
९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि काठमाडौंमा समर्थकले खुशीयाली मनाएका छन् ।
नयाँ बानेश्वरमा भेला भएका समर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् ।
सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
लामिछाने पत्नी निकिता पौडेलका अनुसार, अहिले कानूनी प्रक्रिया पूरा गरेर धरौटी जम्मा गर्न लागिएको छ । ‘कागजपत्र तयार गरिरहेका छौं । केहीवेरमा धरौटी बुझाउँछौं’, उनले अनलाइनखबरसँग भनिन् ।
तीनै जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन गरेको कसूरमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दायर गरेको थियो ।
पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।
यो पनि पढ्नुस्
रवि लामिछानेमाथि अभियोग : क्षतिपूर्तिसमेत भराइ पाऊँ !
रवि लामिछानेको सम्पत्ति खोज्दै प्रहरी
पुडासैनी आत्महत्या प्रकरणमा ‘युट्युब ट्रायल’ को अभ्यास
रवि लामिछानेले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने
प्रतिक्रिया 4