+
+

नेपालको लगानी सम्मेलन, म्यानमारको विज्ञापन !

लगानी सम्मेलन म्यानमारले यसरी गर्‍यो 'बठ्याइँ'

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७५ चैत १५ गते १८:२६

१५ चैत, काठमाडौं । लगानी सम्मेलनको उद्घाटन सत्रमा म्यानमारका लगानी तथा विदेश आर्थिक मामिला मन्त्री यू थाउङ टुनले सम्बोधन गरे । सम्मेलनका विशेष वक्ताका रुपमा निम्त्याइएका उनले आफ्नो सम्बोधनमा कतै पनि म्यानमारबाट नेपालमा विदेशी लगानी ल्याउने वा ल्याउन सकिने विषय कोट्याएनन् ।

७ सय विदेशीसहित झण्डै एक हजार लगानीकर्तामाझ नेपाल र म्यानमारलाई एउटै डालोमा राखेर लगानी ल्याउन आग्रह गरे । उनले चलाखीपूर्ण तरिकाबाट नेपालको मञ्चलाई म्यानमारमा पनि वैदेशिक लगानी आवश्यक छ भनेर बुझाउन राम्रैसँग उपयोग गरे ।

‘विश्वस्तरमा वैदेशिक लगानीको स्थिति निराशाजनक छ, एशियामा पनि आतंकवादको प्रभाव छ, तर यहाँ विदेशी लगानी आउनु निकै महत्वपूर्ण छ,’ उनले भने, ‘नेपाल र म्यानमार दुबैले आर्थिक प्रगति गर्दैछन् । विभिन्न सूचकले त्यही देखाउँछन् । आज हामीलाई लगानीको खाँचो छ ।’

उनले विशेषतः कृषिमा आधारित उद्योगमा लगानी आवश्यक रहेको बताए । उनले पुरै दक्षिणपूर्वी एसिया र विश्वका लागि आन्नदाता बन्न सक्ने क्षमता रहेकाले त्यसका लागि काम गर्नुपर्ने बताए ।

‘अब एसियाका लागि नयाँ युग सुरु भएको छ, त्यसका लागि जिम्मेवार लगानीकर्ता चाहिन्छ,’ उनले भने, ‘मौका आउँछ पर्खँदैन, अब अलमल नगरौं । मौकाको सदुपयोग गर्न सकेनौं भने पछि पछुताउँछौं ।’

म्यानमारका मन्त्रीले आफ्नो सम्बोधनमा धेरैजसो दक्षिणपूर्वी एशियाको सम्भाब्यताबारे चर्चा गर्दै नेपाल र म्यानमारमा लगानी आवश्यक रहेको छासमिसे सन्देश प्रवाह गरे ।

म्यानमारले यो सम्मेलनलाई आफ्ना लागि उपलब्ध मञ्चका रुपमा आफ्नो चर्चा गर्न कतै छुटाएन । दिउँसो भएको ‘औद्योगिक आधार र रोजगारी सिर्जना’ सम्बन्धी सत्रमा पनि म्यानमारको योमा स्ट्राटेजिक होल्डिङसका कार्यकारी अध्यक्ष सर्ज पुनले पनि त्यस्तै बठ्याइँ गरे । उनले बोल्ने क्रममा सम्मेलनमा सहभागी लगानीकर्तालाई सोझै म्यानमारमा लगानी लिएर आउन आग्रह गरे ।


उनको त्यस्तो आग्रहपछि कार्यक्रममा सहभागीबीच हाँसो नै चल्यो । लगत्तै सत्रका सहजकर्ता पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले यस विषयमा छुट्टै छलफल गरौंला भन्दै हस्तक्षेप नै गरेर कुरा मोडे ।

किन यसो भयो ?

सरकारले नै यसपटकको लगानी सम्मेलनमा विशेष बक्ताका रुपमा म्यान्मारका मन्त्री टुनलाई बोलाएको हो ।

बर्मेली राष्ट्रपति वीन मिन्टले गत मंसिरमा नयाँ मन्त्रालय नै बनाएर टुनलाई मन्त्री पदमा ल्याएका हुन् । उनी यसअघि सरकारका प्रमुख सुरक्षा सल्लाहकार थिए ।

अहिले म्यानमार पनि नेपालजस्तै वैदेशिक लगानीका लागि ‘भोको’ छ । राजनीतिक अस्थिरताबाट गुज्रँदा-गुज्रँदै म्यानमार अन्य दक्षिणपूर्वी देशभन्दा पछि परेको  छ । त्यसैले म्यानमारले विदेश आर्थिक मामिला मन्त्रालयले नै बनाएर लगानी भित्र्याउन ठूलो प्रयास गर्दैछ ।

करिब ७० अर्बको अर्थतन्त्र रहेको म्यान्मार र नेपालबीच ब्यापार भने हुने गर्छ । म्यान्मारले पनि गत जनवरी २८ र २९मा लगानी सम्मेलन गरेको थियो । हालसम्म म्यान्मारबाट नेपालमा कुनै विदेशी लगानी नै आएको छैन । उसका लगानीकर्ता नेपालमा तत्कालै ठूलो लगानी लिएर आउने अवस्थामा पनि नरहेको उद्योगी व्यवसायी बताउँछन् ।

यस्तो अवस्थामा नेपालमा गरिएको लगानी सम्मेलनमा सहभागी हुन पाउनु नै उसका लागि ठूलो विषय हुन्थ्यो । तर, नेपाल सरकारले विशेष वक्ता र अतिथिकै रुपमा मञ्च दिएपछि टुनले त्यसलाई राम्रैसँग उपयोग गरे । उनले चतुरतापूवर्क म्यान्मारमा रहेको लगानीको सम्भावनाबारे नेपाली मञ्चबाटै विश्वभरका लगानीकर्तालाई जानकारी दिए ।

विदेशी लगानी आकषिर्त गर्न निकै दौडधूपमा रहेका टुनले आफ्नो सम्बोधनमा नेपाल र म्यानमारको आर्थिक सहकार्य र लगानीको सम्भावनाबारे कुनै कुरा उठाएनन् । उनले समग्र दक्षिणपूर्वी एसियाको नाम लिएर उनले म्यानमारको अवस्था लगानीकर्तालाई अवगत गराए ।

दक्षिणपूर्वी एशियाको सबैभन्दा धेरै गरिब मुलुकमध्ये एक हो, म्यानमार । इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया, सिंगापुर, फिलिपिन्स, कम्बोडिया, लाओस्, ब्रुनाई, र इस्ट टिमोर दक्षिणपूर्वी एशियामा पर्छन् । एउटै क्षेत्रका मुलुकहरुले उछिन्दै गर्दा विकासको फड्को मार्न विदेशी लगानी ल्याउन योजना म्यानमारले बनाएको  छ ।

लगानी खोज्ने मामिलामा नेपालजस्तै अवस्थामा रहेको म्यानमारलाई किन लगानी सम्मेलनमा विशेष वक्ता बनाइयो भन्ने प्रश्न स्वदेशी लगानीकर्ताले नै उठाएका छन् ।

‘अघिल्लो लगानी सम्मेलनमा भारतका अर्थमन्त्री अरुण जेट्ली विशेष वक्ता थिए, कम्तिमा त्यसैगरी नेपालमा धेरै लगानी आउने देशका एक मन्त्रीलाई यहाँ ल्याइएको भए हुन्थ्यो,’ एक व्यवसायी भन्छन्, ‘हामीले एशियामा लगानीको वातावरण छ भनेर सन्देश दिन सम्मेलन गरेका हौं कि नेपालमा ? सरकार अस्पष्ट भएछ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?