
३ अंकको महत्व तपाईंका लागि कति छ ? सायद प्रश्नले अल्मलिनुभयो होला । म प्रष्ट्याउँछु नि ।
सम्भवतः अरुलाई भन्दा हामी खेलाडीलाई अंकहरुको बढि महत्व छ । यही ३ अंकले हो, मलाई आफ्नो अघिल्लो सागमा तेक्वान्दोको स्वर्णबाट वञ्चित तुल्याएको । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै फाइनलमा पुग्दाको खुसी तर, जितको नजिक पुगेर पनि त्यही तीन अंकले स्वर्ण गुमाउँदाको पीडा । यो दुवै अनुभूति अहिले पनि मेरो मनभित्र ताजा छ ।
मैले राष्ट्रिय च्याम्पियनलाई हराएको छु । लगातार च्याम्पियन भएको छु तर त्यो पीडा भुल्न सकेको छैन । किनकी देशका लागि स्वर्ण जित्नुको महत्व अथाह छ । यो स्वर्णको भोक अबको १३ औं सागमा पूरा गर्न आतुर छु ।
यही अर्जुनदृष्टिका साथ विहान–बेलुका म्याटमा उफ्रिरहेको छु । किक हानिरहेको छु, खाइरहेको छु । दूरमा रहेका आमा बाबाट टाढिएर तेक्वान्दोमा भुलिरहेको छु ।
००००
सुरुमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताकै प्रसंग सुनाउँछु, जसमा मैले खुसी र पीडा एकसाथ महसुस गरेँ ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । राष्ट्रिय स्तरमा राम्रै खेलिरहेको थिएँ, एक्कासी सागको टिममा परेँ । गुवाहटीमा भएको खेलअगाडि नै टाइसिट हात पर्यो, पहिलो प्रतिस्पर्धा श्रीलंकाका खेलाडीसँग थियो ।
पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको मेरो मनमा थोरै डर, धेरै उत्साह थियो । नहोस् पनि किन सिंगै देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु चानचुने कुरा हो र ? यो त मैले वर्षौंदेखि मनभित्र सजाएको सपना पूरा भएको क्षण थियो नि । त्यसैले एरिनामा उत्रिँदा पनि जित्नुपर्छ भन्नेबाहेक केही सोचेको थिइनँ ।
प्रशिक्षकमा दीपक गुरु हुनुहुन्थ्यो । प्रशिक्षणका बेलामा मात्र होइन, एरिनामा जानुअघिका अन्तिम मिनेटहरुमा पनि उहाँले हौसला दिइरहनुभयो । यस्तो हुन्छ, यसरी खेल भनेर भन्नुभयो । प्रतिद्वन्द्वीसँग आमनेसामने भएपछि गुरुले भनेको जस्तै उनलाई बझ्न कोसिस गरेँ । यसरी हान्छु भन्ने योजना बनाएँ । एक–दुई किक हान्नासाथ आत्मविश्वास बढ्यो । संघर्षपूर्ण प्रतिस्पर्धामा पहिलो अन्तर्राष्ट्रिय फाइट जितेँ ।
दोस्रो खेल भुटानका खेलाडीसँग थियो । उ मभन्दा सानो ज्यानको थियो । उसलाई देख्नासाथ सजिलै हराउँछु भन्ने लाग्यो । त्यस्तै भयो । जित्न गाह्रो भएन ।
फाइनलमा भने अफगानिस्तानका अहमद बाखसीसँग खेल्नुपर्ने भयो । उनी मभन्दा निकै अनुभवी थिए । तर मभित्र पनि जोश कम्ती थिएन ।
