+
+

रौतहटको घटनाले झस्कियो बीमा क्षेत्र, नीति बदल्न सुझाव

रोयल आचार्य रोयल आचार्य
२०७६ असार २० गते १७:५६

२० असार, काठमाडौं । गत १६ गते राति रौतहटको मौलापुर नगरपालिका-६, पथरा बुधरामकी ४ वर्षीया बालिका लक्ष्मीकुमारी यादव घरबाटै हराइन् । बेलुकी साँझ परिवारसँगै खाना खाएर सुतेकी उनको भोलिपल्ट नजिकैको पोखरीमा शव भेटियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार अनुसन्धानका क्रममा आफ्नै बावुले हत्या गरेको देखिन आयो । बावु रामकिशोर यादवको शंकास्पद गतिविधि देखिएपछि १८ गते पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गर्‍याे ।

‘अनुसन्धानपछि पुष्टि भयो, बुवाले नै छोरी लक्ष्मीको हत्या गरेका रहेछन्,’ डीएसपी कार्कीले भने । यादवलाई बिहीबार ५ दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको छ ।

आखिर किन आफ्नै बालिका छोरीको ज्यान लिए त बाबुले ? प्रहरीका अनुसार यसमा आर्थिक लाभको लोभ देखिएको छ । यादवले एक महिना अघि मात्रै छोरी लक्ष्मीको २५ लाख रुपैयाँको जीवन बीमा गरिदिएका थिए ।

जेठ १९ गते स्थानीय अभिकर्तामार्फत प्रभु लाइफ इन्स्योरेन्समा २५ लाख रुपैयाँको छोरीको बीमा गराएका उनले एक महिना पनि नवित्दै हत्या गरेका हुन् ।

डीएसपी कार्की भन्छन्, ‘यादवले जीवन बीमा रकम पाउने लोभमा छोरीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।’

यादवलाई छोरीको जीवन बीमा गरेपछि ज्यान तलमाथि भए क्षतिपूर्ति पाइने अभिकर्ताले बताएका थिए । कसैगरी छोरीको मृत्यु भए २५ लाख रुपैयाँको दोब्बर रकम पाउने बुझेपछि यादवले सबैभन्दा कान्छी छोरीको बीमा गरेका थिए ।

प्रहरीका अनुसार यादवका ५ जना सन्तानहरु छन् । जसमध्ये जेठी छोरीको बिवाह भइसकेको छ भने बाँकी ४ जना सानै छन् ।

मुलुकमा सशस्त्र युद्ध चर्किरहेका बेला यादव तत्कालीन मादोवादीमा लागे । पछि उनी जेल परेका थिए । डीएसपी कार्कीका अनुसार यादव २०५८ साल यता पटकपटक गरेर ३ पटक जेल परेका छन् ।

आर्थिक स्थिति एकदमै कमजोर रहेको यादव परिवारको गुजारा खेतिपातिबाट मुश्किलले चल्दै आएको थियो । यही संकट टार्न उनले उनले छोरीको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बीमाको लागि हत्या गरिएको घटना नेपालमा पहिलोपटक घटेको प्रहरी बताउँछ । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार यसअघि बीमा रकम पाउनकै लागि सन्तानको हत्या गरिएको रेकर्ड बीमा समितिमा छैन । उनी भन्छन्, ‘भारतमा यस्ता घटनाहरु घटेका धेरै सुनिन्थे, नेपालमा पहिलो पटक हो ।’

यो घटनाले बीमा क्षेत्रमा एउटा नयाँ त्रास सिर्जना भएको छ । यसले बीमाप्रति नै नकारात्मक बुझाइ हुने हो चिन्ता देखिएको पौडेल बताउँछन् ।

‘काल’ पल्कने डर भयो, नीति फेरौं’

बीमा कम्पनीका नेपालकै पहिलो सीईओ रमेशकुमार भट्टराईले बीमा रकमका लागि लागि छोरीको हत्या हुनु गम्भीर विषय भएको भन्दै यसमा नियमनकारी निकाय सचेत हुनुपर्ने बताए । विद्यमान नीतिलाई नै तत्काल परिमार्जन गर्नुपर्ने उनको ध्यानाकर्षण छ ।

‘बुढी मरी भन्दा पनि काल पल्किने डर भयो’ भन्ने उखानको स्मरण गर्दै उनले भने, ‘आज एउटा व्यक्तिले आफ्नो छोरीको हत्या गर्‍यो, भोलि यस्तो घटना नदोहोरिएला भन्न सकिदैन । त्यसैले यसलाई रोक्न नीति परिवर्तन गर्नुपर्छ ।’

भारतमा १० वर्षअघि यस्तै समस्या सिर्जना भएपछि नीति परिवर्तन गरेर छोराछोरीको मृत्यु हुँदा पैसा नपाउने बनाइएको उनले बताए । ‘विगतमा भारतमा बालहत्या अत्यधिक बढ्यो, पछि थाहा भयो बीमाका कारण रहेछ’ भट्टराई भन्छन्, ‘त्यसपछि भारतमा त्यो नीति नै परिवर्तन भयो ।’

बुवाआमाको मृत्यु भएपछि पैसा दिने नीति ठिकै भए पनि बालवालिकाको हकमा जिवित छँदा हेरचाह हुने किसिमको नीति लिनुपर्ने उनले बताए ।

अब के गर्छ बीमा समितिले ?

मुलुकमा हाल ३९ वटा बीमा कम्पनीहरु छन् । जसमध्ये १९ वटा जीवन बीमा कम्पनी हुन् । यी सबैको नियमनकारी निकाय बीमा समिति हो । बीमा दावी भुक्तानी लगायतका सम्बन्धमा कुनै उजुरी परे न्याय दिलाउने निकाय पनि बीमा समिति नै हो ।

अब यो विषयमा बीमा समितिले के गर्ला ? बुवा त जेलमा परे, आमाले मृत्यु दावी गरेर रकम पाउँछिन् कि ? यस विषयमा बीमा समितिले पाउने सम्भावना नरहेको बताएको छ ।

बीमा रकम पाउनकै लागि हत्या भएका कारण भुक्तानी दिन नसकिने कानूनी व्यवस्था रहेको बीमा समितिले जनाएको छ । नीति परिमार्जनका विषयमा भने सोच्न आवश्यक रहेको बीमा समितिका निमित्त कार्यकारी निर्देशक पौडेलले बताए ।

उनले भने, ‘पहिलोपटक गम्भीर प्रकृतिको घटना बाहिर, आयो यस विषयमा हामी पनि गम्भीर छौं ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?