
१५ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सम्मेलनमा आयोजकले दिएको उपहार अस्वीकार गरेका छन् । शुक्रबारदेखि शुरु भएको लगानी सम्मेलनको उद्योग सम्बन्धी शत्रको सभाध्यक्षसमेत रहेका मन्त्री यादवले शत्रको समापन पछि दिइएको उपहार अस्वीकार गरेका हुन् ।
आयोजकको तर्फबाट शत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरुलाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर मन्त्री यादवले पुरस्कार नलिने भन्दै आफ्नो आसनबाट उठ्न चाहेनन् ।
आयोजकका तर्फबाट उपहार लिएर गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट मन्त्रीको आसन नजिकै पुगेर आग्रह गरे ।
एनआरएनए भट्टको आग्रह नमाने पछि मन्त्रालयकी सचिव यामकुमारी खतिवडा लगायतले समेत उपहार ग्रहण गर्न आग्रह गरेका थिए । तर कसैको आग्रहलाई पनि मन्त्री यादवले स्वीकार गर्न सकेनन् ।
सत्रमा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सुर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यू पोद्दार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सू गाङ बक्ताका रूपमा सहभागी थिए । यस्तै पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदीप कुमार श्रेष्ठले सहजकर्ताकाे भूमिकामा थिए ।
मन्त्री यादव बाहेक अन्य सबै सहभागीले भने आयोजकको उपहार ग्रहण गरेका छन् । त्यसअघि भएको उर्जा सम्बन्धी सत्रमा पनि उर्जामन्त्री वर्षामान पुन र सूचना प्रविधि सम्बन्धी सत्रमा सञ्चारमन्त्री गोकुल बास्कोटाले उपहार थामेका थिए ।
आजै बिहानसम्मेलनको उद्घाटन सत्रमा मन्त्री यादवले अग्रासनमा बस्ने सिट समेत पाएका थिएनन् । त्यसपछि उनी झोक्किँदै त्यहाँबाट बाहिरिएका थिए ।
मन्त्री यादवले पत्रकारसहित अन्यका लागि व्यवस्था गरिएको डिजिटल डिस्प्ले भएको हलमा बसेर उद्घाटन सत्र हेर्नु परेको थियो ।
विगतको लगानी सम्मेलनमा उद्योग मन्त्रालयको विशेष भूमिका रहने गरेको भएपनि यसपटक उद्योग मन्त्री यादव भूमिकाविहिन छन् ।
प्रतिक्रिया 4