तेस्रो तथा अन्तिम राउण्डसम्म जित्छु भन्ने नै थियो । पेलेर हुन्छ कि किक हानेर हुन्छ, हराउँछु भन्ने विश्वासका साथ खेलेको थिएँ । हातको चोट भुलेर खेलेको पनि हो । तर १२–९ को स्कोरमा खेल सकियो । मात्र तीन अंकले हार्न पुगेँ । अहो ! अलिक दिमाग लगाएको भए स्वर्ण पदक जित्न सक्थेँ कि भन्ने लाग्यो । अझ मेडल प्रदान गर्ने बेला स्वर्ण जित्ने अहमद बाखसी आफूभन्दा अग्लो स्थानमा बस्दा, उनको देशको झण्डा अग्लो राखिँदा निकै पीडा हुँदोरहेछ । जुन मैले पनि भोगेँ ।
अहिले विगतमा फर्किएर त्यो खेल सम्झँदा बढी आत्मविश्वासी भएँ कि जस्तो लाग्छ । त्यो बेला मैले टाइमिङमा पनि ध्यान दिएको भए या स्कोर कसरी बढाउने भन्ने सोचेको भए सायद स्वर्ण पदक नै जित्नेरहेछु जस्तो लाग्छ ।
०००
हुन पनि मैले बाखसीलाई अस्ती (भदौ २०७५) इन्डोनेसियामा हराएँ । १८ औं एसियाली खेलकुदमा ६३ केजीमुनिको तौल समूहमा उनी मसँग आमनेसामने भएका थिए ।
उनी प्रतिद्वन्द्वी हुन् भन्ने थाहा पाएदेखि नै सागको बदला लिन्छु भन्ने लागेको थियो । नभन्दै मैले सजिलै जितेँ । २४–१३ को राम्रो स्कोरमा उनलाई हराएँ ।
योपटक एरियामा उत्रिँदा पहिलेको हार सम्झेर नर्भस पटक्कै भइँन । बरु सागमा स्वर्ण गुमाउँदाको पीडाले गर्दा म घाइते बाघ जस्तो भएको थिएँ । ममा आक्रामकता बढी थियो । पहिलो राउन्डमै १३–४ को अग्रता बनाएँ र त्यसकै बलमा जितेँ । त्यतिबेला मेरो खुशीको सीमा थिएन ।
प्रि–क्वार्टरफाइनलमा भने काजकिस्तानका काजिबेव बख्तयारुलीसँग ३०–१९ ले हार्न पुगेँ । पहिलो राउण्डमा स्कोर ४/४ थियो तर, दोस्रो र तेस्रोमा उनले बाजी मारे ।
मलाई के लाग्छ भने क्षमतामा हामी र अरु खेलाडीमा ठूलो अन्तर छैन । तर, उनीहरु अनुभवमा हामीभन्दा खारिएका हुन्छन् । उनीहरु निरन्तर खेलिरहेका हुन्छन् । हामीले भने वर्षमा मुस्किलले एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछौं । यसले गर्दा हाम्रो र उनीहरुको खेलस्तरमा फरक आउँछ ।
०००
तेक्वान्दोमा मैले विश्व च्याम्पियनसँग भिड्ने अवसर पनि पाएँ । यसमा पनि केही रमाइला क्षण छन् ।
यो विश्व च्याम्पियनसिप २०१९ को कुरा हो । टाइसिट हेरेपछि गुरुले ‘वर्ल्ड च्याम्पियसँग खेल्ने भइस’ मात्र भन्नुभयो । कसरी यस्तो भयो भन्ने लाग्यो ।
मेरो पहिलो खेल सोमालियाका खेलाडीसँग रहेछ । उनलाई मैले जितेँ । दोस्रो खेल दक्षिण कोरियाका लि डे हुनसित थियो । उनी मेरो तौल समूह ६८ केजीमुनीका २०१७ का स्वर्ण विजेता थिए । लो, मैले उनैसँग भिड्नुपर्ने भयो ।
