बास्केटबल अचम्मकै खेल छ । तपाईं एकपटक मात्रै कोर्टमा पुगेर एकछिन टिकेर हेर्नुभयो भने अर्कोपटकदेखि नियमित दर्शक बन्नुहुन्छ । त्यसको तिब्रताले आउने रोमाञ्चकताले मानिसहरुलाई दंग पारिदिन्छ । सेकेण्ड सेकेण्डमा जुरुक्क पारिदिन्छ ।
नेपालमा स्कूल र कलेजमा बास्केटबल राम्रै चले पनि त्यसबाहिर धेरै फैलिन भने सकेको छैन । मैले राष्ट्रिय टिममा खेल्न थालेको यो १० वर्षमा केही परिवर्तनहरु आएका छन् तर त्यसले राष्ट्रिय खेलाडीलाई राष्ट्रिय टिममा नै टिकाइराख्न सकेको छैन ।
आँखै अगाडि कति राम्रा खेलाडीहरु विदेशिएको देखेको छु । भर्खरै पनि राष्ट्रिय टिममा पहिलो सेटमा रहेर खेल्ने राम्रा दुई खेलाडी नै विदेशिए । बिक्रम जोशी अमेरिका र अशिम श्रेष्ठ अस्ट्रेलिया पुगे । उनीहरु जस्ता राम्रा खेलाडीलाई नेपालमा नै राख्न सक्ने अवस्था नहुनु दुःखद कुरा हो ।
हुन त अहिले १२ कक्षा पास भएपछि धेरै विद्यार्थीको सपना विदेश जाने हुन्छ । त्यो कुरा कम्तीमा राष्ट्रिय खेलाडीमा नहोस् भन्ने लाग्छ । त्यसको लागि उचित वातावरण बनाउनैपर्छ । त्यति गरेमा मात्रै खेलमा देखिनुपर्ने सुधार देखिने छ ।
यस्तो निराशाबीच पनि मैले आत्मविश्वास मर्न दिएको छैन । निरन्तर लागिरहेको छु । त्यसले केही परिवर्तनहरु पनि भेटेको छु ।
००००
अहिले ‘नेपाल बास्केटबल लिग’ चलिरहेको छ । यो प्रतियोगिताको दोस्रो वर्ष हो । पहिलो वर्ष पनि राम्रै भयो । लामो लिग भएकाले अहिले खेलाडीहरु यसमा व्यस्त छन् । पुरुषको आठ टिम र महिलाको चार टिम सहभागी छन् ।
सबैको आफ्नो आफ्नो होम कोर्ट छ । त्यसले पनि होम एण्ड अवेका आधारमा खेल्दा भिन्न अनुभव सँगै चुनौती पनि बढेको छ । लिग चरणको १४ खेल सकिएपछि उत्कृष्ट ४ टिम प्ले अफ खेल्छन् र दुई टिम फाइनलमा पुग्छन् ।
यही लिग झण्डै दुई महिना खेल्छौं । त्यसले वर्षभरि खेल खेल्न नपाउँदा पनि दुई महिनाको लिगले सजिलो बनाएको छ । लामो लिग भयो भने खेलको स्तर पनि बढ्नेरहेछ । यो पटक आठ जना विदेशी खेलाडीहरु पनि खेलिरहेका छन् । मैले खेल्ने टाइम्स इन्टरनेशनल क्लबमा पनि एक जना श्रीलंकन खेलाडी छन् । यस्ता खेलाडीबाट पनि नेपाली खेलाडीहरुले केही नयाँ सिक्न पाउँछन् ।
गएको वर्ष म आर्मी टिममा थिएँ । घरेलु प्रतियोगितामा आर्मी टिम निकै राम्रो छ । पाँच वर्ष आर्मी टिममा थिएँ । करारमा रहेका खेलाडीलाई धेरै राम्रो नहुने भएपछि यो पटक टाइम्स इन्टरनेशनलमा गएँ । अब टाइम्सबाटै उपाधि जित्ने लक्ष्यमा छौं ।
स्कूल र कलेजस्तरमा मात्रै धेरै देखिने बास्केटबल यो खाले प्रतियोगिताले बाहिरसम्म पुग्छ जस्तो लाग्छ । विशेष गरी सहरी क्षेत्रमा त स्कूल कलेजमा एउटा न एउटा कोर्ट त हुन्छ नै । अरु धेरै खेलहरु त्यसरी सानो ठाउँमा सम्भव नहुने भएकाले पनि कलेजहरुमा बास्केटबल नै राम्ररी चलिरहेको छ । प्रख्यात पनि छ ।
त्यसपछिको लेभलमा भने सोचेअनुसार छैन ।
