
१३ साउन, काठमाडौं । किशोरकिशोरीले परिवार र शिक्षकप्रति गुनासो गरेर आत्महत्या गर्ने क्रम बढेको छ । कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीको कक्षा १२ मा अध्ययनरत् सुरज लेखकले शिक्षकलाई दोष देखाउँदै आत्महत्या गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मुलुकभर २ हजार २२ आत्महत्याको घटना भए । जसमध्ये २१६ जना बालबालिका थिए र सुसाइड नोट भेटिएका अधिकांश घटनामा परिवार र शिक्षकप्रति गुनासो गरेको भेटिएको थियो ।
कञ्चनपुरका किशोरले पनि सुसाइड नोटमा एकेडेमीका ‘प्लस टु कोअर्डिनेटर’ हरिलाल जोशीको नाम लेखेका छन् ।
उनले नोटको सुरुवातमै ‘मर्नुको कारण’ भनेर जोशीको नाम लेखेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्य भन्छन्, ‘परिवारले आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा शिक्षकविरुद्ध जाहेरी दिनु भएको छ ।’
अहिले घटना प्रारम्भिक चरणमै भएकाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने वा के गर्ने भन्ने टुंगो लागि नसकेको उनले अनलाइनखबरलाई बताए ।
के छ सुसाइड नोटमा ?
अनुसन्धान अधिकृतसँग बयान दिने क्रममा शिक्षकले मृतकसहित साथीहरुलाई शुक्रबार चुरोट खाइरहेको देखेपछि गाली गरेको स्वीकारेको जनाइएको छ ।
नोटमा उनले बुबालाई सम्बोधन गरेर ‘म हजुरलाई अरु टेन्सन दिन चाहँदिन । कलेजबाट पाको कम्प्लेनले हजुरलाई धेरै डिस्टर्ब गर्याे र म पनि हजुरलाई टेन्सन दिएर बाँच्न सक्दिन ।’
उनले अगाडि भनेका छन्, ‘हजुरको सब ठाउँमा मैले इन्सल्ट गराएँ, हजुर मलाई जस्तो बनाउँन चाहनु हुन्थ्यो, म त्यस्तो बन्न सकिनँ । त्यसैले ड्याडी म मरे पनि दुई दाइहरु छँदैछन् । तिनीहरुलाई राम्ररी पढाउनू म त हजुरको नालायक छोरो परेँ ।’ सुरजले शिक्षकसमेत रहेका बुबालाई खुशी साथ बस्नु भनेर पनि भनेका छन् ।
सुसाइड नोटमा उनले आफूले कहिल्यै मदिरा सेवन नगरेको उल्लेख गर्दै चुरोट नखाएको पनि एक वर्ष भएको जनाएका छन् । उनले बुबासँग माफी पनि मागेका छन् ।
प्रतिक्रिया 4