नढाँटी भन्दा एरिनामा उत्रिँदा नै म डरले काँपेको थिएँ । हार्छु भन्ने लागिसकेको थियो । यद्यपि, पूरै राउण्ड डटेर खेले । २५–५ को स्कोरमा हारेँ । उसले हानेको स्कोर भइरहेको थियो भने मैले हान्दा ब्लक भइरहेको थियो । पछि म कहाँ चुकेछु भनेर आफ्नै भिडियो हेरेँ । सायद विश्व च्याम्पियनसँग खेल्दा मेरो अनुभव नै पुगेन । टेक्निकल पार्टमा पनि राम्रो भएन जस्तो लाग्यो ।
मलाई पराजित गरेका हुन सेमिफाइनलमा भने एउटा नयाँ खेलाडीसँग हारे । मैले उनीहरुको खेलको भिडियो पनि हेरेँ । त्यसपछि भने मैले पनि अझ मिहिनेत गरेको भए राम्रो अंक बटुल्ने रहेछु जस्तो भयो ।
मैले विश्व नम्बर एक खेलाडीसँग खेल्न पाएको पनि संयोगले मात्र हो । खासमा मैले ६३ केजी तौल समूहमा खेल्नुपर्ने थियो । नेपालमा ओलम्पिक कमिटीले गरेको छनोटमा ६८ मा नाम लेखिएछ र त्यही गयो । त्यही कारण संयोगले विश्व नम्बर वानसँग एरिनामा भिड्न पाए, त्यसमै खुुसी छु ।
०००
कञ्चनपुरको एउटा सामान्य परिवारमा पाँच दिदी र एक दाइभन्दा मुनि बाआमाको कान्छो छोराका रुपमा म जन्मिएको हुँ । गाउँले परिवेशमा हुर्केँँ । सानोमा मोजाको बल खेलिन्थ्यो ।
स्कुल जाने, घरको काममा सघाउने र साथीभाइसँग खेलेर दिन बिताइरहेको थिएँ । त्यही बेला दीपेन्द्र शिवाकोटी सरले गाउँमा तेक्वान्दो खेल सिकाउन थाल्नुभयो । मेरो हाइट राम्रो थियो । त्यही कारण मलाई पनि तेक्वान्दो खेल्न प्रेरित गर्नुभयो । उहाँ घरमै आएर बाआमालाई पनि फकाउनुभयो ।
यसरी मेरो तेक्वान्दो सुरु भयो । त्यसबेला त्यस्तै १०–११ वर्षको थिएँ होला ।
स्कुलको प्राङ्गणमा तेक्वान्दो सिक्न थाल्यौं । तर मेरा लागि यो रमाइलो बाहेक केही थिएन । सन् २००८ मा दीपक (विष्ट) गुरुले ओलम्पिक खेल्दा तेक्वान्दोको राम्रै चर्चा भयो । ओहो ! तेक्वान्दो खेल्दा नाम पनि कमाइनेरहेछ भन्ने लाग्यो ।
रइमालोका लागि खेल्दाखेल्दै जिल्ला, क्षेत्र हुँदै पाँचौं राष्ट्रिय खेलकुदमा छनोट भएँ । त्यसबेला म ग्रीन बेल्टमा थिए । छैटौं राष्ट्रिय खेलकुद पनि खेलेँ । तर तेक्वान्दो ‘खेलाडी’ नै हुनुमा भने पोखरामा जुरेको रमाइलो संयोग छ ।
छैटौं राष्ट्रियपछि पोखरामा राष्ट्रिय तेक्वान्दो भएको थियो । मैले ६३ केजी तौल समूहमा सुदूरपश्चिमबाटै खेलेँ । पोखरामा मैले त्रिभुवन आर्मीका रोहित तामाङ, जो राष्ट्रिय च्याम्पियन समेत हुनुहुन्थ्यो, उहाँलाई नै हराएँ । म समेत अचम्ममा परेको थिएँ कि कसरी हराएँ भनेर । यो जीत नै मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
