+
+

कोरियन कम्पनीको शर्तमा स्पष्टता माग्दै लगानी बोर्ड पुगे सवारी व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १८:५५

१९ चैत, काठमाडौं । नेपालमा गाडीको एसेम्बल प्लान्ट राख्न लागेको कोरियन कम्पनीको शर्तबारे नेपाली अटोमोबाइल्स व्यवसायीहरुले लगानी बोर्डसमक्ष चासो राखेका छन् । लगानी बोर्डले १० अर्ब ५४ करोडको लगानी स्वीकृत गरेको कम्पनीले आफूले लगानी नउठाइन्जेल नयाँ कम्पनीले एसेम्बल प्लान्ट राख्न नपाउने शर्त राखेपछि नेपाली उद्योगी व्यवसायी सशंकित छन् ।

उनीहरुले मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई भेटेर मोट्रेक्सले राखेका शर्त स्वीकार गरिए त्यसले बजारमा विकृति ल्याउने र अन्य कम्पनी आउने बाटो बन्द हुने भन्दै गम्भीर चिन्ता ब्यक्त गरेका हुन् ।

मोट्रेक्सले आफूले उत्पादन सुरु ७ वर्षसम्म अर्को कम्पनीलाई गाडी उत्पादनको अनुमति नदिन शर्त राखेको छ । यसले प्रतिस्पर्धा रोक्ने भन्दै व्यवसायीले मोट्रेक्सको शर्त सरकारले स्वीकार गरे त्यसले समस्या मात्रै ल्याउने बताएका छन् ।

मोट्रेक्सले विदेशबाट गाडी आयात गरेर बेच्न पाउनुपर्ने शर्त पनि राखेकाले व्यवसायी झनै रुष्ट छन् । उत्पादनको लागि अनुमति माग्दा विदेशबाट गाडी ल्याएर पनि बेच्न पाउनुपर्ने शर्त राखिँदा आशंका उत्पन्न भएको व्यवसायीले बताउँछन् ।

नाडा अटो मोबाइल्स डिलर्स एसोसियनका उपाध्यक्ष कृष्णप्रसाद दुलाल आफूहरुले सञ्चारमाध्यममा आएको मोट्रेक्सका शर्तबारे जानकारी मागेको बताए । उनले बोर्डले प्रतिस्पर्धाको युगमा त्यसलाई मिचिने गरी कसैलाई उत्पादको अनुमति नदिने बताएको दुलालले जानकारी दिए ।

‘बजारमा हल्ला आएजस्तो होइन रहेछ,’ उनले भने,’सरकारले विदेशी लगानी ल्याउँदा स्वदेशी लगानीलाई पनि संरक्षण गर्नेबारे सोच्छ भन्नेमा हामी विश्वस्त भयौं ।’

विदेशी कम्पनीले ब्यापार गर्न नपाउने कानून विपरित मोट्रेक्सले शर्त राखेको व्यवसायी बताउँछन् । उनीहरुले सरकारले विदेशी लगानी ल्याउनु सही भएपनि कानून मिचेर सिन्डिकेट र मोनोपोली हुने गरी नयाँ कम्पनी ल्याउन नहुनेमा ध्यानाकर्षण गराएका छन् ।

भेटमा सीईओ अधिकारीले हाललाई मोट्रेक्सलाई लगानीका लागि सैद्दान्तिक स्वीकृति मात्रै दिइएकाले शर्तबारे निर्णय भइनसकेको बताए । त्यो शर्त मान्ने वा नमान्ने भन्ने विषय सरकारको भएकाले आवश्यकता र औचित्य हेरेर निर्णय लिने उनकाले बताएको भेटमा सहभागी अर्का एक ब्यापारीले बताए ।

नाडा अध्यक्ष शम्भु दाहालको नेतृत्वमा व्यवसायीको टोलीले सीईओ अधिकारीसँग भेट गरेको हो ।

के छन् मोट्रेक्सको शर्त ?

