+
+

चाणक्य नीति, सुशासन र नेतृत्व

सन्तोष खनाल सन्तोष खनाल
२०७५ फागुन १७ गते १४:१२

इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका निम्ति प्रेरणाको स्रोत बन्न सक्छ । दुई सहस्राब्दी भन्दा अघि लेखिएका उनका कृतिहरु आज पनि जिवन्त र प्रेरणादायी पाइन्छ ।

जो कोहीले पनि चाणक्यद्वारा लिखित अर्थशास्त्र र नितिशास्त्रको गहिरो अध्ययन गरेमा सुशासन, व्यवस्थापन र नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्ने कुराको अमूल्य ज्ञान पाउन सकिन्छ ।

पुरानो युगमा समेत राज्य सञ्चालन गर्दा धेरै महत्वपूर्ण मानिने सुशासन आजको समयमा आएर सबै नेतृत्वदायी भूमिकामा बस्नुभएका माननिय व्यक्तिहरुको मन्त्र नै भएको छ । हरेक पटक भाषण गर्दा हाम्रा नेता, मन्त्री मुख्यामन्त्री र प्रधानमन्त्री यो शब्द भन्न छुटाउनुहुन्न । आखिर सुशासन के हो त ? सबैले बुझ्ने भाषामा भन्नु पर्दा सुशासन भनेको नीति, नियम र नैतिक मान्यतालाई अवलम्बन गरी संचालन गर्ने असल शासन भनेर बुझिन्छ ।

सन्तोष खनाल

सरकारी, गैरसरकारी, कर्पोरेट हाउस, पब्लिक र प्राइभेट सबै संस्थाहरुमा व्यवस्थापन र नेतृत्वको सबैभन्दा महत्वपूर्ण हिस्सा भनेकै सुशासन हो । सुशासनले देशको आर्थिक, सामाजिक, राजनितिक र कुटनितिक क्षेत्रमा सुधार गर्नुका साथै विभेदमुक्त सेवाको प्रवद्र्धन गर्छ । कुनै पनि संस्थामा सुशासन कायम भएमा उक्त संस्थाको उत्पादकत्व बढ्नुका साथै सेवाग्राहीहरुले छिटो छरितो र गुणस्तरीय सेवा प्राप्त गर्दछन् ।

नेपालको सन्दर्भमा हेर्ने हो भने सुशासन सबैभन्दा बढी बोलिने तर सबैभन्दा कम प्रयोगमा आउने शब्द हो । यो शब्द सुन्दा असाध्यै प्रिय लाग्छ । सायद त्यही भएर होला, हरेक राजनीतिक दल, सरकारी र गैरसरकारी संघ संस्थाहरुका साथै कर्पोरेट हाउसहरुको सिद्धान्त र मूल्य मान्यताहरु लेख्दा यसलाई छुटाइदैन । तर, विडम्बना, कागजमा लेखेर मात्र परिर्वतन नआउने रहेछ । जबसम्म नेतृत्वदायी भूमिकामा बस्ने मानिसहरु अनुशासित, पारदर्शी र नैतिक भावले ओतप्रोत हुँदैनन्, तबसम्म सुशासन कायम गर्न कठीन हुन्छ ।

लोभी, भ्रष्टचारी, घुसखोर र दलाल मानसिकता भएका व्यक्तिहरुले कहिल्यै सुशानस कायम गर्न सक्दैनन् । हामी सबैले आफु काम गर्ने संस्थाको व्यवस्थापन र नेतृत्वलाई हेरौं । के उहाँहरु आफ्नो संस्थाको सुशासन कायम गर्न सफल हुनुहुन्छ त ? सरकारी संस्थाको त कुरै नगरौं, प्राइभेट संस्थाहरुमा समेत पारदर्शिता र सुशासन कायम भएको पाइँदैन ।

आफूलाई उद्यमी भन्ने उर्जाशील युवाहरु, शिक्षा र स्वास्थ्य जस्तो संवेदशील क्षेत्रको नेतृत्व गर्ने नेतृत्वकर्ताहरु समेत सुशासनमा प्रतिवद्ध भएको नदेख्दा असाध्यै दुख लाग्छ । हरेक संस्थामा सुशासन कायम गर्ने जिम्मा उक्त संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी तथा हित धारकहरुको हुन्छ । तर, पनि यसमा प्रमुख भूमिका भने नेतृत्वदायी व्यक्तिहरुकै हुन्छ । साना र तल्लो तहका कर्मचारीहरुले त उनीहरुको आदेश पालना गर्ने मात्र हो ।

भागवत गीताको अध्याय ३ श्लोक २१ मा श्रीकृष्ण भन्नुहुन्छ, नेतृत्वदायी व्यक्तिहरुले जे जस्तो व्यवहार गर्दछन् साधारण मानिसले त्यसैको अनुसरण गर्दछन् । त्यही भएर होला आशा लाग्दा व्यक्तिहरुसमेत पदमा पुग्दा संस्थाको व्यवस्थापन शैलिमा परिवर्तन आउँदैन । सायद स्कुलिङ नै गलत भएर होला ।

चाणक्य आफ्नो नीतिशास्त्रको अध्याय २ मा लेख्नुहुन्छ, खराब आचरण भएको, खराब दृष्टि भएको, अरुलाई हानी पु¥याउने र दुष्ट व्यक्तिसँग मित्रता गर्ने मानिस कहिल्यै नेतृत्वमा बस्नु हुँदैन । त्यस्ता व्यक्तिले न त सुशासन कायम गर्न सक्छन् न त अरुको भलो हुने काम गर्न सक्छन् ।

