२४ मंसिर, पोखरा । भजन र आरतीसँगै नाटकको पर्दा खुल्छ । आरतीसँगै एउटा परिवारमा छिर्छ, कथा । जहाँ महिला तरकारी केलाउँदै हुन्छिन् र पुरुष कुनै शास्त्र पढ्दै ।
माइतीमा श्राद्ध खान र हेराउन जाने दम्पतीको संवादसँगै नाटक अघि बढ्छ । नाटकका प्रमुख पात्र वा यही दम्पती र घर वरिपरि नै नाटक घुम्छ ।
हिन्दु धार्मिक मान्यता, परम्परालाई समेट्दै बनेको यो नाटकमा माइतीबाट फर्केको दम्पती घर पुगेर दैलो खोल्नेबित्तिकै चामलको घेरो देखिन्छ । त्यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई नाटक ‘घेरो’ले देखाउन खोजेको छ ।
घरमा चामलको घेरो देखियो भने कुनै अनिष्ट आइलाग्ने, गाइवस्तु मर्न सक्ने वा ज्यानै जान सक्ने अन्धविश्वासमा यो दम्पतीले झाँक्री बोलाउँछ । सबै खर्चपर्च र सरसामानको जोहो गरेर झाँक्रीले भनेमुताबिक कर्म गरिसकेपछि मात्रै थाहा हुन्छ, यो कसैले अनिष्ट गराउन घेरो हालेको नभई अर्कै कारणले चामल पोखिएर बनेको रहेछ । नाटकले समाजमा अझै पनि अन्धविश्वास र रुढीवाद कायमै रहेको देखाउन खोजेको छ ।
युथ क्रिएशन थिएटरले निर्माण गरेको नाटक घेरो पुरातन र रुढीवादमाथिको कथामा बनेको छ जसले दर्शकको ध्यान खिचिरहन्छ । बालनको शैलीमा भजनमार्फत कथा वाचन हुँदै जाँदा दर्शकलाई बीचबीचमा नाचौं-नाचौं, बनाइरहन्छ । भजनले कथावस्तुको वाचनमात्रै गरेको छैन, थप रोचक र दर्शकलाई अन्तिमसम्म तानिरहने बनाएको छ ।
नाटकमा कलाकार लक्ष्मण डुम्रे र अनिका सापकोटाले प्रमुख दम्पतीको अब्बल अभिनय गरेका छन् भने ममता मञ्जुलको अभिनयले पनि धेरैको ध्यान खिच्छ ।
नाटकको लेखकसमेत रहेका कलाकार केदार पौडेलले भैंसीको भूमिका निर्वाह गर्दा होस् वा झाँक्रीको भूमिकामा पात्र र चरित्रलाई न्याय गरेका छन् । नाटकमा सञ्जय न्यौपाने, अञ्जना पौडेल, प्रसुनलगायतले अभिनय गरेका छन् भने मधुसूदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् ।
शनिबारदेखि पोखरा थिएटरमा जारी नाटक ‘घेरो’ २९ गतेसम्म चल्ने छ । यसअघिका नाटकमा कलाकारका रुपमा देखिएका थिएटरका अध्यक्ष कपिल शर्माले कुशल निर्देशकीय भूमिका देखाएका छन् । मधुसूदनले भजन लेखेका हुन् । नाटक घेरो युथ क्रियसनको छैटौं प्रस्तुति हो ।
नाकट घेरो थिएटरको अहिलेसम्मको प्रस्तुतिभन्दा फरक र भिन्न स्वादको भएकाले पोखरेली दर्शकको मन जितिरहेको व्यवस्थापक सौगात पोखरेलले बताए ।
‘हामीले रुढ समाजलाई देखाउनमात्रै खाजेका छैनौं, समाजका विभिन्न आयामहरुलाई पनि देखाउन खाजेका छौं,’ सौगातले भने । यो नाटकमा पोखरामा हेरिरहेका नाटकभन्दा फरक स्वाद र मौलिकता पाउने निर्देशक पौडेलले बताए ।
प्रतिक्रिया 4