
८ भदौ, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सामूहिक राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई सेवाबाट हटाएको छ । रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रक्रिया पनि अघि बढाइएको छ ।
जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार सेवा भने यसअघि नै भंग गरिएको थियो ।
उपकुलपति भण्डारीको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरुले यही भदौ ५ गते सामूहिक राजीनामा दिएका थिए ।
स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा काम नगरेकाले कार्यकारी परिषदको निर्णयबाट उनीहरुलाई सेवाबाट हटाइएको उपकुलपति प्रा. डा. संगीता भण्डारीले जानकारी दिइन् ।
उनले भनिन्, ‘मैले उहाँहरुको राजीनामा आज इमेलबाट पाएँ । उहाँहरुले हाम्रो राजीनामा स्वीकृत गर्दिनुस् भन्नुभएको छैन । काम नगरेवापत कार्यकारी परिषदले उहाँहरुलाई निष्कासन गर्यो ।’
उनीहरुको एकवर्षे करार सेवा आगामी मंसिर १५ गते सकिन्थ्यो । उनीहरुलाई हटाएर नयाँ पदपूर्तिको प्रक्रिया सुरु गरेको रजिष्टार रामप्रसाद प्याकुर्यालले जानकारी दिए । उनले भने, ‘अब छिट्टै पदपूर्ति गरेर सबै सेवा सुरु गर्छौं । विज्ञापन प्रकाशन गर्न पठाइसकेका छौं ।’
प्याकुरेलका अनुसार सामूहिक राजीनामाका कारण प्रतिष्ठानमा रेडियोलोजी, डर्माटोलोजी, इएनटी, मेडिसन र पिडियाट्रिक सेवा प्रभावित भएको छ । ईएनटीका विरामीको उपचारमा उपकुलपति भण्डारी आफैं खटिएकी छन् ।
प्रतिष्ठानमा सरकारी सेवाका १२ जना डाक्टर छन् । साविकको घोराही उपक्षेत्रीय अस्पतालमा कार्यरत ती डाक्टरहरुलाई प्रतिष्ठानमा समायोजन गरिएको हो । उनीहरुले पनि करार सेवाका डाक्टरहरुको आन्दोलनलाई नैतिक समर्थन गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । तर, सरकारी डाक्टरहरुको पद संघीय सरकार मातहत भएकाले प्रतिष्ठानले उनीहरुविरुद्ध कुनै कदम चालेको छैन ।
प्रतिष्ठानका रजिष्ट्रार प्याकुर्यालले भने, ‘सरकारका १२ जनाको हामीले स्वीकृत गर्ने कुरा भएन । तपाईंहरु काममा फर्किनुस् नफर्किने भए बरबुझारथ गरेर मन्त्रालयमा राजीनामा दिन सक्नुहुन्छ भनेर पत्र दिएका छौं ।’
प्रतिक्रिया 4