
२० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सेवा आयोग अध्यक्षमा प्रा. डा. लालुप्रसाद पौडेल र सदस्यमा प्रा. हेमराज ढकालले सोमबार पदभार ग्रहण गरे ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजक तथा प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा सदस्य रहेको सर्च कमिटीको सिफारिसमा त्रिविका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेल र ढकाललाई नियुक्त गरेका थिए ।
विवादमा परिरहने त्रिवि सेवा आयोगमा लालुप्रसाद पौडेलको नियुक्ति पनि विवादमुक्त छैन । उनी स्नातकोत्तर तह भौतिकशास्त्रको पहिलो सेमेष्टरको क्वान्टम मेकानिक्स (आई फिजिक्स– ५०३)को प्रश्नपत्र विवादमा जोडिएका प्राध्यापक हुन् ।
२९ पुुस २०७५ मा भएको आई फिजिक्स– ५०३ को परीक्षामा ३० नम्बर भन्दा बढीको प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएको भन्दै ताहचल केन्द्रका विद्यार्थीहरुले बहिस्कार गरे । परीक्षार्थीहरु हलबाट बाहिरपछि परीक्षा अवरुद्ध भयो । डेढ घण्टापछि फेरि त्यही प्रश्नपत्र बाँडेर परीक्षा पुनः संचालन गरिएपनि करिब तीन दर्जन विद्यार्थी सहभागी भएनन् ।
परीक्षा बहिष्कार गरेका विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी गरेपछि सतर्कता केन्द्रले त्रिविलाई पत्र लेखेर जवाफ माग्यो । त्रिविका सहायक डिन तेजबहादुर बिसी र भौतिकशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा. विनिल अर्यालले हस्ताक्षर गरेर केन्द्रलाई पठाएको जवाफमा पाठ्यक्रम भित्रैबाट प्रश्नपत्र सोधेको र आधा घन्टा परीक्षा अवरुद्ध भएको उल्लेख छ ।
यससम्बन्धी उजुरीमा अख्तियारले पनि अनुसन्धान गरिरहेको प्रवक्ता प्रदीप कुमार कोइरालाले अनलाइनखबरलाई बताए ।
अख्तियारको छानविन जारी रहेकै बेला त्रिविले २०७६ वैशाख ११ गते आई फिजिक्स– ५०३ को नतिजा प्रकाशित गर्यो । डिन प्रा.डा. रामप्रसाद खतिवडाको अध्यक्षतामा बसेको बैठकले गरेको नतिजा प्रकाशन गर्ने निर्णय पुस्तिकामा समितिका सदस्य लालुप्रसाद पौडेल बाहेक रजिष्ट्रार प्रा. डिल्लीराम उप्रेतीसहित सबै पदाधिकारीको हस्ताक्षर छ । विवादित नतिजा प्रकाशन गर्ने निर्णयमा भौतिकशास्त्र विभाग प्रमुख प्रा.डा. अर्यालले आमन्त्रित सदस्यको रुपमा हस्ताक्षर गरेका छन् (हेर्नुहोस् निर्णय पुस्तिकाको प्रतिलिपि) ।
नतिजा प्रकाशित भइसकेपछि पनि विरोध जारी राखेका विद्यार्थीहरुले विभागमा लगाएको ताला विभागका प्रमुख विनिल अर्यालले आन्दोलनको नेतृत्व गरेको नेविसंघसँग तीन बुँदे लिखित सहमति गरेर खोले (हेर्नुहोस् सहमति पत्र) ।
विभाग प्रमुख अर्याल र नेविसंघ, विश्वविद्यालय समितिका अध्यक्ष हरि आचार्यले हस्ताक्षर गरेको सहमति पत्रको पहिलो बुँदामा पीडित विद्यार्थीका लागि अविलम्ब परीक्षा सञ्चालन गर्ने उल्लेख छ । तर, त्यसअनुसार, परीक्षा नलिइ नियमित परीक्षाको फारम खुलाइयो ।
शिक्षाध्यक्ष कार्यालयले १७ वैशाखमा गठन गरेको पूर्वप्राध्यापक सिताराम प्रसाद व्याहुत संयोजक तथा पूर्वप्राध्यापकद्वय मुकुन्दमणि अर्याल र जीवनज्योति नकर्मी सदस्य रहेको छानविन समितिले २३ गते बुझाएको प्रतिवेदनमा ३० अंकको प्रश्न पाठ्यक्रम बाहिरबाटै सोधिएको निष्कर्ष छ । यो निश्कर्षले सहायक डिन तेजबहादुर बिसी र भौतिकशास्त्र विभाग प्रमुख प्रा.डा. अर्यालले राष्ट्रिय सतर्कता केन्द्रलाई ढाँटेको पुष्टि पनि गरेको छ ।
