+
+

निर्मला हत्या प्रकरणः ६० भन्दा बढीको डीएनए परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते २०:५४
Photo Credit : फाइल फोटो

१४ चैत, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे ।

अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन ।

कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण होइन । सर्वोच्च अदालतको फैसला यसको नजिर हो । तर, निर्मला प्रकरणमा प्रहरी सामू डीएनएन नै सबैथोक बनेको छ ।

पछिल्लो पटक प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अछामबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ । स्रोतकाअनुसार डीएनए परीक्षणका लागि उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ । तर, डीएनए परीक्षण नगरेसम्म प्रहरी बोल्न तयार छैन ।

स्रोतका अनुसार पक्राउ परेका दुई व्यक्ति पन्तको हत्या भएको दिन कञ्चनपुर आसपास नै थिए । घटनापछि नदेखिएका उनीहरुको बयान शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।

६० बढीको डीएनए जाँच

प्रहरीले सुरुमा अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप सिंह विष्ट डीएनए नमिलेकै कारण छुटे । जबकी, उनले प्रहरीलाई दिएको बयानमा हत्या अभियोग स्वीकार गरेका थिए ।

तत्कालिन कञ्चनपुर प्रहरी र अनुसन्धानका लागि काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रमाण नष्ट गरेको आरोपमा सरकारले प्रहरी अधिकारीमाथि कारबाही गरेको थियो । तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त नै भइसकेका छन् भने ब्युरोका डीएसपी अंगुर जिसी निलम्बित छन् ।

प्रहरीको थुप्रै टोली अनुसन्धानका लागि कञ्चनपुर पुग्यो । घटना भएको जिल्ला कञ्चनपुरमै दुई जना प्रहरी प्रमुख फेरिइसकेका छन् तर, अझै हत्यारा पक्राउ परेका छैनन् ।

पटकपटक विभिन्न संदिग्धको नाम र साबिती बयानसहितको विवरण प्रहरीले चुहाउँछ तर, डीएनए नमिल्दा उनीहरु सजिलै छुट्छन् । यतिसम्मकी हत्या स्वीकार गरेको सूचना पाएपछि प्रदीप रावल र विशाल चौधरीको बयान लिन आईजीपी सर्वेन्द्र खनाल आफैं सीआईबी पुगेका थिए । तर, उनीहरुको पनि डीएनए मिलेन ।

एक अनुसन्धान अधिकारीका अनुसार शंकित ६० जनाभन्दा बढीको डीएनए जाँच गरिसकिएको छ । तर, कोहीसँग पनि डीएनए मेल खाएको छैन ।

ब्युरोका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदी भन्छन्, ‘अहिलेसम्म पोजेटिभ नतिजा छैन ।’

अहिलेसम्मकै रेकर्ड

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका एक अधिकारीका अनुसार एउटै घटनामा सबैभन्दा धेरै डीएनए परीक्षण गरिएको घटना निर्मला पन्त बलात्कार प्रकरण हो ।

प्रहरीको ल्याबमा डीएनए परीक्षण हुन थालेकै ५ वर्ष मात्र भयो । त्यसमा पनि बलात्कारको नगन्य घटना मात्र डीएनए जाँच गरिन्थ्यो ।

प्रयोगशालाको रेकर्ड अनुसार आर्थिक वर्ष ०७३/०७४ मा १ सय ३७ वटा डीएनए प्रोफाइलको निकालिएको छ । तर, यो आर्थिक वर्षमा निर्मला प्रकरणमा मात्रै ६० बढीको डीएनए जाँच भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?