
चलचित्र ‘रातो टिका निधारमा’को घोषणा भएको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा बन्ने महिला केन्द्रित कमेडी चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरियो । यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमा गरिनेछ । जेठ १० गतेबाट चलचित्रको छायांकन सुरु हुुनेछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । शम्भुजित बास्कोटा र कल्याण सिंहको यसमा संगीत छ । चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीतलाई समेत यो चलचित्रमा रिमेक गरिनेछ ।
यो चलचित्रबाट निर्देशक शर्माका छोरा अंकित शर्माले चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यू गर्दैछन् । उनले, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गर्दैछन् । कार्यक्रममा बोल्दै अंकितले भने–‘मेरो जन्म नै फिल्मी वातावरणमा भएको थियो । यसैले, मैले जानेको, वुझेको, पढेको सबै कुरालाई मिलाएर उत्कृष्ट काम गर्नेछु ।’
चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको गाउँले भूमिका हुनेछ । साम्राज्ञीले भनिन्–‘मैले यो चलचित्रको कथा सुनेपछि काम गर्न तयार भएकी हुँ । आजसम्म मैले यस्तो भूमिका गरेकी थिइनँ । यो महिला केन्द्रित चलचित्र हो ।’
चलचित्रमा नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार रविन्द्र झा, वुद्दि तामाङ, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल, अर्जुन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । चलचित्र ‘रातो टिका निधारमा’लाई दशैंमा रिलिज गरिनेछ । निर्देशक शर्माले यसपटक आफ्नो छोराको समेत डेब्यू रहेकाले सबैको अझै धेरै साथ चाहिएको बताए ।
प्रतिक्रिया 4