बास्केटबल हेर्न असाध्यै रमाइलो हुने खेल हो । असाध्यै तीब्र गतिमा खेल चलिरहेको हुन्छ । छिटोछिटो निकै भिन्नता आइरहेको हुन्छ । जसले एकपटक कोर्टमा गएर हेर्छ, उसले बास्केटबल हेर्न थाल्छ । तर पनि बास्केटबल नेपालमा आम दर्शकसम्म पुर्याउन सकिएको छैन । खेलाडीको रुपमा खेल्ने काममा त हामीले गरिरहेका छौं । तर सम्बन्धित ठाउँबाट त्यति योजना र तयारी पुगेको छैन कि जस्तो लाग्छ ।
बास्केटबल खेलमा देखिने दबाव खेल्नेलाई मात्रै होइन हेर्नेलाई पनि हुन्छ । मेरो परिवारलाई पनि म बेलाबेला हेर्न बोलाइरहेको हुन्छु तर, उनीहरु टिकेर त्यो दबाव झेल्न नै सक्दैनन् । सेकेण्ड सेकेण्डमा केही न केही भइरहकै हुन्छ ।
मैले सुरु गर्ने बेला र अहिलेसम्म पनि स्कुल कलेजको बास्केटबलमा त उति फरक केही पनि देखेको छैन । किनभने प्रतियोगिताहरु पनि उति नै छन्, खेलाडी निस्कने पनि त्यही बेलाको जस्तो नै हो । मैले प्लस टु सकेर ओपन लेभलको खेलहरु खेल्न थाल्दा खेलहरु धेरै नै हुन्थे, अहिले त्यति खेलहरु नै हुँदैन ।
प्रतियोगिता वर्षमा एउटा/दुईटा मात्रै भइरहेको छ । कतिपय ओपन लेभलकै खेलहरुमा पनि राष्ट्रिय टिमका खेलाडी खेल्न नपाउने भन्ने नियमहरु हुन्छन् । त्यसले पनि केही प्रतियोगिताहरु छुट्छन् । त्यसले वर्षमा एउटा दुईटा अन्तर्राष्ट्रिय प्रतियोगिता मात्रै खेल्न पाइँदा पनि तयारी नपुग्ने भइरहेको हुन्छ । हामीले आफ्नो खेल, सीप देखाउने ठाउँ पनि राम्ररी पाइरहेका हुँदैनौं ।
०००
म बास्केटलमा लाग्नुमा पनि रमाइलो संयोगहरु छ । मेरो बुबा राष्ट्रिय टिममा नै रहेर फुटबल खेलेको खेलाडी । धिरेन्द्र प्रधानको छोरा भएकैले घरमा खेलकुदको वातावरण सानैदेखि नै पाएँ । बुबाले खेलकुदमा भनेपछि जहिल्यै पनि सहयोग र समर्थन गर्नुभयो । त्यो समयकै अरु बच्चाहरुलाई जस्तो पढ्नै मात्रै पर्छ भन्ने घरमा कहिल्यै भएन । त्यसैले मन लागेजसरी खेल्न पाएँ ।
त्यसैले सुरुमा त मेरो खेल फुटबलबाट नै सुरु भयो । बुबाले पुलिस टिममा फुटबल सिकाउँदा उहाँसँगै अभ्यासमा गएको हुन्थेँ । तर स्कूलका साथीहरुको संगतले बास्केटबलतिर पुगेँ । बास्केटबलमा पुगेपछि त्यसमै रमाइलो लाग्यो । खेल्न थालेको केही दिनमा राम्रो खेल्ने भएरै बास्केटबल नै मेरो खेल बन्यो ।
मैले बास्केटबल नै खेल्नुमा मेरो एउटा साथीको पनि ठूलो देन छ । के भने, स्कूलमा मेरो नर्सरीदेखि मिल्ने साथी नमितबहादुर थापा चार कक्षामा पढ्दा चीन गएको थियो । उताबाट सात कक्षा पढ्ने बेला फर्किएर आउँदा उसले बास्केटबल सिकेर आएकोरहेछ । उसलाई बास्केटल खेल्न मन लाग्दा मलाई पनि सँगै लिएर जान थाल्यो । त्यसले गर्दा मैले पनि खेल्न थालेँ । आठ कक्षामा पढ्ने बेलादेखि त स्कूल टिममा ठाउँ पाएँ । त्यसरी नै पछि कलेज स्तरीय खेलहरु खेल्दै ओपन लेभलका खेलहरुसम्म पुगेँ । अहिले त राष्ट्रिय टिममा नै रहेर खेलिरहेको छु ।
