
२९ फागुन, जनकपुरधाम । सिके राउतको विखण्डनवादी नाराका कारण विवाद र बहसमा जेलिँदै आएको मधेसले राउतको पृथकतावादी आन्दोलनबाट त्राण पाएको छ । तर, पृथकतावादको विदाइसँगै पूर्वराजाको स्वागतमा मधेसमा देखिएका तुल ब्यानरहरुले मधेसमा पृथकतावादको विदाइभोजसँगै हिन्दुत्वको स्वागतद्वार खुल्ने अर्को संकेत गरेको छ ।
गतसाता आमा रत्नराज्यलक्ष्मी देवी शाह बिरामी परेका कारण रोकिएको पूर्वराजा ज्ञानेन्द्रको मधेस तीर्थाटन बुधवारबाट शुरु हुँदैछ । उनी स्थलमार्गबाट झापाको बाटो हुँदै साँझ जनकपुर आउने कार्यक्रम रहेको भ्रमण व्यवस्था गरिरहेका जनकपुरका राजावादी विक्रम झाले अनलाइनखबरलाई बताए ।
पूर्वराजाको भ्रमण दलका लागि होटल शीता शरणका सबै कोठा चार दिनका लागि बुक गरिएको छ । पूर्वराजालाई ‘महाराजधिराज’कै रुपमा स्वागत गर्ने राजावादी र हिन्दुवादीहरुको तयारी छ ।
प्रदेश २ को राजधानी जनकपुरलाई मुकाम बनाएर पूर्वराजाले सर्लाही, धनुषा, उदयपुर, सिरहा र सप्तरीका शक्तिपीठहरुमा पुजाअर्चना गर्ने कार्यक्रम रहेको शिव सेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले बताए ।
बस्नेतको नेतृत्वमा शिव सेनाको टोली पनि अहिले जनकपुरमा खटिएको छ । पूर्वराजाले जनकपुरका समर्थकहरुसँग होटल परिसरमै सामुहिक भेटघाटको तयारी गरिएको छ ।
रामजानकी मन्दिरमा पूर्वराजाको पूजाअर्चनाको तयारी जुन ढंगले गरिदैछ, बरु यहाँ बिखण्डनको होइन, हिन्दूत्वको एजेण्डा चर्चामा छ ।
पश्चिम तराईको भ्रमणपछि पूर्वी तराईमा केन्द्रित रहेका पूर्वराजा जनकपुर आउने कुराले यहाँका सन्त महन्थहरुलाई तरंगित पारेको छ । रामजानकी मन्दिरमा उनले विशेष पूजा अर्चना गर्ने भएकाले तयारी चलिरहेको छ ।
‘मधेस प्रयोगशाला बनिरहन सक्दैन’
मधेसका बुद्धिजीवी तथा बरिष्ठ पत्रकार रामभरोस कापडी पूर्वराजा र सिके राउत दुवैका जनकपुर केन्द्रित गतिविधिको शुक्ष्म अध्ययन गरिरहेका छन् । पछिल्लो समय मधेसमा पूर्वराजाले पनि आफ्नो शक्ति देखाउन खोजिरहेको र त्यसको चहलपलहल जनकपुरमा देखिएको उनी बताउँछन् ।
कापडी अनलाइनखबरसँग कुराकानी गर्दै भन्छन्, ‘पछिल्लो समय पूर्वराजाले पनि आफ्नो शक्ति प्रदर्शन गर्न खोजेका छन्, जुन रुप जनकपुरमा पनि देखिएको छ ।’
कापडीका अनुसार सिके राउत आउनेबित्तिकै यहाँ गुप्त भइसकेको अवस्था छ । तर, पूर्वराजा आफ्नो पक्षमा वातावरण बनोस् भन्ने हेतुमा छन् । र, उनको पक्षमा शक्ति प्रदर्शन गर्न पनि खोजिएको छ । कापडी अगाडि थप्छन्, ‘दुबै आ–आफ्नो तरिकाले काम गरिरहेका छन्, रहस्यहरु के छन्, हेर्दै जाउँ ।’
मधेसलाई अप्रमाणिक एजेण्डाहरुको प्रयोगशाला बनाउन खोजिएको भन्दै यहाँका सामाजिक अभियन्ताहरुले चिन्ता जनाउन थालेका छन् ।
‘मधेस बिखण्डनको एजेण्डा अलोकप्रियमात्र होइन, अश्वीकार्य भइसकेको विषय हो । सिके राउतलाई सरकारले अवतरण गराइसक्यो अब त्यो चाप्टर सकियो’ मधेसका सामाजिक अभियन्ता नागेन्द्रकुमार दुवेले अनलाइनखबरसँग भने ‘बरु पूर्वराजाको मधेस तीर्थाटनले हिन्दूत्वको एजेण्डा तताउन खोजेको छ ।’
तर, मधेस अब विकास र समृद्धिको एजेण्डामा अघि बढ्ने र इतिहासबाट अश्वीकृत एजेण्डाहरुको प्रयोगशाला बन्न नसक्ने दुवेको विश्लेषण छ ।
प्रतिक्रिया 4