
३० साउन, काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ ।
बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए ।
आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।
दीक्षितका प्रकाशित केही कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्यो? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)
प्रतिक्रिया 4