
३० जेठ, काठमाडौं । ओम अस्पतालमा उपचारका क्रममा सिन्धुपालचोककी रामप्यारी थापाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापर्वाही भन्दै नाराबाजी गरेका छन् ।
तर, अस्पतालले भने थापाको मृत्यु सामान्य अपरेशन गर्दा नभएको जनाएको छ । पहिले नै तीन पटक अपरेशन गरिसकेको पाठेघर भएकाले अपरेशनको जटिलताको बारेमा बिरामी पक्षलाई जानकारी गराएको समेत अस्पतालले बताएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटाले बिरामीको आफन्तलाई जटिलताबारे जानकारी दिएरै अपरेशन सुरु गरेको बताए । उनले भने, ‘डा. रविन कोइरालाले बिरामीको आफन्तलाई सबै कुरा बिफ्रिङ गरेर ६ दिन पहिले अपरेशन सुरु गर्नु भएको थियो ।’
मेडिकल डाइरेक्टर डा. देवकोटाको अनुसार रामप्यारीको पित्त थैली आन्द्रामा जेलिएर बसेको थियो ।
त्यहाँ पहिला अपरेशन गरेको खतहरु पनि थिए । त्यही कारण सामान्य तरिकाले अपरेशन गर्न सकिएको थिएन र ल्याप्रोसकोपिक विधिबाट अपरेशन गरिएर पथ्थरी निकालियो । ल्याप्रोसकोपिक अपरेशन दुरबिनको सहायताले गरिन्छ । ‘अपरेशन गरेर आन्द्राले छोपेको पित्तथैलीलाई निकालियो’ देवकोटाले भने, ‘त्यसपछि कहीँ कतैबाट ब्लडिङ भएको नदेखेपछि सर्जनले अपरेशन सक्नुभयो ।’
देवकोटाकाअनुसार अपरेशन सकेको भोलिपल्टसम्म बिरामीको अवस्था ठिकठाक थियो । झोलिलो खानाहरु खाइरहेकी थिइन् । पर्सिपल्ट बिरामीले पेट दुख्यो भन्न थालिन् । उनी एकाएक कमजोर बन्न पुगिन् । जाँच गर्दा उनलाई निमोनिया देखियो । निमोनियाले सिकिस्त भएपछि आइतबर बिहानै आइसियूमा राखियो । ब्लडिङ र आन्द्रामा घाउ छ छैन भनेर जाँच्नलाई अल्ट्रा साउण्ड र सिटी स्क्यान पनि गरियो । तर, रामप्यारीको अवस्थामा सुधार आएन ।
अवस्था सुधार नभएपछि टाँका खोलेर हेरियो । टाँका खोल्दा आन्द्रामा सानो प्वाल देखियो । त्यसपछि अरु उपचारहरु सुरु भयो । त्यो उपचारले कुनै काम गरेन । शरीरका अंगहरु बिस्तारै फेल हुँदै गए। दुबै मिर्गौलाले काम गर्न छोड्यो । एण्टिबायोटिक र डायलासिसले काम गरेन । आइसियुमै उपचार गर्दा गर्दै उनको मृत्यु भयो ।
देवकोटा भन्छन्, ‘हामीले आफ्नो स्रोत साधनले भ्याएसम्म उहाँलाई बचाउन कोसिस गर्यौं तर, सकेनौं ।’
आफन्त भन्छन्: लापरवाही भयो
मृतकका आफन्त भने अस्पतालको दाबी मान्न तयार छैनन् । अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको दाबी गर्छन् ।
बिरामीका आफन्त खड्ग श्रेष्ठकाअनुसार डा. रविन कोइरालाको नेतृत्वमा गत शुक्रबार उनको अपरेशन भयो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो । शनिबार नै सम्पूर्ण जाँच गर्यो र, आइसियुमा लगियो । श्रेष्ठले भने, ‘अपरेशन गर्दा ध्यान नदिएका कारण यत्रो दिनपछि मृत्यु भयो ।’
अस्पतालले आइतबार मात्र पित्तथैली झिक्दा रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगाएको र त्यही दिन अर्को अपरेशन गरिएको परिवारको दाबी छ । अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याँकिएको डा. कोइरालाले विरामीको आफन्तलाई जानकारी दिए । अप्रेशनपछि उनलाई भेन्टिलेसनमा राखियो ।
वार्ता असफल, मेडिकल काउन्सिलमा उजुरी
अस्पतालको लापरबाही भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेपछि दुई पक्षबीच वार्ता पनि भयो ।
बिरामी पक्षले घटनाबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरे । तर अस्पताल प्रशासनले माग पुरा गर्न इन्कार गरेको छ । लगत्तै मृतकका आफन्त मेडिकल काउन्सिलमा उजुरी दिन गएका छन् ।
प्रतिक्रिया 4