मोट्रेक्सले सरकारसँग विभिन्न सुविधा र शर्तहरु राखेको छ । आफ्ना शर्तहरु पुरा भए बजार भाउ भन्दा ३० देखि ४० प्रतिशतसम्म सस्तोमा गाडी उपलब्ध गराउन सकिने दावी कम्पनीले गरेको बोर्डका एक अधिकारीले बताए ।

उसले ५ वर्षभित्र गाडी उत्पादन थाल्ने भनेको छ, तर त्यो अवधिसम्म विदेशबाट गाडी ल्याएर विक्री तिरण गर्नु पाउनुपर्ने माग गरेको छ । तर, नेपालमा विदेशी कम्पनीलाई ब्यापार आउन मिल्ने व्यवस्था कानून छैन ।

उसले नेपालमै तालिम केन्द्र चलाउने र त्यसमा सरकारले कर छुट दिनुपर्ने शर्त पनि राखेको छ । उसले कम्पनी नाफामा नगइन्जेल अरु कम्पनीलाई उत्पादनमा ल्याउन नहुने शर्त पनि तेस्र्याएको छ । त्यसका लागि ७ वर्ष लाग्ने उसको दावी छ । ७ वर्षपछि पनि १० अर्बभन्दा कम पुँजी ल्याउने कम्पनीलाई गाडीको उत्पादनमा अनुमति दिन नहुने पनि मोट्रेक्सको माग छ ।

कम्पनीले नेपालमा उत्पादित गाडीमा १०/१० प्रतिशत मात्रै अन्तःशुल्क लगाउनु पर्ने शर्त पनि राखेको छ । सरकारले गाडीमा ८० प्रतिशत भन्सार शुल्क र ६० प्रतिशत अन्तःशुल्क लगाउँदै आएको  छ । त्यसमा १३ प्रतिशत भ्याट र ७ प्रतिशत सडक दस्तुर पनि जोडिन्छ । यी शुल्कमा ५ वर्षसम्म सरकारले आफ्ना उत्पादनमा जोड्न नहुने मोटे्रक्सको शर्त छ । मोट्रक्सले ब्यापारिक प्रयोजनका गाडीमा अन्तःशुल्क नलिन माग गरेको छ ।

कम्पनीले ५ वर्षसम्म कर्पोरेट ट्याक्स, मूल्य अभिवृद्धि कर र लाभांश ट्याक्स नलिन सरकारसँग भनेको छ । उसले प्लान्ट बनाउँदा लाग्ने सामाग्रीको आयतमा पनि सहुलियत दिनुपर्ने माग गरेको छ । सरकारले नै प्लान्ट राख्ने जमिन उपलब्ध गराउनुपर्ने र २ वर्ष भाडा छुट गर्नुपर्ने र सबै सुविधा सरकारले लगिदिनुपर्ने लगायतका थुप्रै शर्त पनि छन् ।

नेपाल आउन लागेको कोरियन कम्पनीसँग हालसम्म गाडी उत्पादन गरेको अनुभव पनि छैन । उसले हालसम्म गाडीमा जोडिने म्युजिक सिस्टम र नेभिगेशन लगायतका विद्युतीय उपकरणहरु मात्रै बनाउँदै आएको छ ।

यो कम्पनीले राखेका शर्तहरुमा भन्दा पनि अरु एसेम्बल प्लान्टमा अरु लगानी रोक्ने गरी ल्याइएको शर्तमा आफूहरुको गम्भीर आपत्ति रहेको ब्यवसायी बताउँछन् ।

नेपालमा अन्य चिरपरिचत ब्रान्डले पनि एसेम्बल प्लान्ट राख्ने गरी छलफल चलिरहँदा ७ वर्षसम्म अरु कम्पनीलाई प्रवेश नदिइए देशले नै घाटा भोग्नुपर्ने उनीहरुको शर्त छ । हाल नेपालमा गोल्छा अर्गनाइजेशनले बजाज बाइकको एसेम्बल प्लान्ट चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?