
१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नो हाताभित्र अनसन, धर्ना र बन्द हड्ताल जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले सोमबार विज्ञप्तिमार्फत विरामीको उपचारमा असर पर्ने कुनै गतिबिधि नगर्न चिकित्सकहरुलाई आग्रह गरेको हो ।
डा.गोविन्द केसीको अनसन र उनको समर्थनमा नेपाल चिकित्सक संघले रिले अनसन थालेकै दिन अस्पताल प्रशासनले एने कानुन सम्झाउँदै यस्ता गतिविधि नगर्न भनेको हो । अस्पताल प्रशासनले चिकित्सक संघका कार्यक्रम अस्पताल हातामा नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘अस्पतालमा कुनै पनि धर्ना,बिरोध,बन्द हड्तालको कार्यक्रम नराखिदिनु हुन र देशको ऐन नियम एबं चिकित्सकीय नैतिक दायित्व अनुरुप सदाझैं नियमित स्वास्थ्योपचार सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।’
चिकित्सक संघनै बिभाजित
नेपाल चिकित्सक संघले थालेको रिले अनसन लगायतका कुनै पनि आन्दोलनका कार्यक्रममा वामपन्थी चिकित्सक सहभागी नहुने भएका छन् । डा.गोविन्द केसीले राजनीतिक माग राखेर अनसन बसेकाले यसपटकबाट केसीको अनसनमा साथ दिन नसकिएको नेकपा निकट चिकित्सक संगठनले प्रष्ट पारेको छ ।
नेपाल चिकित्सक संघ चिकित्सकहरुको छाता संगठन हो । तर यसपटक चिकित्सक संघमै पनि आन्दोलन गर्ने र नगर्ने सन्दर्भमा विवाद भएको छ । गत बिहीबार विवाद बढ्दा हात हालाहालको अवस्था आएको भिडियोसमेत सार्वजनिक भएको छ ।
चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले संघको रिले अनसन र अस्पताल बन्द गराउने प्रकारका कुनै पनि आन्दोलनमा सहभागी नहुने बताएकी छन् । उनले सार्वजनिक रुपमै डा.केसीको अनसन नेपाली कांग्रेसको एजेण्डामा गइसकेको भन्दै चिकित्सक संघ त्यसमा फस्न नहुने बताएकी हुन् ।
नेकपा निकट राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले डा.गोविन्द केसीका माग स्वास्थ्यसँग सम्बन्धित हुँदासम्म आफूहरुले साथ दिए पनि यसपटक राजनीतिक एजेण्डा बोकेकाले समर्थन गर्न नसकिएको बताए । उनले वामपन्थी चिकित्सकको रिले अनसनमा सहभागिता नहुने जानकारी दिए ।
पौडेलले भने ‘हामीले यसअघिसम्म डा.केसीलाई साथ दिएका हौं,किनकी उहाँका माग चिकित्सा क्षेत्रसँग सम्बन्धित थिए । अहिले संसदले जनमुखी बिधेयक पारित गरिसकेको सन्दर्भमा उहाँ नेपाली कांग्रेसको लागि अनसन बसिदिनु भएको जस्तो छ । हामीले यस्तो राजनीतिक एजेण्डामा समर्थन गर्न सक्ने भएनौं र अस्पताल बन्द गरे प्रतिकार पनि गर्छौं ।’
चिकित्सक संघ नेपाली कांग्रेसको निर्देशन अनुसार आन्दोलनमा गएकाले यो आन्दोलनमा कार्यकर्ता बाहेक अरु पेशाकर्मी सहभागी नहुने पौडेलले बताए । पौडेल वीर अस्पतालमा कार्यरत छन् । उनी नेतृत्वको संगठनले संघका कुनै कार्यक्रममा सहभागी नहुन चिकित्सक र स्वास्थयकर्मीहरुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया 4