काठमाडौं । यूएईविरुद्धको क्रिकेट सिरिज खेल्न गएको नेपाली राष्ट्रिय टोलीमा दुई सन्दीप छन् । सन्दीप लामिछानेलाई त चिनाउनै परेन ।
अर्का नाम हुन्, सन्दीप जोरा ।
कञ्चनपुर जिल्लाको भिमदत्तनगर खुलामञ्चमा क्रिकेट खेल्दै हुर्किएका सन्दीप पहिलोपटक नेपालको राष्ट्रिय टिमको अंग बनेका हुन् । उनले जिल्लास्तरीय र क्षेत्रीय प्रतियोगिता हुँदै यू–१९ राष्ट्रिय टोलीमा आफूलाई प्रमाणित गरिसकेका छन् ।
यूएईविरुद्धको एकदिवसीय सिरिजको पहिलो र दोस्रो खेलमा बेञ्चमा बसेका उनले सोमबार तेस्रो तथा अन्तिम सिरिजमा मौका पाएका छन् । यूएई उड्नु अद्धि जोराले अनलाइनखबरसँग भनेका थिए, ‘क्रिकेट खेल्न थाल्दा जे सपना देखेको थिएँ, त्यो पूरा भएको छ । राष्ट्रिय टिममा हुँदा असाध्यै खुशी लागेको छ । हरेक बलमा ध्यान दिएर राम्रो खेल्ने प्रयास गर्नेछु ।’
पहिले गाली, अहिले स्यावासी
आफू राष्ट्रिय टोलीमा परेको खबरपछि सन्दीप जति खुशी भए, त्योभन्दा बढी उनको परिवार खुशी छ । सुरुका दिनमा क्रिकेट खेल्न जाँदा गाली गर्ने बुबा पनि अहिले छोरोमाथि गर्व गरिरहेका छन् ।
कुनै समय थियो उनलाई छोराले क्रिकेट खेलेको मन पर्थेन । छोराले क्रिकेटमा लागेर पढाई बिगार्ला भन्ने डर थियो उनलाई । त्यसैले सन्दीपले गाली मात्रै होइन, क्रिकेट खेलेर घर आउँदा कति पिटाइ पनि भेटे । सन्दीप ती दिन अहिले सम्झँदा भने रमाइलो लाग्ने बताउँछन् ।
पहिले जति नै रिसाए पनि अहिले भारतमा सेक्युरिटी गार्डको काम गरिरहेका उनका बुबा फोन गरेर भन्छन्, ‘राष्ट्रिय टिमबाट राम्रो खेल, राम्रो गर है ।’
‘मेरो परिवारमा सम्पन्न छैन । सानोमा त खेल सामग्री किन्न नै पनि मुस्किल हुन्थ्यो । पैसा सधैँ अभाव थियो । एक/दुई दिन खेल्न जान त केही भएन तर नियमित खेल्न त निकै अप्ठ्यारो हुन्थ्यो’ बाल्यकाल सम्झँदै सन्दीप भन्छन् ।
बुबा पहिले प्रहरीमा थिए । अवकाश भएपछि एउटा सानो पसल थापेका थिए । त्यो राम्ररी चल्न नसकेपछि भारतमा सेक्युरिटी गार्डमा काम गर्न गएका हुन् ।
दाइ र बहिनी पढाइमा लागिरहे पनि आफू भने सुरुदेखि नै क्रिकेटमै भुलेको बताउने सन्दीपलाई बुबा भारतमा काम खोज्दै जानुपरेकोमा नराम्रो लाग्छ । आफूले खेलबाट देशको मात्र होइन परिवारको अवस्था फेर्न सक्ने आशमा छन् उनी ।
नबुझ्दा रुची, बुझेपछि उद्देश्य
सन्दीप आफूमा क्रिकेटको रुची कुन बेलादेखि बस्यो ठ्याक्कै भन्न सक्दैनन् । तर भिमदत्तनगरको खुलामञ्चमा दाइहरुले क्रिकेट खेलेको देखेर नै उनमा रहर जागेको थियो ।
‘एकपटक भिमदत्तनगरमा रहेको खुलामञ्चमा क्रिकेट अभ्यास हेर्न गएको थिएँ । हेर्दा हेर्दै रहर लाग्यो । भोलिपल्टबाट समयमै आफू पनि अभ्यासमा जान थालेँ । त्यसपछि क्रिकेट नियमित भयो । त्यहाँ प्रशिक्षकहरुसँग नै सिक्न पाइन्थ्यो,’ सन्दीपले सम्झिए ।
उनले त्यही दिनदेखि निरन्तर अभ्यास गर्दै गए । खेल्दै जाँदा खेल राम्रो हुँदै पनि गयो । हौसला मिल्दै गयो । भविश्यमा क्रिकेटबाट नै केही होला जस्तो उनलाई लाग्यो । दिनभर विद्यालय र छुट्टी भएपछि उही खुलामञ्च । सन्दीपको दैनिकी क्रिकेटमा त्यसैगरी बित्यो । त्यो समय ड्युज बल किन्ने पैसा नहुँदा उनीहरु टेनिस बललाई पानीमा भिजाएर गहु्रँगो बनाएर खेल्थे ।
