+
+

पोखरामा दुई दिनसम्म बनेन श्रम कार्यालयको सर्भर, सेवाग्राहीलाई सास्ती

विकास रोकामगर विकास रोकामगर
२०७६ साउन २७ गते १९:४२

२७ साउन, पोखरा । स्याङ्जाबाट रामु थापा शनिबार ३ घन्टा लगाएर पोखरामा रहेको श्रम तथा वैदेशिक रोजगार कार्यालयमा श्रम स्वीकृत गर्न आए । वैदेशिक रोजगारका लागि साउदी जाने तयारी गरिरहेका उनले श्रम कार्यालयको सर्भरमा समस्या आएका कारण २ दिनसम्म पनि उनको काम भएको छैन ।

‘हिजो पनि अबेरसम्म बसियो । आज पनि काम नबन्ने भएपछि स्याङ्जा घरै फर्किंदैछौं,’ परिवारसहित पोखरा आएका थापाले गुनासो गरे, ‘कहिले बन्छ भन्दा कर्मचारीले नै थाहा छैन भन्छन् । कर्मचारीले ठीक जानकारी नदिँदा हामी बाहिर कुरेका कुर्‍यै हुन्छौं ।’ कार्यालयको सम्पर्क नम्बर लगेर घर फर्किन लागेको र त्यतैबाट बुझेरमात्रै पोखरा आउने उनकोे योजना छ ।

बागलुङबाट श्रम गर्न पोखरा आएका लेखनाथ लामिछाने सोमबार श्रम कार्यालयकै परिसरमा भेटिए । आइतबार साँझैसम्म कुरेर बसेका उनले सोमबार पनि दिन त्यहीं बिताए ।

‘बागलुङदेखि यता आएको ३ दिन भइसक्यो । सर्भर बिग्रेको छ भन्छन् । कहिले बन्छ भन्दा थाहा छैन भन्छन्,’ उनले गुनासो गरे, ‘अब कति दिन यतै बिताउनपर्ने हो थाहै भएन ।’ उनले आफू कतार जानका लागि श्रम गर्न आएको बताए ।

श्रम कार्यालय कास्कीको सर्भर २ दिनदेखि काम गरिहेको छैन । जसको प्रत्यक्ष मार सेवाग्राहीले भोगिरहेका छन् । काम नहुँदा सेवाग्राहीको श्रम कार्यालय परिसरमै बित्ने गरेको छ । ‘बिग्रेको भए पनि अहिले बन्छ भनेर समय तोकिदिए त हामीलाई पनि सजिलो हुन्थ्यो नि !’ कतार जान श्रम स्वीकृत गर्न आएका प्रकाश शर्मा आचार्यले गुनासो गरे, ‘काठमाडौंभन्दा यता सजिलो हुन्छ भनेर आएको झनै तनाव भो ।’

श्रम तथा वैदेशिक रोजगार कार्यालय कास्कीका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले ‘माइक्रो टिट डिभाइस’मा खराबी आएका कारण समस्या उत्पन्न भएको बताए । ‘यो विभागसँगै लिंक हुन्छ । साधारण नेटले सेफ नहुने भएकाले यो प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘यसले बायोमेट्रिक आँखा चेक गर्छ । जुन यहाँको कम्प्युटर र विभागसँग सीधैं जोडिएको हुन्छ ।’

श्रेष्ठले एउटा डिभाइसमा देखिएको समस्याले कार्यालयको सबै काम प्रभावित भइरहेको र आफूहरु त्यसलाई सल्टाउन लागिरहेको जानकारी दिए । ‘हामी विभागसँग त्यसबारे निरन्तर कुरा गरिराख्या छौं । यसैलाई बनाउने कि अर्को वैकल्पिक मगाएर प्रयोग गर्नेबारे छलफल भइरहेको छ । भोलिसम्ममा यो समस्या समाधान हुन्छ,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?