+
+

पलेँटीमा गुञ्जिइन् ‘मेलवादेवी’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ११ गते १८:२६

काठमाडौं । नेपालको पहिलोदेखि अहिले चल्तीमा रहेका गायिकाहरूको गीत एउटै स्टेजबाट लाइभ म्युजिकको साथ सुन्न पाउनु विरलै संयोग हो । आर शाला अर्थात पलेँटीले शुक्रबार यही अवसर जुराइदियो ।

करिव अढाई वर्षदेखि ब्रेक लागेको पलेँटीले संगीतमा नारी पहिचानका साथमा शुक्रबार पुनर्उदय भयो । नेपालको पहिलो गायिका मेलवादेवीदेखि अहिलेका गीत गाउन गायिका मिना निरौला उपस्थित थिइन् । संगीतकार आभाषको न्यारेशनमा प्रदर्शन भएको पलेँटीले शुरु गरेको मात्र नभई नयाँ पनको पनि आभाष दिएको छ ।

आरशालाको प्रांगणमा पलेँटी कस्नका लागि चर्चित गायक-गायिका, संगीतकार, गीतकारदेखि पत्रकारसम्म थिए । पलेँटी कसेरै बसेका संगीतकार आभाषले आफ्नो संस्मरणमा आधारित रहेर नेपाली संगीतमा महिलाहरुले लगाएको गुणको चर्चा गरे । पलेँटीमा भेटेका गायिकाहरुको अनुभूति पढ्दै थिए आभाष । मिनाले गीत गाइन्, ‘न घरलाई घर कहिन्छ, नरी नै दरवार नै हो…।’

शुक्रराज शास्त्रीले लेखेको यो गीत नेपालको पहिलो रेकर्डेड गायिका भनेर चिनिने मेलवादेवीले गायकी थिइन । यद्यपि, उनको पहिलो गीत ‘लसुन पुड्के पोइ’ थियो ।

मेलवादेवीको स्वरसँग रेडियोबाट परिचिचित भएझै कोइलीदेवी र तारादेवीलाई पनि रेडियोबाटै चिनेको अभाषले बताए । त्यसपछि मिनाले गीत गाइन्, ‘फुलको डुंगा बहेर गयो गंगाको पानीमा…।’

उनले यहीबीचमा आभाषले डेजी बराइलीलाई लिन दार्जलिङ गएको कुरा उप्काए । त्यही बीचमा उनको भेट अरुणा लामासँग भयो । अभाषका प्रभु मामाले चिनाइदिएकी अरुणा लामाले मुखमा घुम्टो हालेकी थिइन् । पहिलो महिला संगीतकार तथा गायिका शान्ति ठटालको प्रशंग पुरा गर्नुभन्दा पहिला मिनाले अरुणा लामा कै गीत गाइन्, ‘न घर मेरा, न वन… ।’

शान्ति ठटाल अहिले पनि संगीतको बाटो छोडेकी छैनिन् । उनले नेपाली संगीतमा अद्भूत गुण लगाएकी छिन् । उनको गुणको चर्चापछि मिनाले शान्तिकै गीत गाइन्, ‘सम्हालेर राख, संगालेर राख, फेरि फुल्ने हो कि होइन जोवानको फूल … ।’

अभाष चर्चा गर्दै दार्जलिङ सिक्कीमसम्म पुगे । डेजी रसाइलीको एउटा खुल्ला किताब हुँ म…देखि देवा ग्याल्मोको शहरभित्र के को हल्ला मेरो मायालु आउने बेलामा…सम्म पुगे । यही बीचमा गौरी केसीको चर्चा अयो । संगीतकार अम्बर गुरुङले एक पटक भनेको थिए, ‘तिमीले कति गीत गाउँछौं होइन, कस्तो गीत गाउँछौं भन्नेले अर्थ राखछ ।’ गौरी केसी त्यस्तै कम तर राम्रा गीत गाउने गायिका थिइन् । त्यसपछि मिनाले गौरीकै गीत गाइन्, ‘रानी तलाउ किनारा, चम्कीरहेथ्यो निलो नभमा सितारा…।’

