
९ साउन, कञ्चनपुर । गर्मीले कञ्चनपुर हपक्क छ । हामी निर्मला पन्तको घरमा पुग्दा दिउँसो यो घर सुनसान देखिन्छ । निर्मलाका दुई दिदीबहिनी दिउँसै गेटमा ताल्चा लगाएर घरभित्र बस्छन् । तीनजना महिला बस्ने यो घरलाई त्रासले छाडेको छैन ।
दिउँसोको समय निर्मलाकी आमा दुर्गादेवी प्रायः भीमदत्त नगरपालिकाको महिला तथा वालवालिका शाखामा भेटिन्छिन् । हामीले उनलाई त्यहीँ भेट्यौँ । उनी कार्यालयको कर बुझाउनका लागि बैंक गएर फर्किएकी थिइन् । उनले बैंक भौचर र हिसाव-किताव अफिसलाई बुझाइन् । र, घरतर्फ लागिन् ।
घरसम्म पुग्नका लागि दूर्गादेवीसँग साधन साइकल छ । उनलाई साइकल छुँदा निर्मलाको झल्को आउँछ । बाटोमै पर्छ, निर्मलाको शव भेटिएको उखुबारी । उनी त्यसलाई पनि पार गर्दै करिव २५ मिनेट पाइडल मारेपछि उल्टाखामको घरमा पुग्छिन् ।
घरका ढोका बन्द छन्, सुनसान छ । तर, घरभित्र निर्मलाकी दिदी र बहिनी छन् भन्ने बाहिर रहेका दुईजोर चप्पलले जनाऊ दिन्छन् ।
दुर्गादेवीले ढोका उघारिन् र प्लास्टिकको नीलो कुर्सी निकालिन् । आजभोलि उनलाई कसैसँग कुरा गर्नै मन छैन । निर्मलालाई सम्झँदा उनी भक्कानिन्छिन् । एक वर्ष भयो उनको मुहारबाट हाँसो, जीवनबाट चैन, आँतबाट भोक र जीवनबाट सपना हराएको ।
यो पनि पढ्नुस्–‘पुलिस बन्छु भन्थ्यो, पुलिसकै गोलीले मर्यो’
दुर्गादेवी चिया पकाउन भान्सा कोठामा पसिन् । तर, चिया पकाउँदा पकाउँदै उनी भक्कानिइन् । भान्सा कोठा देख्दा उनलाई छोरीको याद आउँछ । भन्छिन्, ‘कहिले झुक्किएर तीनवटा थालमा भात पस्किन्छु, दुई छोरीमात्र देखेपछि झस्किन्छु ।’
प्रतिक्रिया 4