+
+

केसीको जीवनरक्षा माग गर्दै आजबाट चिकित्सकहरुको रिले अनसन

अध्यक्ष श्रेष्ठ भन्छन्– २ दिनमा माग पूरा नभए सेवा ठप्प पार्छौं

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते ९:३८

१४ पुस, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गदै चिकित्सकहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् ।

चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघ रिले अनसनमा बस्न लागेको हो ।

नेपाल चिकित्सिक संघका अध्यक्ष मुक्ति श्रेष्ठले केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेपछि रिले अनसन बस्न लागेको बताए । ‘सरकारले गोविन्द केसीको जीवनरक्षा गर्न चासो नदेखाएकाले बाध्य भएर रिले अनसनको कार्यक्रम तय गरेका छौं,’ श्रेष्ठले अनलाइखबरसँग भने ।

संघका अनुसार, अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिने जानकारी श्रेष्ठले दिए ।  देशभर करिब ८ हजार संघ सम्बद्ध चिकित्सिक रहेको संघको दाबी छ ।

धर्ना दिए पनि ओपीडी सेवा भने प्रभावित नहुने संघले जनाएको छ ।  रिले अनसनमा आलोपालो बसेरै भए पनि सेवा सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताए । तर, २ दिनपछि पनि माग  सम्बोधन गर्न सरकारले जाँगर नचलाए  कडा कदम चाल्ने चेतावनी श्रेष्ठले दिए ।

‘२ दिनसम्म सेवा प्रभावित नहुने गरी रिले अनसन बस्छौं’, श्रेष्ठले अगाडि थपे, ‘यदि सरकारले यति गर्दा पनि केसीको जीवनरक्षा गर्न चाहेन भने हामी सेवा नै प्रभावित गरेर अनसनमा बस्न बाध्य हुनेछौं ।’

संघले गोविन्द केसीका यसअघिका अनसनका श्रृंखलालाई पनि सघाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?