बाबाले पनि सुरुमा मलाई फुटबल खेलाउनै सोचे पनि मेरो मन बास्केटबलतिर देखेर फुटबल नै खेल्नुपर्छ भनेर कर गर्नुभएन । बास्केटबल खेल्न थालेर म स्कूल टिममा पर्दा पनि उहाँ धेरै नै खुशी हुनुभएको थियो । त्यसपछिका हरेक दिन सहयोग गरिरहनुभएको छ ।
हुन त खेल्न सुरु गर्दा खेलाडी नै बन्छु भन्ने थिएन । रमाइलोका लागि नै खेलिरहेको थिएँ । त्यो समय साथीभाइमाझ धेरै चल्ने खेल बास्केटबल नै थियो । त्यसरी नसोचि लागे पनि एकपछि अर्को पाइला बढ्दै खेलाडीकै रुपमा बास्केटबलमा लागेर अहिले खुशी छु ।
००००
२०१० मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा पहिलोपटक बास्केटल पनि समावेश हुने भएपछि २००९ मा राष्ट्रिय टिमको क्याम्पमा बोलाइएको थियो । त्यो क्याम्पपछि म राष्ट्रिय टिममा छनोट भएपछि अब मेरो रुचि अनुसार मेरो भविष्य पनि बास्केटबल नै हो भनेर लागिपरेको थिएँ । त्यसपछि त ‘सिरियस’ रुपमा नै खेलमा ध्यान दिएर लागेँ ।
त्योभन्दा अघि भियतनाममा एसियन इन्डोर गेममा पनि सहभागी भएका थियौँ तर त्यो थ्री अन थ्रीको गेम भएकाले अलि भिन्न थियो ।
सागमा नेपालको प्रतिनिधित्व गर्दाको गर्वको अनुभव त भिन्न नै छ । सम्झँदा अहिलेसम्म पनि खुशी लाग्छ । राष्ट्रिय टिमबाट पहिलोपटक ठूलो प्रतियोगितामा खेलिरहेका थियौँ, त्यसैले खुशी लाग्यो, अनि हामीले सोचेअनुसार नतिजा निकाल्न नसक्दा भने दुःख पनि लाग्यो ।
राष्ट्रिय टिमको जर्सीमा कोर्टमा पस्दा मेरो जीवनकै सबैभन्दा खुशी र गर्वको क्षण नै त्यही थियो । मैले जति पनि मेहनत गरेँ त्यसले मलाई राष्ट्रिय टिममा पुर्याएको छ भन्ने लाग्यो ।
त्यो बेलादेखि अहिलेसम्मका सबै कुरा नै मेरो दिमागमा छापिएर रहेका छन् । त्यसमा पनि हामीले तेस्रो स्थानका लागि भएको खेल गुमाउनु पर्दाको दुःख सबैभन्दा बढी छ ।
हामीले ६ महिना क्याम्पमा बसेर निकै मेहनत गरेका थियौं । भारत र अफगानिस्तान धेरै राम्रो टिम नै भएकाले हामी तेस्रो त पक्का हुनुपर्छ भन्ने थियो । त्यसका लागि मेहनत पर्याप्त नै थियो । सेमिफाइनलमा अफगानिस्तानसँग हार्यौं । तेस्रो स्थानका लागि खेल बंगलादेशसँग थियो । त्यसमा हामी जित्न सक्छौं भन्ने नै थियो ।
त्य
ही खेलमा मेरो टाउकोमा काटेर अप्ठ्यारो स्थिति पनि आइपरेको थियो । डाक्टरहरुले टाँका लगाउनुपर्छ भनिरहेका थिए । तर कोचहरुले मलाई खेल्न सक्छौ भनेर सोध्दा मैले धेरै केही नसोचि सक्छु भनिदिएँ । घाउमा टेप लगाएर खेलेँ पनि । राम्रै भयो । तर जित्न सकेनौं । चौथो भयौं ।
तर मेहनत खेर नजाने रहेछ । त्यो बेलाको हाम्रो मेहनत पनि खेर गएन । २०११ मा दक्षिण एसियाली बास्केटल च्याम्पियनसिपमा भारत दिल्लीमा हामी तेस्रो भयौं । त्यो नेपालका लागि बास्केटबलमा पहिलो पदक थियो ।
२०१३ बाट राष्ट्रिय टिमको कप्तान भएपछि त बास्केटबलका अझ भिन्न स्वरुपहरु पनि देखियो । खेलाडी मात्र हुँदा र कप्तानको जिम्मेवारी लिँदा धेरै नै फरक हुने रहेछ । कप्तान भएपछि दबाव बढी नै भयो । कप्तान नहुँदा मेरा लागि सोचिदिने अरु पनि हुन्छन् । तर कप्तान भएपछि मैले अरुका लागि सोच्नु पर्छ, को खेलाडी कुन अवस्थामा छ भन्ने पनि ख्याल गर्नुपर्छ ।