त्यसपछि आभाष तारा थापासम्म आइपुगे । मीराले ‘तारि नदेउ हे माझी दाइ.. बोलको गीत गाउँदा सबैको कानमा तारा थापा उभिइन् । यति मिठो गीतको शव्दको रचना तत्कालिन रानी चादनी शाहले लेखेकी थिइन् ।

विस्तारै मिना थापाको युगमा आइपुगे आभाष । जसलाई पहिलो पटक रेडियो नेपाल देख्दा उनको चमकधमक र फुर्तीफार्तीले चकित परेका थिए आभाष । त्यसपछि म्युजिकसँगै आरशालामा मिनाको गीत गुञ्जियो, ‘मखमली चोली चाहिँदैन, रेशमको सारी चाहिँदैन, नाकैमा फूली, कानैमा ढुंग्री, चाहिँदैन मलाई चाहिँदैन …।’ यो गीतले आरशाला गुञ्जिदा सबैको शरिरले ताल छुट्याएको थियो ।

आभाषले सिलगुडीकी हिरादेवी वाइवालाई सम्झिए । २००८ मा उनी काठमाडौं आएको बेला आभाषलाई भेट्न सकिनन् । उनी नेपालयको गेटसम्मै पुगेकी थिइन् तर, आभाष त्यो दिन आउन सम्भव थिएन, अर्को दिन हिरादेवी फर्किइन् । तर, पलेटी कस्न आउन नपाएकी हिरादवीबारे २०११ मा खवर आयो, ‘आगो ताप्दा ताप्दै जलेर निधन भयो ।’ त्यतिबेला उनको वरिपरि आगो निभाउने कोही थिएनन्, जसरी मेलवादेवी जल्दा वरिपरि कोही थिएनन् । आभाषले भक्कानिँदै भने, ‘त्यतिबेला हिरादेवीले कुन रङको फरिया लगाएकी होलिन् ।’

माहोल भावुक बन्यो । मिनाको मुखबाट स्वर निस्कियो, ‘फरिया ल्याइदिएछन्, त्यही पनि राता घनन.. ।’

त्यसपछि सरिता गजमेर, दिलमाया खाती, कुन्ती मोक्तान, संगीता राना प्रधान, मिना निरौला अञ्जु पन्तसम्मको चर्चा भयो । बीचैमा हराएका सिन्धु मल्लहरुको पनि चर्चा भयो ।

अबको पलेँटी यसरी नै थिम बेस र सन्दर्भ केन्दि्रत रहेर गर्ने आभाषले बताएका छन् । नेपालका अधिकांश चर्चित गायक गायिकाहरु पलँेटीमा गुञ्जिसकेका छन् । संगीत र सर्जकसँग नजिक्याउने पलँेटी फेरि शुरु भएको छ । धेरै अन्तरालपछि सुरु भएको पलेँटीलाई विट मार्नुभन्दा पहिलो आभाषले पुनः मेलवादेवीकै प्रसंग निकाले ।

उनकाअनुसार मेलवादेवी जीवनको अन्तिम समयमा विरक्तिएर देश छाडेकी थिइन् । दरवारले गरेको थिचोमिचोलाई सहन नसकी उनी कलकत्ता लागेकी थिईन् । उनको गीतले भनेजस्तै उनी मर्ने बेलामा रोइदिने कोही भएनन् । सुरज, सुन्दर, बुद्ध, दिनेश र सन्देशले बादन गरे, मेलवादेवीको गीत मिनाले गाइन्,

‘सवारि मेरो रेलैमा ….

सिरिमा सालको लै-लै पछ्यौरी मेरो बरीलै
धोइदिने कोही छैन, सवारी मेरो रेलैमा…

विरानो देशमा लै लै मै मरि जाउला बरिलाई
रोइदिने कोही छैन, सवारी मेरो रेलैमा…..’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?