+
+

एक रुपैयाँमा खाद्यान्न र चिनी तेल ! वीर अस्पतालको टेण्डरमा जालझेल 

निर्देशक भन्छन्-हामीलाई पनि अचम्म लागेको छ १ रुपैयाँमा कसरी सप्लाई गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते ९:४५

१९ वैशाख, काठमाडौं । बजारमा ७५ रुपैयाँ पर्ने चिनी एक रुपैयाँ किलो दिन्छु भन्दा तपाई पत्याउनुहुन्छ ? अनि जिरा, लसुन, अदुवा जस्ता मसला पनि एक रुपैयाँमा पाउने हो भने के चाहियो ? तर वीर अस्पतालले एक रुपैयाँमै अण्डा समेत खुवाउने गरी ठेक्का सम्झौता गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विरामीलाई एक वर्षभरि खान खुवाउन आवश्यक खाद्यान्नका लागि गत माघ ८ मा सार्वजनिक सूचनामार्फत ई-टेण्डर आह्वान गरेको थियो । जसमा टेण्डर भर्न इच्छुक फर्मको उद्देश्य अनिवार्य रुपमा खाद्यान्न सप्लाई हुनुपर्ने र कम्तिमा तीन वर्ष खाद्यान्न सप्लाई गरेको हुनुपर्ने भनिएको थियो ।

सोही अनुसार तीनवटा फर्मले ई-टेण्डर दर्ता गराएका थिए । न्यु सुयोग, न्यु आरके र महाँकाल सप्लायर्सको टेण्डर परेकोमा सबैभन्दा कम एक रुपैयाँमै हरेक खानेकुरा खुवाउन तयार भएको सुयोगलाई खाद्यान्न सप्लाईको ठेक्का दिइएको छ ।

उक्त कम्पनीले एक किलोग्राम चनाको एक रुपैयाँ र एउटा अण्डा एक पैसामा उपलव्ध गराउने सम्झौता गरेको छ । त्यस्तै जिरा, बेसार, लसुन, अदुवा, नुन, चिनी गहुँको पिठो र खाने तेल पनि एक रुपैयाँ किलोको दरले उपलब्ध गराउने गरी ठेक्का पारेको छ ।

हेर्नुहोस् मूल्य सूची

बिस्कुट पनि एक रुपैयाँ पुरियाको दरमा उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ । पत्याउनै नसकिने गरी मूल्य घटाएर टेण्डर पारेको कम्पनीले भोलि अस्पताललाई ती सामाग्री कसरी उपलब्ध गराउन सक्ला ? यो प्रश्न पनि उब्जिएको छ । तर कर्मचारी संगठनका एक पदाधिकारीले भने भोलि आफू निकट सप्लायर्सबाट कोटेशनमा सामान ल्याउनका लागि मिलेमतोमै यस्तो गरिएको आरोप लगाएका छन् ।

तीन वर्षको अनुभव र खाद्यान्न सम्बन्धी काम गर्ने गरी दर्ता भएका न्यु आरके र महाँकाल सप्लायर्सलाई नदिई कम रेट राखेको भनेर सुयोगलाई मापदण्ड विपरित ठेक्का दिइएको भन्दै अस्पतालकी खरिद इकाइ प्रमुख भगवती थपलिया विरुद्ध स्वास्थ्य मन्त्रालय र अख्तियारमा उजुरी समेत परेको छ । अस्पतालमा भर्ना भएका विरामीको खाना र खाजाका लागि आवश्यक सामान सप्लाई गर्ने ठेकेदार छान्दा थपलियाले अनियमितता गरेको आरोप लागेको हो ।

खाद्यान्न सप्लाईको तीन वर्षको अनुभव समेत नभएको र कम्पनीको उद्देश्यसमेत सो नरहेकोमा खरिद प्रमुख थपलियाले सुयोगलाई नै ठेक्का दिने निर्णय गर्दा कर्मचारीले प्रतिष्ठानका उपकुलपति डिएन शाह र निर्देशक केदार सेन्चुरीमाथि समेत प्रश्न उठाएका छन् । तर निर्देशकले भने सार्वजनिक खरिद ऐनका कारण अपत्यारिलो कम्पनीलाई ठेक्का दिइएको बताए ।

