
१४ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक विभाग अगाडिका औषधी पसलहरु बिना टेन्डर सञ्चालित छन् ।
वीर अस्पतालका खरिद शाखा प्रमुख भगवती थपलिया, निर्देशक डा. भूपेन्द्र बस्नेत र न्याम्सका निमित्त उपकुलपति डा. सुवोध अधिकारीको मिलोमतोमा ती औषधी पसल बिना टेण्डर चलेका हुन् ।
२०७२ सालमा गरिएको टेण्डरको म्याद सकिएपछि अस्पतालले ०७४ असार ३२ गते पसल खाली गर्न पठाएको थियो । तर अस्पतालका खरिद प्रमुख थपलिया, निर्देशक डा. बस्नेत र निमित्त उपकुलपति डा. अधिकारीको मिलेमतोमा ती औषधी पसलहरू नहटाइएको खरिद शाखाकै कर्मचारीहरू बताउँछन् । तीमध्येका एक कर्मचारीले भने, ‘तीन जनालाई कमिसन दिएका पसलहरु टसमस नभई चलिरहेका छन् ।’
त्यहाँ नयाँ भवन बन्ने भएपछि खरिद शाखाले ०७४ असोज २ गते नयाँ टेण्डर नहुञ्जेलसम्मको लागि साविकको मासिक भाडामा ५ प्रतिशत बढाएर पसल चलाउने आपसी समझदारी गरेको थियो ।
ती सटरहरुको मासिक भाडा फरक फरक छन् । जसमध्ये सटर नम्बर सातमा रहेको आरफ फार्मेसीको भाडा मासिक नौ लाख ३६ हजार नौ सय ८२ रुपैयाँ छ । त्यसमा पाँच प्रतिशत जोड्दा उक्त भाडा करिब दश लाख ९३ हजार रुपैयाँ हुन्छ ।
तर पसल सञ्चालकले अस्पताललाई पुरानै दरको भाडा बुझाइरहेको ती कर्मचारीले बताए । त्यही मासिक पाँच प्रतिशत कमिशनका लागि अस्पतालका खरिद प्रमुख, निर्देशक र उपकुलपतिले ती पसलहरुलाई छुट दिइरहेको खरिद शाखाका कर्मचारीहरु बताउँछन् ।
२०७२ सालमा भाडामा लगाइएका ५ वटा सटरमा औषधी पसल छन् ।
प्रतिक्रिया 4