+
+

‘उहाँहरुले जित्दा बारको बदनाम भयो’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १५:५१

११ चैत, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले १६ चैतमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चुन्दैछ । प्रतिस्पर्धामा छन्– सुनील पोखरेल र चण्डेश्वर श्रेष्ठ । बारको नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानलबाट बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ अध्यक्षको उमेद्वार बनेका छन् ।

२८ वर्षअघि नेपाल बारको केन्द्रीय सदस्य भएका श्रेष्ठ पाका वकिल हुन् श्रेष्ठ । प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व गरेर चुनावी मैदानमा उत्रिएका श्रेष्ठ कांग्रेससमर्थित बारले सत्ताको खुलेआम ताबेदारी र न्यायपालिकालाई स्वतन्त्र र भ्रष्टाचारमुक्त बनाउन असहयोग यो उमेरमा आफू अगाडि सरेको तर्क गर्छन् ।

बारको चुनावमा प्रजातान्त्रिक प्यानलले जितेका बेला नेपाल बार एशोसियसनको गरिमा माथि नै प्रहार भएको श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘उनीहरुले सत्ताको ताबेदारी र बारलाई बद्नाम गरे, हामी बारलाई पुनर्जीवन दिन्छौं ।’

बारको चुनावका सन्दर्भमा प्रगतिशील खेमाबाट अध्यक्षका प्रत्याशी श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानी–

यो उमेरमा चुनावी धपेडीमा हुनुहुन्छ, कस्तो छ अवस्था ?

यसलाई चुनावी धपेडी भन्दा पनि सक्रियता भनौं । देश दौडाहा मेरा लागि नयाँ होइन । म विभिन्न सिलसिलामा देशका बिभिन्न ठाउँमा गइरहेकै हुन्छु ।

योपटक सातै प्रदेश पुग्दा नेपाल बारमा मेरो नेतृत्वको प्रगतिशील, पेशागत र समावेशी प्यानललाई जिताउनुपर्छ भन्ने अभिमत पाएको छु । नेपाल बारको गरिमा जोगाउन हामीलाई जिताउनुस् भनेका छौं । उहाँहरुको प्यानलले जितेका बेला बार बद्नाम भएको महसुस सबैले गर्नुभएको छ ।

बार बदनाम भयो भन्ने ‘स्टेटमेन्ट’ लाई उहाँहरुले ‘चुनावी आरोप’ भन्नुभएको छ । यसमा तपाईको के भनाइ छ ?

अघिल्लो चुनावमा हाम्रा साथीहरु प्राविधिक कारणवश झिनो मतले पराजित हुनुभयो । यसबीचमा नेपाल बार एशोसियन कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आयो । नेपाल बार होइन, साँझको बार भयो भन्ने टिप्पणी पनि सुनिए ।

भ्रष्ट न्यायाधीश कारवाहीमा पर्दा जोगाउने ठाउँमा मात्र बार देखियो । सत्ताको ताबेदारीमा देखियो । स्वतन्त्रता, स्वच्छ न्यायपालिकाका सन्दर्भमा कतै देखिएन । नेपाल बार यती कमजोर कहिल्यै देखिएको थिएन । त्यसैले अहिले देशभरका कानुन व्यावसायीले हाम्रो नेतृत्व चाहेका छन् ।

नेकपाको बलियो सरकार भएका बेला तपाईहरुले जित्नुभयो भने सत्ताको आलोचना होइन, प्रतिरक्षा हुन्छ भन्ने कुरा पनि छ नि ?

मेरो नेतृत्वको टिमको गन्तव्य भनेकै विधिको शासन, स्वतन्त्र न्यायपालिका, संविधानको सर्बोच्चता र ब्यवसायिक बार हो । यस विपरीत भयो भने डटेर मुकाबिला गछौं । शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत हुने कुनै पनि गतिविधिको विपक्षमा उभिन्छौं ।
उहाँहरुले त राजनीतिक बार बनाउनुभयो । बारको गरिमा र व्यवसायिक छविको हाम्रो जित आवश्यक छ ।

उहाँहरुले जित्दा बार बदनाम भयो । उहाँहरुले सत्ताको ताबेदारी गर्नुभयो । कुनै पनि ज्वलन्त विषयमा बार कि बोलेन, कि त गलतको पक्षमा उभियो । भ्रष्ट न्यायाधीश कारवाहीमा पर्दा उहाँहरु प्रधानन्यायाधीशलाई घेराउ गर्न जानुभयो ।

प्रधानन्यायाधीशमाथि महाअभियोग लाग्दा मौन समर्थन गर्नुभयो, त्यसको संवैधानिक पाटोमा छलफल गर्नुभएन ।

न्यायपालिका बलियो हुन बार बलियो हुनुपर्छ । बार कमजोर भएका बेला न्यापालिकामा समस्या देखिए । न्यायपालिकाभित्र जे जस्ता समस्या देखिए त्यो त बार कमजोर भएर हो । त्यसैले हामीले बारलाई बलियो बनाएर न्यापालिकालाई स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउने नारा बनाएका छौं ।

नेपाल बारमा हामीले नजित्दा कानुन व्यवसायीको हकहित संरक्षण र संस्थागत विकास पनि भएन । नवोदित कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि काम भएन । सबैभन्दा आपत्तिजनक त न्यापालिकामाथि हस्तक्षेप हुँदा बार सहयोगी भूमिकामा देखियो । त्यसैले, यसपटक हामीले जित्नुपर्छ ।

सुनील पोखरेलले जित्दा नगर्ने काम तपाईले जित्दा के हुन्छ ?

पहिलो कुरा त मेरो अनुभव ‘ट्र्याक रेकर्ड’ हेर्नुस् । ४७ वर्ष लामो ‘करिअर’मा कहिल्यै व्यवसायिक निष्ठा गुमाइनँ ।

न्यायपालिकाप्रति जनआस्था बृद्धि हुने काम गरेको छु । बारको नाममा व्यक्तिगत फाइदा लिनु छैन ।

पोखरेल तीन वर्षअघि बारको महासचिवबाट बिदा हुनुभएको हो । उहाँले व्यक्तिगत फाइदाका लागि बारको दुरुपयोग गर्नुहुन्न भन्ने केही छैन । उहाँको उम्मेदवारीमै वरिष्ठ अधिवक्ताहरुले असहमति जनाउनुभएको छ ।

म व्यक्तिगतरुपमा यसभन्दा बढी केही भन्दिनँ । तर, उहाँले बारको गरिमा जोगाउन सक्नुहुन्न । उहाँको उम्मेदवारी नै वर्तमान बार नेतृत्वको निरन्तरता मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?