नीतिशास्त्रको अध्याय ३ मा उहाँ भन्नुहुन्छ, एउटा असल नेतृत्वकर्ताले जति सुकै कठिन परिस्थिति आए पनि बिचलित हुनुहुँदैन र आफ्नो मूल्य, मान्यता र सुशासनलाई भंग हुन दिनुहुँदैन । निश्चय नै संस्थागत भ्रष्टाचारले जरा गाडेको हाम्रो देशको हरेक क्षेत्रमा दिर्घकालिन रुपमा सुशासन कायम गर्नु त्यति सजिलो कुरा होइन । अवस्था धेरै चुनौतिपूर्ण छ । तर पनि यदि नेतृत्वमा चाणक्यमा जस्तो सुशासन कायम गर्ने दृढ इच्छाशक्ति, नैतिक चरित्र, अनुशासन, सादगीपन र देशभक्तिको भावना भएमा यो असम्भव पनि छैन ।

चाणक्य आफ्नो नीतिशास्त्रको चौधौं अध्यायमा लेख्नुहुन्छ, हामीले जस्तोखाले बीउ रोपेको हुन्छौं, फल पनि त्यसैअनुसार पाउने हो । हाम्रो लागि विकास र समृद्धि एउटा फल हो भने सुशासन एउटा बीउ हो । जबसम्म सुशासनको बीउ सवै क्षेत्रमा रोपिँदैन तबसम्म किास र समृद्धि सम्भव नै छैन ।

अब प्रश्न आउँछ, सुशासन कसरी कायम गर्ने त ? पहिलो कुरा त सुशासन कायम गर्नको लागि नेतृत्व तहका ब्यक्तिहरुमा चाणक्यमा जस्तो दुरदर्शिता, त्याग र दृढ संकल्प हुनु आवश्यक छ । त्यसपछि मात्र व्यवस्थापन, नियम कानून र प्रक्रियाको कुरा आउँछ । नीति, नियमकै कुरा गर्ने हो भने त हाम्रो देशमा भएका धेरै संस्थाले आफ्नो सिद्धान्त, मूल्य र मान्यतामा सुशासन शब्द लेखेकै हुन्छन् ।

त्यति मात्र होइन, सरकारले नै ०६४ सालमा सुशासन ऐन र ०६५ सालमा सुशासन नियमावली ल्याएको थियो । त्यहाँ पनि धेरै राम्रा पक्षहरु समेटिएका छन् । जस्तै आर्थिक अनुशासन कायम गर्ने, श्रोत र साधनको अधिकतम उपयोग गर्ने, मानवअधिकार संरक्षण गर्ने, कमजोर र असहाय व्यक्तिहरुलाई विशेष सुविधा दिने, सबै सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी समावेशी तथा जनसहभागिता मूलक बनाई त्यसको प्रतिफल सर्वसाधरणलाई उपलब्ध गराउने, कानुनको शासन, भष्टाचारमुक्त र चुस्त प्रशासन, अधिकारलाई विकेन्द्रीकरण र असल शासनको आधारभूत मान्यतालाई आत्मसात गर्ने ।

यसका साथै उक्त ऐनमा कार्यालय प्रमुख, विभागीय प्रमुख, सचिव र मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड, निश्चित कार्यविधी अवलक्बन गर्ने, निर्णय गर्दा आधार र कारण खुलाउनु पर्ने, स्वार्थ बाझिएमा निर्णय गर्न नुहुने जस्ता अति नै सुन्दर कुराहरु पनि समेटिएको छ । तर, यी नियम कानूनहरु सबै राजनैतिक दलका घोषणापत्र जस्तै भएका छन् । लेख्ने बेलामा खोजि–खोजि राम्रा जति सबै कुराहरु लेख्ने र कायान्वयन गर्ने बेलामा भने आफैले लेखेका कुरा बिर्सने ।

नीति, नियम र कानूनहरु भनेको त जीवन्त हुनुपर्दछ । तर हाम्रो देशका धेरै जसो नीति, नियम र कानूनहरु मरेको मूर्दा जस्तै भएका छन् । कहिँ कतै पनि आत्मा भेटिँदैन ।

फेरि पनि चाणक्यकै प्रसंगलाई जोडौँ । चाणक्य भन्नुहुन्थ्यो, सुशासन कायम गर्न सक्ने व्यक्ति मात्र सफल लिडर मानिन्छ । जसले आफ्नो क्षेत्रमा सुशासन कायम गर्न सक्दैन त्यस्ता व्यक्तिहरु आफ्नो पदमा बसीरहनुको कुनै औचित्य हुँदैन । चाणक्य भन्नुहुन्छ, सुशासन कायम गर्न नसक्ने व्यक्ति जनताको नजरमा गिरेका हुन्छन् र उनीहरु सँधै तिरस्कारको पात्र हुन्छन् ।

चाणक्य आफ्नो अर्थशास्त्रमा पनि लेख्नुहुन्छ, एउटा नेतृत्वले सुशासन कायम गर्नको लागि भ्रष्टाचार गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने, आफ्नै समर्थक भए पनि उसका गतिविधिहरुलाई निरन्तर निगरानी गर्ने, आफ्ना आलोचक भए पनि यदि नैतिकवान र अनुशासित छ भने त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिने र जनताका गुनासा र सुझावहरुलाई धैर्यताका साथ सुन्ने र समयमै लागू गर्न सक्ने हुनुपर्दछ ।

र, अन्त्यमा, यो देशको सवै क्षेत्रका नेतृत्वकर्ताहरुमा विकास र समृद्धिको हुटहुटी, अनुशासन, व्यवहारमा सादगीपन, नैतिक चरित्र र देशभक्तिको भावना भएमा मात्र सुशासन कायम गर्न प्रतिवद्ध भएको बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?