हामी कोर्टमा जानुभन्दा अगाडि टिमको सबै बसेर कुराकानी गर्छौं । कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं । सेन्टर, पोइन्ट गार्ड, सुटिङ गार्ड, पावर फरवार्ड, स्मल फरवार्ड सबै पोजिसन अनुसार नै खेलाडीहरुको तयारी भइरहेको हुन्छ । पहिलेदेखिको तयारीलाई कोर्टमा छिर्ने बेलामा पनि फेरि सम्झिने काम गर्छौं ।
दिल्लीमा २०११ मा दक्षिण एसियाली बास्केटल च्याम्पियनसिपमा तेस्रो भएपछि बैंग्लोरमा भएको दुईवटा प्रतियोगितामा पनि हामी तेस्रो नै भयौँ । भारतबाहेकका अरु बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, पाकिस्तान सबै टिम नेपाल जस्तो नै हो । प्रतिस्पर्धात्मक नै खेल हुन्छ । त्यसैले हामी दोस्रो हुन सक्छौं कि भन्ने सोच थियो, तर तेस्रो स्थानमा नै रह्यौं ।
००००
भारतलाई जित्ने गरी सोच्न किन नसकेको होला भन्ने लाग्ला । तर खेलको एउटा स्तर हुन्छ, त्योभन्दा बढी अपेक्षा गर्नु पनि हुँदैन । भारतमा राम्रो टिम बन्नुको पछाडि उनीहरुको भूगोल र जनसंख्या पनि जोडिन्छ जस्तो लाग्छ । बास्केटबलमा अर्को महत्वपूर्ण कुरा शारीरिक बनोट पनि हो । भारतीय खेलाडी हाम्रो तुलनामा उचाइमा राम्रो छन् । त्यसले बास्केटबलमा सहयोग राम्रै हुन्छ ।
हुन त उचाइले मात्रै खेल जित्ने पनि होइन, उनीहरुको अरु टेक्निकल कुराहरु पनि राम्रो छ । हामी भन्दा धेरै प्रतियोगिता खेलिरहेका हुन्छन् । राम्रो राम्रो टिमसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन् । हामीले सबैभन्दा राम्रो टिमसँग खेल्न पाएको नै भारत मात्रै हो । त्यसैले राम्रो टिमसँग लगातार जस्तो खेलिरहने हुनाले उनीहरुको खेल राम्रो बन्दै गएको छ । हामी पनि भारतभन्दा राम्रो टिमसँग खेल्न पाउने हो भने भारतसँग राम्रो प्रतिस्पर्धा गर्न सक्छौँ जस्तो लाग्छ । तर अवसर पाएका छैनौँ ।
नेपालमा खेलाडीको कमी छैन । राष्ट्रिय टिमभन्दा बाहिर रहेका पनि धेरै खेलाडी राम्रा छन् । तर अवसर भने पाएका छैनन् । अवसर भन्दा अझ ठूलो कुरा त अभिप्रेरणा नै पाएका छैनन् । हामी जो जति खेलिरहेका छौँ आत्मविश्वासको भरमा मात्रै खेलिरहेका छौँ । घरबाट हुने सहयोगमा मात्रै खेलिरहेका छौँ ।
मैले आँखै अगाडि कति राम्रा खेलाडीहरु विदेशिएको देखेको छु । भर्खरै पनि राष्ट्रिय टिममा पहिलो सेटमा रहेर खेल्ने राम्रा दुई खेलाडी नै विदेशिए । बिक्रम जोशी अमेरिका र अशिम श्रेष्ठ अस्ट्रेलिया गयो । उनीहरु जस्ता राम्रा खेलाडीलाई नेपालमा नै राख्न सक्ने अवस्था नहुनु दुःखद कुरा नै हो । हाम्रो खेलकुद परिषद, हाम्रो संघले यो कुरामा विचार गरोस् भन्ने लाग्छ ।