पुलिसका प्रशिक्षक लक्ष्मण ऐरले मेरो खेल हेर्नु भएको रहेछ । यो केटालाई ट्रेनिङ दियो भने राम्रो गर्छ भन्ने लागेछ । त्यसैले मलाई प्रतियोगितापछि सम्पर्क गर्नू भन्नुभयो ।
२०७० सालमा नेपाल पुलिसमा भर्ना खुल्यो । म पनि भर्ति भएँ । ९ महिने तालिम पूरा गरेँ । तालिमपछि भने ड्युटीमा जानु परेन । लक्ष्मण सरले क्लबमा लैजानु भयो र नियमित तेक्वान्दो खेल्न थालेँ । पुलिस क्लबमा आएपछि मात्रै थाहा पाएँ कि नाम कमाउन कति दुःख र संघर्ष गर्नु पर्छ भनेर ।
पुलिसबाट सातौं कोरियन एम्बेस्डर खेलेँ । पहिलो प्रतियोगितामा नै स्वर्ण पदक जित्न सफल भएँ । त्यही सफलताले १२ औं सागको क्लोज क्याम्पमा परेको थिएँ ।
गत वैशाखमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेँ । पहिलो खेलमा मेरो सुदूपश्चिमसँग परेको थियो । दोस्रोमा ५ नम्बर प्रदेश र फाइनल आर्मीका खेलाडीसँग थियो । आर्मीलाई पराजित गर्दै स्वर्ण जितेँ ।
पुलिस भए पनि मैले नियमित ड्युटी गर्नु परेको थिएन । पछिल्लो चुनावमा भने हामीलाई पनि खटाइएको थियो । म सिन्धुपाल्चोक गएको थिएँ । १४–१५ दिन डयुटीमा खट्दा रमाइलो भयो । ‘चुस्ता’ (प्रहरी पोशाक) लगाउँदाको खुसी अर्कै हुँदोरहेछ ।
००००
अहिले १३ औं सागको तयारीमा छौं । विहान र बेलुका गरी दुई सत्रमा दैनिक अभ्यास हुन्छ । अभ्यासमा ४०–५० जना छौं । पहिलो, दोस्रो र तेस्रो राम्रो खेलाडी सबैलाई बोलाइएको छ । विहान लगातार ३/४ घन्टा अभ्यास गर्दा लखतरान हुन्छौं, यहीँ म्याटमा आराम गर्छौं । साँझ फेरि अध्यास गर्छौं ।
हेर्नुहोस् भिडियो
यो पटक साग नेपालमै हुँदैछ । म ६३ तौल समूहमा खेल्दैछु । १२ औं सागमा फुत्काएको स्वर्ण जित्न चाहन्छु । यसअघि गरेका गल्तीहरु सच्याउनेछु ।
यो पटक अफगानिस्तान छैन । मुख्य प्रतिद्वन्द्वी भारत नै हो । म आफ्नो तौल समूहको केटाहरुको खेल पनि हेरिरहेको हुन्छु । त्यस्तो अन्तराल छैन ।
वैदेशिक तालिम र धेरै खेलहरु पाए अझ राम्रो गर्न सकिन्छ जस्तो लाग्छ । हामी एकअर्कामा परिचित खेलाडीहरुसँग मात्रै अभ्यास गर्छौ । बाहिरका खेलाडीसँग अभ्यास गर्न पाए आफ्नो कमजोरी थाहा हुन्थ्यो । तर, हामीसँग जे उपलब्ध छ, त्यसमा पनि आफ्नो तर्फबाट बेष्ट दिन चाहन्छौं ।
सागपछि मेरो अर्को मेरो लक्ष्य भनेको २०२० ओलम्पिक हो । गुरुहरुले पनि तेरो खेल पनि राम्रो छ, उमेर पनि छ, सक्छस् भन्नुहुन्छ । हेरौं, कति अगाडि पुग्न सक्छु ।
प्रस्तुति : सरोज तामाङ
फोटो/भिडियो : शंकर गिरी
(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा‘को ४६ औं अंकमा यो हप्ता तेक्वान्दो खेलाडी वीरबहादुर महराको कथा प्रस्तुत गरिएको हो ।)
प्रतिक्रिया 4