२० पुस, काठमाडौं । नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँको तोड्केस्थित आश्रममा छापा मारेको हो । छापा मार्न जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँडेलको नेतृत्वमा प्रहरी टोली गएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट केही वर्षयता केही आनीहरु सम्पर्कविहीन भएको खबर हालै मात्र सार्वजनिक भएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।
सञ्चलाल वाइबा बम्जनको आश्रमबाटै बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा केही दिनअघि उजुरी परेको थियो । वाइबाका आफन्तहरुले भने तपस्वी बम्जनको आदेशमा हत्या गरेर शव आश्रम आसपासमै अन्त्येष्टि गरेको हुन सक्ने आशंका गरेका छन् ।
उजुरीका आधारमा बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो ।
‘हामीले अदालतबाट आदेश लिएर छापा मारेका हौं । शुक्रबार घाम हुदाँ समेत हामीले सर्च जारी गरेका छौं’ एसपी मुकुन्द मरासिनीले भने ।
सर्च अभियान शनिबार पनि जारी रहने छ । ‘हामी खोजीमा छौं, अहिलेसम्म केही पत्ता लागेको छैन’ मरासिनीले भने ।
सदरमुकाम चौतरादेखि ४ घण्टाको दुरीमा रहेको बम्जनको आश्रममा अहिले प्रहरी बाहेक कसैलाई पनि जान दिएको छैन ।
प्रतिक्रिया 4