
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१७ मा करिब एक करोड मानिसलाई क्षयरोग भएको थियो । त्यसमध्ये १६ लाख मानिसको मृत्यु क्षयरोगका कारण भएको थियो । नेपालमा भने प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगी देखिने गरेकोमा नयाँ र पूरा गरी नेपालमा करिब ६० हजारको हाराहारीमा क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालमा मानिसको मृत्यु हुने प्रमुख कारणमा क्षयरोग सातौ नम्बरमा रहेको छ भने क्षयरोगकै कारण प्रत्येक वर्ष ५ देखि ७ हजार मानिसको मृत्यु हुने गरेको छ ।
क्षयरोग विशेषगरी महिलाको तुलनामा पुरुषमा धेरै देखिन्छ भने तराईमा बसोबास गर्ने मानिसहरुमा क्षयरोगको संक्रमण धेरै हुने गरेको पाइन्छ ।
क्षयरोग माइकोव्याक्टेरियम ट्युबरक्लोसिस व्याक्टेरिया (एमविडी)को संक्रमणका कारण हुन्छ । क्षयरोगले मुख्यतया फोक्सोलाई असर गरेपनि शरीरका अन्य अंगहरुलाई प्रभावित पार्न सक्छ ।
नियमित औषधीको सेवनले यो रोग सजिलै निको हुन्छ । यो रोग लाग्दैमा आत्तिहाल्नु पर्दैन । परिवारमा कसैलाई क्षय रोग लागेमा, पाँच वर्ष मुनीका बालबालिका, मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति, सोरायोसिसका विरामी, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्ति तथा एचआईभी पिडित व्यक्ति पनि क्षयरोगको उच्च जोखिममा रहने गर्छन् । हाछिउ गरेमा, खोकेमा यो रोग हावाको माध्यमबाट एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ । त्यसैले, यो रोगलाई सरुवा रोग पनि भनिन्छ ।
विश्वमा एक तिहाई जनसंख्यामा क्षयरोगको व्याक्टेरिया सुसुप्त अवस्थामा रहेको हुन्छ । नेपालमा कुल जनसंख्या तीन करोड मध्य करिब डेढ करोड जनसंख्यामा सुसुप्त रुपमा क्षयरोगको किटाणु रहेको अनुमान गरिएको छ । क्षयरोगको किटाणु सुसुप्त अवस्थामा रहेमा यसलाई लेटेन्ट ट्युबरक्लोसिस (क्षयरोग) भनिन्छ ।
लेटेन्ट ट्युबरक्लोसिस भएमा व्यक्तिमा क्षयरोगको व्याक्टेरिया त हुन्छ , तर यसकै कारण मानिस विरामी पर्दैन र यो रोग सर्दा पनि सर्दैन । यद्यपी, त्यस्ता व्यक्तिमा क्षयरोगको जिवाणु सक्रिय हुने सम्भावना १५ देखि २० प्रतिशतसम्म रहेको हुन्छ ।
जब मानिसमा क्षयरोगको व्याक्टेरिया सकि्रय हुन्छ, उनीहरुमा यस्ता लक्षण देखिनसक्छ ।
लक्षण
क्षयरोग लागेमा विभिन्न लक्षण देखिने गर्छ । कतिपयमा यसको कुनै लक्षण नदेखिन पनि सक्छ । धेरैजसो मानिसहरुको शरीरमा क्षयरोगको व्याक्टेरिया रहेको हुन्छ । तर त्यो सकि्रय हुँदैन । यी लक्षण देखिएमा क्षयरोग सक्रिय रहने गर्छ ।
-तीन हप्ता भन्दा बढी समय खोकी रहेमा र विभिन्न औषधीको सेवनका बाबजुद खोकी ठिक नभएमा
-ज्वरो आएमा
-तौल कम हुने, खाना न लाग्ने
-छाती दुख्ने
-रातीको समयमा पसिना धेरै हुने
परीक्षण
शरीरमा क्षयरोगको संक्रमण भए, नभएको विभिन्न तरीकाबाट पत्ता लगाउन सकिन्छ । छातीको एक्स रे, खकार जाँच, स्किन जाँचद्धारा पनि क्षयरोग भए, नभएको सजिलै पत्ता लगाउन सकिन्छ । यी जाँच सेवा सरकारद्धारा सुचीकृत अस्पतालहरुमा निशुल्क रुपमा पाइन्छ ।
कसरी हुन्छ क्षयरोगको संक्रमण ?
क्षयरोगबाट संक्रमित व्यक्तिको कफ, खकारबाट, हाछिँउ गर्नाले, खोक्नाले तथा उनीहरुबाट छोडेको सासबाट वायुबाट व्याक्टेरिया फैलिने गर्छ । जुन कयौ घण्टासम्म वायुमा रहने गर्छ । यसको संक्रमणमा परेमा एउटा स्वस्थ मानिस पनि यसकेा चपेटामा आउन सक्छ ।
जब क्षयरोग वा टिबीकेा व्याक्टेरिया फोक्सोमा पुग्छ, त्यतिबेला यो कयौ गुणा बढ्छ, र फोक्सोलाई असर पार्न थाल्छ । र, रोग प्रतिरोधात्मक क्षमतामा र्हास आउने गर्छ । जति जति शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ, क्षयरोगले शरीरलाई त्यति नै धेरै संक्रमण गर्न थाल्छ ।
कुन बेला जाँच गराउने ?
-लामो समयसम्म खोकी लागेमा
-खकारमा रगत देखिएमा
-सास लिनमा कठिनाई भएमा
-तौल अचानक कम भएमा
-पिसाब पहेलो वा मल सफा भएमा
-छाला वा आँखा पहेलो भएमा
बच्ने उपाय
क्षयरोग लाग्नु भन्दा लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले क्षयरोग लाग्न नदिन विशेष कुरामा ध्यान दिनु पर्छ ।
-दुई हप्ता भन्दा बढी समय खोकी लागेमा तुरुन्तै चिकित्सकका जानु पर्छ ।
-संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहनु पर्छ ।
-भीडभाडमा मास्कको प्रयोग गर्नु पर्छ ।
-धेरै खोकी लागेमा वा खकारमा रगत देखिएमा तुरुन्तै खोकीको जाँच गराउनु पर्छ ।
-रोग प्रतिरोधात्मक क्षमता कम होस् भन्नका लागि पर्याप्त मात्रामा पोषिलो तथा झोलिलो पदार्थको सेवन गर्नुपर्छ ।
प्रतिक्रिया 4