राष्ट्रिय टिमको बाटो
२०७० सालमा धनगढीमा भएको यू–१६ क्षेत्रीय प्रतियोगितामा उनले कञ्चनपुरबाट खेलेका थिए । त्यसमा उनी सर्वाधिक रन बनाउने खेलाडी बने ।
त्यहीँबाट चिनिन थालेका हुन्, सन्दीप । पहिलो एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा कान्तिपुर गुर्खाजबाट खेलेपछि धेरैको नजरमा पर्न सके । जगदम्बा राइनोजविरुद्ध एक खेलमा छैठौं नम्बरमा ब्याटिङमा आएका उनले २८ बलमा ४२ रन बनाएका थिए ।
‘इपीएलपछि नै यू–१९ एसिया कपको क्याम्पमा आएँ । त्यसमा १८ जनामा परेको थिएँ. । त्यसपछि यू–१९ एसिया कप छनोटमा भने टिममा नै परेँ,’ सन्दीप भन्छन्, ‘त्यो बेला यू–१९ एसिया कप छनोटमा एक खेल मात्रै खेल्न पाएको थिएँ । अहिले एसिया कपमा भने सबै खेलमा खेलेँ ।’
गएको सेप्टेम्बरमा भएको यु–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध शून्यमा आउट भएका सन्दीपले युएईविरुद्ध भने ७४ बलमा ७६ रन र भारतविरुद्ध २० बलमा त्यति नै रन बनाएका थिए ।
फ्रेन्चाइज क्रिकेटहरुमा राम्रो खेल देखाएका सन्दीप त्यही बाटोबाट आफू राष्ट्रिय टिमसम्म आउन सकेको बताउँछन् । इपीएलमा ललितपुर, डीपीएलमा अत्तरिया, पीपीएलमा धनगढीको टिमबाट पाएको अनुभवले आफ्नो खेलमा खारिँदै गएको उनलाई लाग्छ ।
‘यू–१९ मा खेलेर मात्रै होइन, यस्तै टी–ट्वान्टी प्रतियोगिताले नै हाम्रो राष्ट्रिय टिममा ढोका खोलेको हो, देशका लागि खेल्न पाउने कुराले निकै उत्साहित छु,’ उनले भने ।
टेस्ट खेल्ने महत्वकांक्षा
अहिले राष्ट्रिय टिमको क्याम्पमा बस्दा बल्ल क्रिकेटबारे धेरै कुरा बुझेको सन्दीप बताउँछन् । ‘हाम्रोमा क्रिकेट बोर्ड छैन, घरेलु प्रतियोगिता छैन, सानोदेखि हुनुपर्ने जस्तो प्रशिक्षण पाएका छैनौँ । यो लेभलमा आएर बल्ल त केही सिक्न पाएका छौँ’ उनी भन्छन्, ‘अब कस्तो, के हुन्छ भन्न त सकिन्न तर आफ्नो तर्फबाट पूरा मेहनत गर्नेछु । राम्ररी अगाडि बढ्ने हो भने टेस्टसम्म पुग्न सक्छौँ नै ।’
यू–१९ मा हुँदा र अहिले राष्ट्रिय टिममा पर्दा धेरै कुरा फेरिएको जस्तो उनलाई लाग्छ । ज्ञानेन्द्र मल्लको खेलशैलीबाट प्रभावित उनी सिनियरहरुबाट आफूले धेरै नै कुरा सिक्न पाएको बताउँछन् । ‘उहाँहरुको अनुभव बुझ्न पाइएको छ । त्यसले मलाई खेलमा धेरै नै सहयोग गर्छ भन्ने लागेको छ,’ उनले भने, ‘अभ्यासमा ब्याटिङ गर्दा कुनै नयाँ तरिकाहरु पनि सिक्न खोजिरहेको हुन्छु ।’
नेपालको कमजोर ब्याटिङ स्तर राम्रो बनाउन प्रशिक्षणमा नै ध्यान दिनुपर्ने उनलाई लाग्छ । ‘विशेष त बाहिरबाट ल्याइने अनुभवी प्रशिक्षकसँग नै हामीले सिकिरहनु पर्छ । जतिसक्यो खेलहरु खेल्ने अवसर पाउनु पर्छ । त्यसले नै सुधार हुँदै जान्छ’ उनले भने ।
‘राष्ट्रिय टिममा हामी अहिले पाँच जना त यू–१९ कै छौँ । अब हामीले गर्ने मेहनतले नै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्नेछ । एकदिवसीयसम्म पुगिसकेको क्रिकेटमा हामीमाथिको अपेक्षा पनि धेरै हुन्छ,’ उनी भन्छन्, ‘नेपाललाई विश्वकपसम्म पुर्याउन, टेस्ट राष्ट्रको मान्यता दिलाउन हाम्रो मेहनत रहन्छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4