+
+

गैरकानूनी आप्रवासन रोक्न ट्रम्पले लगाए मेक्सिकोका सामानमा कर

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते ८:५१

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् । मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् ।

ट्रम्पले एक ट्वीट गर्दै जून १० देखि मेक्सिकोबाट आउने सबैखाले सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् । अवैध आप्रवासन दर यथावत रहेमा यसलाई विस्तारै वृद्धि गर्दै लगिने ट्रम्पको भनाइ छ ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्ति अनुसार, यो दर हरेक महिना ५ प्रतिशतका दरले वृद्धि गरेर २५ प्रतिशतसम्म पुर्याइनेछ ।


‘संयुक्त राज्य अमेरिकाले जून १० देखि मेक्सिकोबाट देशभित्र भित्रिने सबैखालका सामानमा ५ प्रतिशत कर लगाउने छ’, ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘जबसम्म अवैध आप्रवासीहरुको समस्या समाधान हुँदैन तबसम्म यो दर विस्तारै वृद्धि हुनेछ ।’

बीबीसीका अनुसार ट्रम्पले अमेरिकाको दक्षिणी सीमामा संकट रहेको दाबी गर्दै राष्ट्रिय संकटकालको घोषणा पनि गरेका छन् ।

ट्रम्पको पछिल्लो घोषणालाई लिएर दुई थरी प्रतिक्रियाहरु आइरहेका छन् । सीमा अधिकारीहरुले ट्रम्पले चालेको कदमको स्वागत गरेका छन् भने आलोचकहरुले कदम गलत भएको टिप्पणी गरेका छन् । आलोचकका अनुसार, ट्रम्पको कदमले सीमामा आप्रवासीहरुलाई दुव्र्यवहार हुनेछ ।

उत्तर अमेरिकाका लागि मेक्सिोकोका उच्च कूटनीतिज्ञ जिसस सियाडले ट्रम्पले घोषणा गरेको सीमा शुल्क विनाशकारी हुने प्रतिक्रिया दिएका छन् । ‘यदि ट्रम्पको घोषणा लागू हुन्छ भने हामी त्यसको दृढतापूर्वक प्रतिक्रिया दिनेछौं’, जिससले समाचारदाताहरुसँग भनेका छन् ।

ट्रम्प सुरुदेखि नै मेक्सिकोप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले निर्वाचन अभियानकै क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए । त्यसका लागि उनी स्रोत खोजिरहेका छन् । संघीय कोषको रकम रकमान्तर गर्दै पर्खाल लगाउन उनले फेब्रुअरीमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए । तर, एक न्यायाधीश उनको योजनामा बाधक बनिदिए । न्यायाधीशले उक्त रकम पर्खाल निर्माणमा खर्च गर्न नपाउने फैसला गरेपछि त्यो रोकिएको थियो ।

ट्रम्पको घोषणासँगै कानूनी प्रश्नहरु पनि उठाइएका छन् । तर ह्वाइट हाउसले इन्टरनेशनल इमरजेन्सी इकोनोमिक पावर्स एक्ट कानून प्रयोग गरेर मेक्सिकोको सामानमा कर लगाउने प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?