत्व हुन्छ, जसले टाउको दुख्ने, सुत्नमा समस्या हुने, वान्ता हुने, डायरिया हुने समस्या हुन्छ । यो भनेको ग्रीन टि आवश्यक्ताभन्दा बढी मात्रामा सेवन गरिएको अवस्थामा हो । ग्रीन टि अत्याधिक मात्रामा पिउँदा त्यससँगै कैफिनको मात्रा पनि बढ्छ ।

जुन व्यक्तिलाई एनीमियाको समस्या छ, उनीहरुले ग्रीन टि पिएको समयमा खास ध्यान राख्नुपर्छ । यसका साथै जसलाई एक्जाइटी डिसअर्डर छ, ब्लिडिङ डिसअर्डर छ, मुटुको समस्या छ, मधुमेह छ, उनीहरुले सन्तुलित मात्रामा ग्रीन टि पिउनुपर्छ ।

ग्रीन टिमा कैफिन

बीबीसी गुडफूडका अनुसार ग्रीन टिमा कैफिन हुन्छ । हरेक ब्रान्डको ग्रीन टिमा यसको मात्रा अलग अलग हुन्छ ।

ग्रीन टि पिउनेहरुले के अनुभव गरेका हुन्छन् भने यसलाई पिएपछि इनर्जी लेबल बढ्छ । ध्यान केन्दि्रत गर्नमा मद्दत मिल्छ । र, मुड बन्छ । तर, सबैलाई यस किसिमको प्रभाव हुन्छ भन्ने छैन ।

यदी तपाईको शरीर कैफिनका लागि धेरै संवेदनसिल छ भने तपाईले एकदमै सन्तुलित मात्रामा ग्रीन टि पिउनुपर्ने हुन्छ । धेरै ग्रीन टि पिउदा निद्रासम्बन्धी समस्या पनि हुनसक्छ ।

अन्य चियामा जस्तै यसमा पनि टैनिन हुन्छ , टैनिनले शरीरमा आयरन अवशोषणलाई प्रभावित गर्छ । यदी तपाईले आइरनका लागि कुनै खानेकुरा खाइरहनुभएको छ भने ग्रीन टि पिउनु उपयुक्त हुँदैन ।

एउटा अत्याउने कथा

जिम मैकेन्ट्स नामक व्यक्तिको कथा अलि फरक छ । उनले ग्रीन टिको चक्की लिने गर्थे । चक्की यसकारण लिने गर्थे कि, स्वास्थ्य राम्रो होस् ।

तर, पछि स्वास्थ्य परीक्षणमा उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखियो । उनको भनाई अनुसार ग्रीन टिको चक्की सेवनले उनको कलेजोमा असर गरेको थियो । मेडिकल रिपोर्टले त्यही भन्थ्यो ।

तर, असहमति

भारतका पोषणविद सिमरन भने यो कुरामा सतप्रतिसत असहमत भएको बताउँछिन् । उनी भन्छिन्, ग्रीन टि पिइरहनुभएको छ भने डराउनुपर्ने केही कारण छैन । तर, कसरी ग्रीन टि पिउनुहुन्छ, कति पिउनुहुन्छ भन्ने कुराले त्यसको असर निर्भर गर्ने हो ।’

पोषणविद सिमरनका अनुसार ग्रीन टिको मात्रा, त्यसलाई पिउने विधी र सही समय छनौट गर्न सकिएन भने हानी हुन सक्छ । खाना खानसाथ तुरुन्तै ग्रीन टि नपिउन उनको सल्लाह छ ।

उनले भनेकी छिन्, ‘कति मान्छे के सोच्छन् भने टन्न भात खाएपछि ग्रीन टि पिउँछन्, ताकि शरीरमा वोसो जम्मा नहोस् । तर, त्यसो हुँदैन । खाना खानसाथ ग्रीन टि सेवन गर्दा त्यसले पाचन प्रक्रियामा असर गर्छ ।’ यसका फाइदा, बेफाइदा वा कसरी पिउने भन्ने सन्दर्भमा यसअघि अनलाइनखबरले आवश्यक सामग्री पेश गरिसकेको छ ।

पछिल्लो एक रिसर्चले के चेतावनी दिएको छ भने ग्रीन टिले उच्च रक्तचाप नियन्त्रण गर्ने औषधीको असर कम गर्छ । जापानमा भएको यो रिसर्च अनुसार ग्रीन टिमा पिउदा केही विशेष कोशिका बन्द हुन्छ, जसको मद्दतले बीटा ब्लकर मेडिसिन अवशोषित हुन्छ । यद्यपी अरु थुप्रै अध्ययनले ग्रीन टि लाई अति स्वस्थ्यवर्द्धक पेयको रुपमा परिभाषित गरेको छ । ग्रीन टिको फाइदा यसप्रकार पाइएको छ ।

-ग्रीन टिको सेवनले जोर्नीको दुखाई कम हुन्छ ।

मुटु रोग, क्यान्सर जस्ता संभावित समस्याबाट टाढा राख्छ ।

–     तौल नियन्त्रणका लागि ग्रीन टिले प्रभावकारी काम गर्छ ।

–     यसमा भरपुर मात्रामा एन्टि अक्सिडेन्ट पाइन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।

–     यसमा रहेको एन्टि अक्सिडेन्टले छालालाई चम्किलो र मुलायम बनाउँछ ।

–     तर, ग्रीन टि सन्तुलित मात्रामा, सही ढंगले, सही समयमा पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?