+
+

इस्लामिक स्टेट नियन्त्रित सिरियाको अन्तिम मोर्चामा हमला

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते ७:४७

२७ फागुन, काठमाडौं । इस्लामिक स्टेट समूहले कब्जा गरेको सिरियाको अन्तिम स्थान बागुज गाउँमा सरकार समर्थित अन्तर्राष्ट्रिय गठबन्धन सेनाले आक्रमण गरेका छन् । विश्लेषकहरुका अनुसार इस्लामिक स्टेट समूहले कब्जा गरेको यो अन्तिम स्थान हो र यहाँको लडाइँ निकै गम्भीर हुनेवाला छ ।

बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरेर धावा बोलेका थिए । यसअघि उनीहरुले घेराबन्दीमा परेका इस्लामिक स्टेटका परिवारका सदस्यहरुलाई बाहिर निस्किने मौका दिनका लागि लडाइँ रोकेका थिए ।

सिरियन डेमोक्रेटिक फोर्सेजका अनुसार उनीहरुलाई इस्लामिक स्टेट (आईएसआईएस) विरुद्धको लडाइँमा लगातार सफलता मिलिरहेको छ ।

सिरियन डेमोक्रेटिक फोर्सेजका एक लडाकु जमान अम्दले बीबीसीसँग भनेका छन्, ‘एक समय यहाँ पनि आईएसआईएसको नियन्त्रण थियो । अहिले हामी क्याम्पको सुरुको स्थानमा छौं र यो निकै ठूलो क्षेत्र हो । अहिले आईएसआईएस सानो घेरामा खुम्चिएको छ । यिनीहरुका लडाकुहरु बागुजको पहाडको तल बसेका छन् । बागुज गाउँको भित्री क्षेत्रमा पहिले आईएसआईएसको नियन्त्रण थियो तर अहिले उनीहरु दिनहुँ पछि हटिरहेका छन् ।’

सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ)का प्रवक्ता मुस्तफा बालीले पनि आफूहरु आईएसआईएस विरुद्धको लडाइँमा सफल हुँदै गइरहेको दाबी गरेका छन् । मुस्तफाले भनेका छन्, ‘इस्लामिक स्टेट र उसका लडाकुहरुलाई ठूलो क्षति पुगेको छ । अन्तर्राष्ट्रिय गठबन्धन सेनाहरुले इस्लामिक स्टेटका गोलाबारुदमा बमबारी गर्‍यो र ट्यांकहरुमार्फत पनि हमला गर्‍यो।’

धेरै आतंकवादीको मृत्यु भएको र घाइते पनि भएको दाबी गर्दै उनले भनेका छन्, ‘यो अपरेसन तबसम्म जारी रहन्छ जबसम्म बागुज गाउँ आतंकवादीबाट मुक्त हुँदैन ।’

बागुज गाउँमा एक हजारदेखि १५ सय आईएसआईएसका लडाकुहरु रहेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुले कडा टक्कर दिने विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?