
१६ वैशाख, काठमाडौं । यसअघि ‘ड्राइभर भाइचा’ भन्ने व्यक्तिको नाम शायदै सुनिएको थियो । नाम सुन्दा ‘भाइचा’ नाम गरेको कुनै सवारी चालक जस्तै लाग्न सक्छ । तर, उनी सवारी चालक होइनन् । बरु उनी त दुईतिहाई बहुमतवाला प्रधानमन्त्री केपी ओली बस्दै आएको प्रधानमन्त्रीनिवास बालुवाटारका शक्तिशाली मोही हुन् ।
यतिबेला देशमा नेकपाको समाजवादी सरकार चलिरहेको छ । नेकपाका नेताहरु देशमा सामन्तवादको अन्त्य भैसकेको भन्दै अब समाजवादतिर फड्किने बताइरहेका छन् । यो अवस्थामा कुनै पनि व्यक्तिको जग्गामा मोही र जमिन्दारवीचको दोहोरो स्वामित्वको अवस्था रहनु भनेको सामन्तवादको अवशेष हो ।
तर, यसरी हेर्ने हो भने बालुवाटारस्थित प्रधानमन्त्रीनिवासबाटै सामन्तवाद हटेको छैन भनेर मान्नुपर्ने हुन्छ । किनभने, बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा मोही छन्– ड्राइभर भाइचा !
अनलाइनखबरलाई प्राप्त तथ्य अनुसार काठमाडौं–४ स्थित ३३ नम्बर कित्ताको करिब साढे १३ रोपनी सरकारी जग्गामा समेत ‘ड्राइभर भाइचा’ नाम गरेका मोही कायम गरिएको छ ।
प्रधानमन्त्री निवास अन्तरगतकै ३४ नम्बर कित्ताको करिब २३ रोपनी जग्गामा पनि ‘ड्राइभर भाइचा’लाई नै मोही देखाइएको छ । ७७ नम्बर कित्ताको करिब १ रोपनीमा पनि ‘ड्राइभर भाइचा’लाई नै मोही खडा गरिएको छ ।
कित्ता नम्बर ३३, ३४ र ७७ नम्बर कित्ताहरु प्रधानमन्त्री निवास रहेका जग्गा हुन् । प्रधानमन्त्री निवासमा कित्ता नम्बर १ को थप १ रोपनी जग्गासमेत समेटिएको छ, जसमा चाहिँ मोही खडा गरिएको छैन ।
बालुवाटारको प्रधानमन्त्री निवासमात्रै होइन, सभामुख निवास रहेको कित्ता नम्बर १६ अन्तरगतको करिब १५ रोपनी जग्गामा पनि ‘ड्राइभर भाइचा’ नै मोहीका रुपमा रहेका छन् ।
त्यसैगरी सरकारी स्वामित्वमा रहेका बालुवाटारका थप ५ कित्ता जग्गाको मोही ‘ड्राइभर भाइचा’ रहेका छन् ।
मालपोत कार्यालयमा रहेको जग्गाको रेकर्ड अनुसार कित्ता नम्बर ११, १२, २१, २६ र ३८ नम्बर कित्ताका जग्गाहरुमा ‘ड्राइभर भाइचा’ मोहीका रुपमा रहेका छन् ।
त्यसैगरी बालुवाटारको करिब २६ वटा कित्तामा रहेको थप सरकारी जग्गामा नाति डंगोल, आशानाराँ महर्जन, कर्णबहादुर, पञ्चनारायण महर्जन, न्हुँच्छे नाराँ महर्जन, नारन्चा महर्जन, सुकु महर्जन, लक्ष्मी मैया महर्जन लगायतका मोहीहरु रहेका छन् ।
सरकारले जमीनमाथिको दोहोरो स्वामित्व अन्त्य गर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशहरु बस्ने सरकारी जग्गामै मोहीहरु छन् भने सामन्तवाद कसरी अन्त्य भएको मान्ने ?
यसअघि नेकपा नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला बालुवाटारको जग्गामा मानवीय त्रुटी भन्दै धेरैजना मोही र तल्सिङहरुको नाम मन्त्रिपरिषदले हेरफेर गरेको थियो । त्यहाँ बाटो विस्तार गर्ने क्रममा क्षतिपूर्ति थाप्नका लागि नयाँ मोहीहरु खडा गरिएको थियो ।
बालुवाटारको सरकारी जग्गामा खडा गरिएका ‘ड्राइभर भाइचा’ लगायतका मोहीहरु वास्तविक हुन् या कीर्ते गरेर खडा गरिएका हुन् ? यसको छानविन पक्कै पनि ओली सरकारले गर्ला ।
के यिनीहरु वास्तविक मोही नै हुन् भने अब मोहीले बालुवाटारको जग्गामा ‘जसको जोत उसको पोत’ भन्ने कम्युनिस्ट सिद्धान्त लागू गर्न पाउलान् त ? यो प्रश्न पनि निकै नै रोचक छ ।
प्रतिक्रिया 4