
१० साउन, बुटवल । पर्यटन विकासकाबारेमा संघीय सरकारको एक वर्षे कार्य योजनामा वुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा दर्जन बढी योजना परेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार सार्वजनिक गरेका १ सय ४१ योजनामा लुम्बिनीलाई प्राथमिकतामा राखिएको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरुले उक्त कार्य योजना स्वागत योग्य भएको भन्दै कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन् ।
संघीय पर्यटन मन्त्रीले सार्वजनिक गरेका योजनामा आन्तरिक शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाई अवधि लम्ब्याउने गरी वातानुकुलित अँध्यारो प्रार्थना कोठा (डार्क च्यान्टिङ रुम) नियमित सञ्चालनको व्यवस्था गर्ने उल्लेख छ ।
यस्तै गौतम वुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा वुद्धका सन्देश समेतलाई समेटेर डकुमेन्ट्री तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचार प्रसार गर्ने, वुद्ध दर्शन, लुम्बिनी, रामग्राम, गौतम वुद्ध र मायादेवी लगायतका प्राचीन, ऐतिहासिक कथालाई समेटेर खुला नाटक प्रदर्शनको व्यवस्था मिलाउने पनि समेटिएको छ ।
लुम्बिनी विकास कोषले तीन वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजना पूरा गर्ने बताइरहेका बेला पर्यटनमन्त्री भट्टराईले २ वर्षभित्र गुरुयोजनाका बाँकी काम सम्पन्न गर्न विस्तृत परियोजना बनाई कार्यान्वयन गर्ने बताएका छन् ।
गुरुयोजना सुरु भएको चार दशक बित्दा पनि पूरा नभएको अवस्थामा संघीय सरकारको लुम्बिनी प्रतिको चासो र प्राथमिकताले अब पूरा हुने आशा पलाएको लुम्बिनीका होटल व्यवसायी अक्रम खानले बताए । ‘पर्यटनमन्त्रीका झण्डै डेढ सय योजनामा लुम्बिनी उच्च प्राथमिकतामा परेको हामीले महसुस गरेका छौं र असाध्यै उत्साहित भएका छौं,’ खानले भने, ‘एक वर्षमै योजना कार्यान्वयनमा आउँदा लुम्बिनीमा पर्यटकको आगमन बढ्ने उत्साह जागेको छ ।’
१ सय ४१ योजनामा ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने, लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने ग्लोबल पिस एण्ड मेडिटेसन सेन्टर निर्माण सम्पन्न गर्ने, लुम्बिनी क्षेत्रको ऐतिहासिकतासँग जोडिएको स्थानीय उत्पादनमा आधारित गीफ्ट सपको सञ्चालन गर्ने पनि समेटिएको छ ।
यस्तै नेपाल भ्रमण वर्षको सन्दर्भमा समेत २५६४ औं वुद्ध जयन्ति भव्य रुपमा मनाउने र तेस्रो विश्व बौद्ध सम्मेलन गर्ने पनि उल्लेख छ । लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने मात्र होइन संयुक्त राष्ट्रसंघ, लुम्बिनी विकास कमिटीको बैठक आयोजना गर्ने योजना पनि रहेको छ ।
लुम्बिनी क्षेत्रको ऐतिहासिकतालाई मध्यनजर गरी ५ लाख फलफूल लगायतका विभिन्न विरुवा कम्तिमा ३ वर्षभित्र रोप्ने गरी गुरुयोजना बनाउने तयार गर्ने योजना पनि पर्यटनमन्त्रीले समेटेका छन् । त्यसलाई गौतम वुद्ध फलफूल बाटिका नामाकरण गरिने छ । लुम्बिनीमा पर्यटकको बसाई अवधि बढाउन बौद्ध बिहार बसाई (टेम्पल स्टे) अवधारणा विकास गरी कार्यान्वयन गर्ने, स्थलमार्गबाट लुम्बिनीमा आउने पर्यटकलाई सहज सेवा दिन रुपन्देही बेलहियामा पर्यटक तथा तीर्थयात्री स्वागत केन्द्र निर्माण गर्ने काम पनि एक वर्ष भित्रै पुरा गर्ने योजना छ ।
‘टेम्पल स्टे’ खारेज गर्न होटल व्यवसायीको माग
अरु योजना सबै राम्रा भए पनि टेम्पल स्टे योजनाका कारण होटेल व्यवसायीहरु मारमा पर्ने भएकाले यसलाई खारेज गर्नुपर्ने सिद्धार्थ होटेल एशोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले माग गरे ।
‘लुम्बिनी लक्षित अरु योजनाले हामी उत्साहित छौं, तर ‘टेम्पल स्टे’लाई सरकारले नै वैधानिकता दिने हो भने होटल व्यवसायी धराशायी हुन्छन्,’ आचार्यले भने, ‘अहिले पनि हामी गुम्बाहरुमा ठूलो संख्यामा पर्यटक बास बस्ने परिपाटीले मारमा परेका छौं र यसको विरोध गर्दै आएका छौं, त्यसैले यो योजना खारेज गर्नुपर्छ ।’
लुम्बिनीभित्र रहेका चिनियाँ, थाई र म्यानमार लगायतका देशका गुम्बा तथा विहारहरुले गेष्ट हाउसले जस्तै सम्बन्धित मुलुकबाट आउने भिक्षुहरुलाई बास बसाल्ने गरेकाले होटल व्यवसायीले विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया 4