मूल्यांकन समितिमा रहेका एक सदस्यले खाद्यान्न सम्बन्धी कामै नगरेको कम्पनीलाई वीर अस्पतालका विरामीको खाद्यान्न सप्लाई गर्न दिइनु भनेको भोलि उसले एक रुपैयाँमा खान खुवाउन नसक्ने भन्दै हात उठाएको अवस्थामा पदाधिकारीले मनोमानी गर्न पाउने ठाउँ राखिएको टिप्पणी गरेका छन् ।

यता अस्पतालका निर्देशक सेन्चुरीले भने दोस्रो कम्पनीले सुयोगको भन्दा १४ लाख बढीको इस्टिमेट पेश गरेकाले कम दर रेटको कम्पनीलाई दिइएको बताएका छन् । तर एक रुपैयाँमा कसरी खाद्यान्न सप्लाई गर्छ भनेर आफूहरुलाई पनि अचम्म लागेको उनले प्रतिक्रिया दिए । विश्वास नभए पनि दिनुको विकल्प नरहेको उनको भनाइ छ ।

उनले भने, ‘हामीलाई पनि अचम्म लागेको छ, त्यसले १ रुपैयाँमा एक किलो चना, एक रुपैयाँमा एक लिटर तेल, एक रुपैयाँमा अण्डा र एक रुपैयाँमा बिष्कुट तथा अदुवा लसुन जस्ता सामाग्री कसरी सप्लाई गर्छ ?’

कारवाहीको सिफारिस पेण्डिङ

वीर अस्पतालको अनियमितता र भ्रष्टाचारमा यसअघि पनि पटक-पटक कारवाहीका सिफारिस भएका छन् । अख्तियारले समेत कागजागत जफत गरेर लगेको थियो भने सतर्कता केन्द्रले तत्कालीन उपकुलपति सहितका पदाधिकारी र खरिद प्रमुखलाई कारवाहीको सिफारिस गरेको थियो ।

खरिद प्रमुख थपलिया यसअघि पनि विवादमा परेकी थिइन् । २०७५ कात्तिकमा राष्ट्रिय सतर्कता केन्द्रले तीन महिना लगाएर वीर अस्पतालको अनियमितता छानविन गर्दा कर्मचारी भर्ना, उपकरण खरिद, कोटेशनमा सामान सप्लाई गर्दा भ्रष्टाचार भएको ठहर गरेको थियो ।

केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा पनि भगवती लगायतका कर्मचारीको नामै किटेर कारवाहीको लागि अख्तियारलाई समेत सिफारिस गरिएको छ । वीर अस्पतालमा वैंकको क्यास काउण्टर राख्ने टेण्डरमा समेत अनियमितता भएको आरोप लागेको छ ।

क्यास काउण्टर राख्न दश वटा बैंकले टेण्डर हालेकोमा प्रभु बैंकले तोकेको भाडा तिर्ने, कर्मचारीलाई ५ प्रतिशत ब्याज दिने, वीरका बेवारिसे विरामीको उपचारका लागि मासिक एक लाख रुपैयाँ दिने लगायतका कल्याणकारी प्रस्ताव राखेको थियो । अस्पतालको उपकरण खरिदमा वार्षिक २० लाख रुपैयाँ समेत दिने प्रस्ताव लत्याएर व्यक्तिगत लाभका लागि बैंक अफ काठमाडौंको काउन्टर राख्न सिफारिस गरिएको आरोपसमेत थपलियामाथि लागेको छ ।

वीर अस्पतालमा सामान्यतः २ वर्षमा खरिद शाखाका प्रमुख परिवर्तन हुने गरे पनि थपलिया ४ वर्षदेखि सोही शाखामा छिन् । सतर्कता केन्द्रले कारवाही सिफारिस गर्दा समेत उनलाई सोही शाखामा राखिएको भन्दै कर्मचारीले मन्त्रालय गुहारेका छन् । उनीमाथि आफन्तको फर्मबाट औषधी किन्ने गरेको, अस्पतालका सूचना र विज्ञापन बिना टेण्डर आफू निकट एजेन्सीलाई दिने गरेको समेत आरोप छ ।

अस्पतालका ५ वटा भेन्टिेलटर, मेमोग्राफी र स्पेशल एक्सरे मेसिन एक वर्षदेखि बिग्रेर थन्किदा पनि कमिसन नआउन्जेल मर्मत नगरिएको आरोप कर्मचारी संगठनका पदाधिकारीहरुले लगाएका छन् । खरिद शाखाबाट भएको अनियमितताबारे बोल्दा गुण्डा लगाइने गरेको आरोप उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?