
१३ बैशाख, काठमाडौं । देशमा बेथिति र अराजकतन्त्रको पारो कतिसम्म चढेको छ भनेर बुझ्ने हो भने राजाधानीको मुटुमा रहेको खुलामञ्चसम्म पुग्दा पर्याप्त हुन्छ ।
पञ्चायत कालमा समेत सार्वजनिक कार्यक्रमहरु गर्नका लागि देशकै गहनाका रुपमा शोभायमान बनाएर राखिएको खुलामञ्चमा यतिखेर नेताज्यूहरु हैन, ‘ट्यापे’हरुको शासन चल्ने गरेको छ ।
विद्यासुन्दर शाक्य नेतृत्वको काठमाडौं महानगरपालिकाले खुलामञ्चको चौरीमा सटर बनाएर भाडामा लगाउन दलाललाई दिएका समाचारहरु त निरन्तर आइरहेकै छन् ।
यसै क्रममा हामीले गणतान्त्रिक नेताहरु उभिएर भाषण गर्ने खुलामञ्चकै अवस्थाचाहिँ कस्तो छ भनेर जाँच्ने प्रयास गर्यौं ।
विगतमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारीजस्ता नेताहरुले उभिएर भाषण गर्ने गरेको ठाउँमा प्लास्टिकका थैला फुकिरहेका केही युवायुवती भेटिए ।
दुर्व्यसनमा लागेका युवायुवती र सडक वालवालिकाहरु नेताले भाषण गर्ने मञ्चमा बस्दा रहेछन् । उनीहरु त्यहाँ दिनभरि र राति पनि बास बस्दारहेछन् ।
अनलाइनखबरकर्मीले खुलामञ्चको तस्वीर लिन लाग्दा त्यहाँ रहेका युवाले झम्टिए । ‘क्यामेरा फुटाइदिन्छु’ भन्दै झम्टिएका युवालाई त्यहीँ रहेकी युवतीले रोकिन् र हामीलाई जोगाइन् ।
अनलाइनखबरले तस्वीर लिँदै गर्दा एक युवक दूध हाल्ने प्लाष्टिकको खाली प्याकेट फुक्ने-चुस्ने काम गरिरहेका थिए । कोही चुरोट खाँदै थिए त कोही नोकिया ब्राण्डको सानो मोबाइल खेलाइरहेका थिए । मञ्चको झ्यालमा सुरुवाल सुकाइएको थियो । अगाडिको भागमा गाडीहरु पार्किङ गरेर राखिएको थियो । फोहोरले हेरिनसक्नु देखिने मञ्चमा नाटक प्रदर्शनजस्तै प्रतीत हुनेगरी झोला बिसाएको थियो ।
अतिक्रमित खुलामञ्चका थप तस्वीर
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4