
८ असार, पोखरा । पोखरा महानगरपालिकाले सडकमा पार्किङ र जाम घटाउन आकासे पुल र बहुतले पार्किङको व्यवस्था गर्ने भएको छ । सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा यसै वर्ष आकाशे पुल निर्माण गर्ने योजना महानगरको छ ।
ओभरहेड र सबवे संरचना निर्माण अगाडि बढाउने र सहरी क्षेत्रका मुख्य बजारमा बहुतला पार्किङ निर्माण गर्न पहल गर्ने नीति महानगरले लिएको छ । महानगरले आइतबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पार्किङ व्यवस्थापन प्रभावकारी बनाउने बताएको हो ।
पोखरामा अहिले ट्राफिक जाम र पार्किङको ठूलो समस्या छ । सडक छेउका पार्किङ निरुत्साहित गर्दै खाली जग्गालाई सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार व्यवसायिक पार्किङ निर्माण गरिने मेयर मानबहादुर जिसीले बताए ।
उपयुक्त स्थान पहिचान गरी अटो भिलेज निर्माण गर्ने र पार्किङ बनाएर मात्र नक्सापास स्वीकृति गर्ने नीति पोखरा महानगरले लिएको छ । पोखराका मुख्य १४ वटा सडकको छेउछाउ अनिवार्य रुपमा अन्डरग्राउन्ड पार्किङ बनाएर मात्र नक्शापास स्वीकृति प्रदान गर्ने नीति लिइएको मेयर जिसीले बताए ।
कुनै व्यक्ति, संघ संस्थाहरुले आफ्नै लगानीमा पार्किङ भवन वा पार्किङस्थल निर्माण गर्न चाहेमा त्यस्ता भवनहरुको नक्शापास दस्तुर मिनाहा गर्ने महानगरपालिकाले बताएको छ ।
सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर कायम गरेर ई–टिकेटिङ लागू गरी मेट्रो कार्ड मार्फत् भाडा बुझाउन मिल्ने गरी बनाइने मेयर जिसीको भनाइ छ । सहरका मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक र सिर्जनाचोकमा ट्राफिक लाइट राखिने भएको छ ।
‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइने महानगरले बताएको छ ।
सेती गर्जलाई साहासिक पर्यटन पूर्वाधारको रुपमा विकास गर्ने योजना महानगरले ल्याएको छ । महानगरपालिकाले पातलो छाँगोमा सिसाको पुल निर्माण गर्ने र सराङकोटमा पर्यटन पूर्वाधार निर्माण गर्ने नीति पनि बनाएको छ ।
औद्योगिक क्षेत्र र वैकल्पिक ल्याण्डफिलको स्थापना
महानगरभित्रका सडक २ वर्षभित्रमा नमुना बनाउन महागरपालिकाले मेयर नमुना पूर्वाधार योजना कार्यक्रम घोषणा गरेको छ । त्यस्तै लामे आहालमा प्रदेश सरकारसँगको सहकार्यमा आधुनिक बसपार्क बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पोखरा महानगरपालिका ३३ स्थित तल्लोपुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने महानगरको योजना छ । महानगरपालिकाका कर्मचारीलाई वर्षमा एक पटक खर्च सुविधा सहितको अनिवार्य भ्रमण बिदा दिने पनि महानगरपालिकाले जनाएको छ ।
सबै तालमा पैदलमार्ग
पोखरा महानगरले ९ वटै तालको वरिपरी पैदल मार्ग निर्माण गर्ने भएको छ । सबै तालको अतिक्रमण रोकी सौन्दर्यीकरणका लागि प्रदलमार्ग बनाउने नीति महानगरले लिएको छ ।
फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि सिल्ट्रेसन ड्याम निर्माण यस वर्षभित्र सक्ने महानगरको योजना छ ।
शान्तिवन बाटिकालाई बोटानिकल गार्डेनमा रुपमा विकास गर्ने, सुन्दरीडाँडास्थित पचभंया सामुदायिक वनक्षेत्रलाई जैविक विविधता संरक्षण केन्द्रको रुपमा विकास गर्ने महानगरपालिकाले बताएको छ ।
एकीकृत जग्गा विकास योजना तयार पारी स्विकृति नलिएसम्म कित्ताकाट र नक्सापास तथा अन्य भौतिक संरचनाको निर्माणको सिफारिस तथा स्विकृति रोक्का राख्ने नीतिपोखराले लिएको छ महानगरले कृषि क्लब गठन गरी ‘एक हप्ता एक दिन खेतबारीमा केही छिन’ अभियान मार्फत श्रमको वातावरण तयार गर्ने बताएको छ ।
खेल परिषद र प्रज्ञा प्रतिष्ठान गठन
महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन हुने भएको छ । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्ने महानगरका मेयर जिसीले योजना राखे ।
‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने महानगरले कार्यक्रम ल्याएको छ ।
पोखरा महानगरपालिकाले पनि प्रज्ञा प्रतिष्ठान गठन गर्ने नीति लिएको छ । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै महानगरीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने मेयर जिसीले बताए ।
प्रतिक्रिया 4