मलाई स्वयम त्यस्तो निराशा नआए पनि धेरै खेलाडीहरुमा त्यस्तो निराशा देखेको छु । मलाई परिवारको सहयोग र मेरो आत्मविश्वासले नै अरु केही कुरा नसोचि बास्केटबलमा लागिरहन सहयोग भएको छ । होइन भने त खेलेर मात्र बाँच्न गाह्रो नै छ । अझ बाहिर जिल्लाबाट आएर खेल्ने खेलाडीलाई त मुस्किल नै हुन्छ । अहिले स्कूल कलेजमा विकास भएको बास्केटबलले जागिर पाउन अप्ठ्यारो भने छैन । मैले पनि साना खेलाडीहरुलाई बास्केटबल सिकाउने काम पनि गरिरहेको छु ।
बास्केटबलबाट केही हुँदैन कि भनेर आएका निराशा पनि ममा धेरै समय टिक्दैन । बिहान त्यस्तो सोचे भने बेलुका खेल्न निस्कँदासम्म बिर्सिसकेको हुन्छु र खेलमा नै भुल्छु ।
यस्तै कुराहरुले नै बंगलादेशमा पाँच वर्ष लिग खेल्न पनि गएँ । बाहिरका अरु टिमहरुलाई हेर्न पाएँ । नयाँ कुराहरु सिक्न पाएँ । त्यो कुरा राष्ट्रिय टिममा आएर प्रयोग गर्न पाएँ ।
०००
अब अर्को एउटा घटना पनि सुनाउँछु, पहिले अनौठो पछि दुःखद बनेको अवस्था । हामी २०१६ मा भारत गुवाहटी र सिलोङमा हुने १२ औँ दक्षिण एसियाली खेलकुदको तयारीमा थियौं ।
त्यसैका लागि हामी बैंककमा अभ्यास गरिरहेका थियौँ । दुई महिने अभ्यासको दौरानबीचमा तीन दिन बिदा लिएर नेपाल आएर बिहे गरेर फर्किएको थिएँ । अहिले सम्झँदा पनि अचम्म लाग्छ, कसरी सबै कुरा हतारमा भएको थियो ।
परम्पराअनुरुप साइत हेराउँदा त्यही बेला नै निस्किएछ । अब गुरुज्यूले निकालेको साइतभन्दा दायाँबायाँ गर्ने कुरा पनि भएन । त्यसैले प्रशिक्षकलाई मनाएर अभ्यासको तीन दिन नेपाल आएर बिहे गरेर गएँ । बिहेको कामको दुई दिन त दुलाहा नै बाहिर थियो । हुन पनि अचम्म नै भयो । बुबा पनि आफ्नो बिहे त्यसरी नै हतारमा भएको सुनाइरहनुहुन्थ्यो । मेरो पनि उही भयो ।
यो त भयो बिहेको कुरा । त्यसरी चार महिना नेपालमा र दुई महिना बैंककमा गएर गरेको अभ्यास । व्यक्तिगत रुपमा त मैले हतारमा गरेको बिहे । त्यस्तो दुःख गरेर गरेको अभ्यासपछि हामी गोवाहटीमा गयौं । तर दक्षिण एसियाली खेलकुदबाट बास्केटबल नै अन्तिम समयमा स्थगित भयो । त्यत्रो तयारी गरेर बलियो मनस्थितिमा खेलका लागि गएका हामी खेल नै स्थगित भएपछि साह्रै दुःखी भयौं । सबै कुरा खेर गयो ।
भारतमा रहेको दुईवटा बास्केटल संघका कारण देखिएको विवादपछि खेल स्थगित भएको रहेछ । विवादकै कारण फिबा (इन्टरनेशनल बास्केटबल फेडेरेसन) ले नै सहभागिता नगर्नु भनेर सबैलाई अन्तिम समयमा रोकिदिएको थियो । २३ वटा खेलमा बास्केटबल नै स्थगित भएर हामी यसै फर्कनु पर्दा कस्तो भयो भन्ने त ब्याख्या गरेर पनि सकिँदैन । यसैले अब नेपालमा नै हुने १३ औँ दक्षिण एसियाली खेलकुदमा राम्रो गरेर सबै कुरा बिर्साउनु छ ।
१ देखि १० सम्म पुग्न बिचमा अरु अंकहरु पनि हुन्छन् । त्यसैले हामी विस्तारै १० सम्म बढिरहेका छौं जस्तो लाग्छ । एकदिन त्यो उचाइमा नेपाली बास्केटबल अवश्य पुग्ने छ ।
प्रस्तुति – ऋग्वेद शर्मा
तस्वीर : शंकर गिरी
(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’ को ४१ औं अंकमा यो हप्ता राष्ट्रिय बास्केटबल टिमका कप्तान सधिश प्रधानको कथा प्रस्तुत गरिएको हो ।)
प्रतिक्रिया 4