+
+

सेनानी अजित सिंह ब्राउन सुगरसहित पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०७६ साउन २५ गते २०:१२

२५ साउन, काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् ।

इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊबाट सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ ।

इटहरीका डीएसपी समिरचन्द्र खरेलले सिंहलाई पक्राउ गरिएको पुष्टि गरे पनि उनी सैनिक अधिकृत हुन्/होइनन् भन्नेबारे छानविन भइरहेको अनलाइनखबरलाई बताए ।

सैनिक स्रोतले मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको पुष्टि गरेको छ । स्रोतले भन्यो- ‘उहाँलाई पृतना बाहिर सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सूचना आएको छ ।’

घटनाबारे जानकारी प्राप्त भएलगत्तै सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले बतायो ।

प्रहरीले पनि अनुसन्धान जारी राखिएको जनाएको छ ।

मेजरमाथि कसरी हुन्छ अनुसन्धान ?

सामान्यतयाः सैनिक अधिकृतले गरेको कसूरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ ।

तर, गम्भिर प्रकृतिका मुद्दामा प्रहरी आफैंले मुद्दा चलाउन सक्ने व्यवस्था छ । लागूऔषध सम्बन्धी कसूर भएकाले सेनानी सिंहविरुद्ध पनि प्रहरी आफैंले म्याद थप गर्नेछ ।

प्रहरी स्रोत भन्छ, ‘आइतबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने छौं ।’ सामान्य प्रकृतिको मुद्दा भएका भए प्रहरीले सैनिक प्रहरीलाई जिम्मा लाउँथ्यो र सैनिक अदालतबाट आउने आदेश अनुरुप कारबाही हुन्थ्यो ।

सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?