शिक्षाध्यक्षको छानबिन समितिले परीक्षाको गोपनीयता भङ्ग भएको विषयमा छानबिन गर्नै चाहेन । छानबिन समितिको कार्यादेश यति साँघुरो पारियो कि प्रश्नपत्र विवादबारे मात्रै त्यसले छानबिन गर्यो । एकपटक बाँडिसकेको प्रश्नपत्र फिर्ता लिएर, परीक्षा स्थगित गरेर, डेढ घण्टापछि फेरि त्यही प्रश्नपत्र बाँडेको घटना सम्भवत: त्रिविको इतिहासकै पहिलो हो ।
गुनको बदला गुन
व्याहुत समितिले दोषी देखाएपछि भौतिकशास्त्र केन्द्रीय विभाग प्रमुखबाट प्रा. डा. अर्यालले दिएको राजीनामा स्वीकृत गरिएन । त्यसमा लालुप्रसाद पौडेलले ठूलो भूमिका खेलेको यस विषयका जानकार प्राध्यापकहरु बताउँछन् । उनीहरुका अनुसार, अर्यालको राजीनामा स्वीकृत भएको भए प्रश्नपत्र निर्माणमा त्रिविको गल्ती देखिन्थ्यो । अख्तियारको छानबिनलाई प्रभावित पार्नेगरी नतिजा प्रकाशनको निर्णय गर्ने रजिष्ट्रार, डिन, परीक्षा नियन्त्रक कारबाहीमा पर्नसक्थे ।
‘त्यसैले, राजीनामा अस्वीकृत गरेर कारबाहीबाट पनि जोगाउँदै प्रा. डा. अर्याललाई विभागीय प्रमुखमा कायम मात्र गरिएन सेवा आयोगको अध्यक्ष सिफारिस गर्ने सर्च कमिटी सदस्यसमेत बनाइयो’, एक प्राध्यापक भन्छन्, ‘विनिललगायतका त्रिवि पदाधिकारीलाई गुन लगाएवाफत अहिले लालुप्रसाद पुरस्कृत भएका हुन् ।’
उनका अनुसार, शिक्षाध्यक्षले गठन गरेको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरेको र राजीनामा स्वीकृत भएको भए विनिलसहितका त्रिविका पदाधिकारीहरु यतिबेला जेलमा हुन सक्थे । ‘तर, लालुप्रसादको चलाखीले सबै जोगिए’, ती प्राध्यापक भन्छन्, ‘लालुले गुनको मूल्य लिए ।’
लालुप्रसाद पौडेल र विनिल अर्याल पूर्वएमाले समर्थक हुन् । सर्च कमिटीमा त्रिवि सभा (सिनेट)बाट सदस्य छानिन्छ । विवादमा परेका विनिल अर्याललाई कमिटीमा तानेर लालुप्रसाद पौडेललाई सेवा आयोग अध्यक्षमा सिफारिस गराउने काम स्वार्थ मिलेर सम्भव भएको देखिन्छ ।
यस विषयमा नवनियुक्त अध्यक्ष पौडेल र सर्च कमिटी सदस्य अर्यालले प्रतिक्रिया दिन मानेनन् । पौडेलले ‘व्यस्त छु’ र अर्यालले ‘क्लासमा जानु छ’ भन्दै फोन काटे ।
प्रा.डा. शम्भु पटेल पक्राउ र नयाँ नियुक्तिको अर्को खेल
व्याहुत समितिले दोषी देखाएपछि विनिल अर्यालले राजीनामा दिनासाथ प्राध्यापकहरुबीच भौतिकशास्त्र केन्द्रीय विभागको नयाँ प्रमुख बन्ने–बनाउने दौड सुरु भइसकेको थियो । यसक्रममा केही प्राध्यापकले शिक्षाध्यक्षलाई भेटेर लबिङ गरेका थिए । तर, अर्यालको राजीनामा स्वीकृत गरे त्रिविको गल्ती प्रमाणित हुने भएकाले पद खाली नै नभएको सहायक डीनमा नियुक्तिको अर्को खेल सुरु भयो ।
त्यही बीचमा असार ४ गते अख्तियारले भ्रष्टाचारको आरोपमा विज्ञान संकायका सहायक डिन प्रा.डा. शम्भुप्रसाद पटेललाई पक्राउ गरेर २४ गते ५० हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दायर गर्यो ।
अर्को वर्ष प्रा.डा. रामप्रसाद खतिवडाले अवकास पाएपछि वरिष्ठताको आधारमा पटेल डिन बन्ने थिए । उनले आफूलाई डिन बन्न नदिन त्रिविको स्वार्थी समूहले नियोजित रुपमा फसाएको बताउने गरेका छन् ।
पटेल समातिपछि रिक्त भएको सहायक डिन पदको लागि डा. बलराम घिमिरे र ईश्वरप्रसाद कोइराला आकांक्षी छन् । डा.घिमिरेले अख्तियारको छानविन जारी रहेकै बेला क्वान्टम मेकानिक्स परीक्षाको नतिजा प्रकाशनको निर्णयमा हस्ताक्षर गरेका थिए ।
घिमिरे तत्कालीन माओवादी र कोइराला तत्कालीन एमाले समर्थक हुन् । उनीहरुले आ–आफ्नो पक्षमा लविङ गर्दै शिक्षाध्यक्ष समेतलाई भेटिसकेका छन् ।
हेर्नुहोस् व्याहुत नेतृत्वको समितिले गरेको छानविन प्रतिवेदनको अंश
प्रतिक्रिया 4