+
+

योगेश भट्टराई भन्छन्– भीआईपीको उडानमा आचारसंहिता बनाऔं

पाथीभरा जानुअघि सोच्नुपर्थ्यो : विजय सुब्बा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १०:५०

१७ फागुन, काठमाडौं । नेकपा नेता तथा सांसद योगेश भट्टराईले मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताए ।

विद्यार्थी आन्दोलनमा रविन्द्र अधिकारीका सहपाठी समेत रहेका सांसद भट्टराईले यो दुर्घटनाबारे सरकारबाट गठित समितिले छानविन गर्नुपर्ने बताए ।

सांसद भट्टराईले भने– ‘सावधानी पुगेन भन्ने लाग्छ । अब कोड अफ कन्डक्ट, आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ ।’

मन्त्री रविन्द्र अधिकारीलाई सम्झँदै सांसद भट्टराईले भने– ‘रविन्द्रजीसँग मेरो लामो सहकार्य रह्यो । झण्डै ३ दशक लामो । त्यो क्रममा उहाँ र मेरो बीचमा अत्यन्तै घनिष्ठता रह्यो । अनौपचारिक सम्बन्ध पनि रह्यो । पारिवारिक पनि । यो क्रममा मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाएँ ।’

आफूले रविन्द्र अधिकारीलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रुपमा बुझेको भट्टराईले बताए । उनले भने, ‘संगठनको आधारभूत तहदेखि काम गर्दैगर्दै अनेरास्वियुको केन्द्रीय अध्यक्ष पनि हुनुभयो । पोखराको पीएन क्याम्पस र काठमाडौंको त्रिविमा स्ववियु सभापति हुनुभयो । ३/३ पटक संसदीय निर्वाचनमा विजय हासिल गर्नुभयो । यसले उहाँ जनतासँग पनि त्यतिकै घनिष्ठता हासिल गर्ने व्यक्ति हुनुहुन्छ भन्ने देखिन्छ ।’

मन्त्री अधिकारीले अन्तरराष्ट्रिय एयरपोर्टलाई सुधार्ने, २१/२२ घन्टा चलाउने, भैरहवा पोखरा विमानस्थलमा तदरुकता देखाउने, निजगढमा छिटो अगाडि बढ्ने, विमानस्थल स्तरोन्तिमा लाग्ने, भ्रमण वर्ष २०२० घोषण गरेर योजना बनाउने जस्ता प्रगतिहरु गरेको भट्टराईले बताए ।

पाथीभरा जानुअघि सोच्नुपर्थ्यो : विजय सुब्बा

त्यसेगरी नेकपाका अर्का सांसद विजय सुब्बाले पर्यटनमन्त्री रविन्द्र अधिकारीले पाथिभरा जानुअघि सोच्नुपथ्र्र्यो भन्ने प्रतिक्रिया दिएका छन् । सांसद सुब्बाले टुँडीखेलमा सञ्चारकर्मीसँग कुरा गर्दै पाथीभरा जानु गल्ती भएको बताए ।

‘उता नगएको भए दुर्घटना हुने थिएन । मौसमको टुंगो नहुने ठाउँ हो । पाथिभरा जान सोच्नुपर्थ्यो,’ नेकपा सांसद सुब्बाले भने, ‘मौसम खराबी, हिउँ पर्दापर्दैको अवस्था, कतिबेला के हुन्थ्यो भन्ने थाहा हुँदैन, त्यसैले सोच्नुपथ्र्यो ।’

नेकपा नेता सुब्बाले दिवंगत मन्त्री रविन्द्र अधिकारीको स्मरण गर्दै भने– ‘उहाँ सबैको प्रिय र लोकप्रिय मान्छे हो । यस्तो मान्छे नेपाली राजनीतिमा अत्यन्त आवश्यक हो ।’

तेह्रथुमको चुहानडाँडामा विमानस्थल अवलोकनका लागि तेह्रथुममा सांसद विजय सुब्बा पनि मन्त्री अधिकारीसँगै काठमाडौंबाट हेलिकोप्टरमा जाने योजनामा थिए । तर, अन्तिममा आएर सांसद सुब्बा जान पाएका थिएनन् ।

यो पनि पढ्नुहोस्

विजय सुब्बा, जो ताप्लेजुङ दुर्घटनामा संयोगले बचे !

पर्यटनमन्त्रीलाई कसले, किन पुर्‍यायो पाथीभरा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?