
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् । तर, उनले आफूले गरेको राम्रा कामको चर्चा नगरिदिए पनि हुने बताए ।
श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’
सत्ता पक्ष र प्रतिपक्ष मिलेर देश विकासमा लाग्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले भने, ‘स्वभाविक हो, अहिले कोही सत्तापक्ष छ, कोही प्रतिपक्षमा छ । छलफल गरौं । देश विकासको काममा सँगै जाऔं ।’
जो सत्तामा आए पनि उसले गरिबीसँग जुध्नैपर्ने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे ।
परम्परागत कृषि र शिक्षा प्रणाली परिवर्तनमा जोड
रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि जीवनउपयोगी शिक्षा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । साथै कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नैपर्नेमा उनले जोड दिए ।
‘कृषि प्रणाली पुरानो छ । बारीमा करेला फल्छ, अदुवा फल्छ तर आफूले खाएर बढी भएको बजारमा लैजान सक्ने अवस्था छैन । चार बोट सुन्तला लगाएर विदेश निर्यात गर्न सकिँदैन । अब कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ ।’
उनले भने, ‘सम्मानजनक काम र न्युनतम पारिश्रमिकको व्यवस्था गरियो भने देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ । शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने थलो भएको छ । शैक्षिक प्रमाणपत्र समस्या होइन, समाधान बन्नुपर्छ । शिक्षा प्रणालीलाई जीवनपयोगी बनाउनुपर्छ ।’
‘चर्चा भएजस्तो बेरोजगारी छैन’
देशको विकास गर्न काम गर्नुपर्ने, तर काम गर्ने इमान्दार नेपाली जनशक्ति विदेश जाने गरेको उनले बताए । स्वदेशमै अवसर हुँदाहुँदै पनि नेपालीहरु विदेशिने गरेको उनको भनाइ छ । ‘नेपालीहरु काम गर्न रुचि राख्छन्, इमान्दार छन्, त्यही भएर विदेशी रोजगारदाताले पनि बोलाउँछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले दुईटा कुरा मिलेको छैन- विकास गर्नलाई काम गर्नुपर्छ, त्यसको लागि काम छैन, जब हामी काम गर्न लाग्छौं, तब जनशक्ति हुँदैन ।’
प्रधानमन्त्री ओलीले अहिले चर्चा भएजस्तो बेरोजगारीको अवस्था नरहेको दाबीसमेत गरे । ‘अहिले युवा जनसंख्याको बाहुल्य छ । बेरोजगारको जुन चर्चा छ, त्यो वास्तविक होइन । जमिन छ तर बाँझै छ, काम गर्ने मान्छे पनि छ, तर मान्छेले काम गर्दैन,’ उनले भने ।
‘अमेरिका पत्ता लगाएको देखेर चाँगुनारायण मुस्कुरायो’
नेपालमा सम्भावना धेरै भएको चर्चा प्रधानमन्त्री ओलीले गरे । चाँगुनारायण मन्दिरको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा पुरानो मन्दिर खोज्न नेपालमै आउनुपर्छ । चाँगुनारायण १८ सय वर्षदेखि डाँडामा बसेर हेरिराछ, पेरिस कसरी उठ्यो भन्ने पनि यसले हेर्यो, लण्डन कसरी उठ्यो भन्ने पनि यसले हेर्यो । कोलम्बसले कसरी अमेरिका पत्ता लगाए भनेर हेरेर पनि चाँगुनारायण मुस्कारायो । यो हाम्रो सम्पदा हो, यो हाम्रो सम्पत्ति हो ।’
उनले भने, ‘हामीले हिमालय क्षेत्रको पानीलाई साँच्चिकै मिनरल वाटर बनाएर बेच्न सक्छौं । यार्सा खाँदै हुर्किएको चौरीको दूध बेच्न सक्छौं, यार्सा खाँदै हुर्किएको च्यांग्राको मासु बेच्न सक्छौं ।’
प्रतिक्रिया 4