+
+

एउटा गोलीकाण्डपछि उजाडिएको गाउँ

रामहरि ओझा रामहरि ओझा
२०७६ भदौ १० गते १६:००

१० भदौ, डोटी । डोटी बडीकेदार गाउँपालिका–२, छेडा गाउँका ७० बर्षका चक्र मटेली २०५९ साल बैशाख १९ गते आफ्नो गाउँमा भएको नरसंहार सम्झदै आङ सिरिङ्ग पार्छन् ।

हात, मुख र घाँटीमा सेनाले चलाएको गोली लागेका चक्र भन्छन् ‘हामीलाई सेनाले लाइन लगायो र गोली हान्यो, त्यसपछि के भयो थाह भएन ।’ सेनाले सबै मरे भन्ने सोचेकामा चक्र बाँचेछन् ।

बिहान करिब ११ बजे लहरैका खेतमा गोरु जातेर धान छर्दै थिए किसानहरु । सेनाको टोलीले उनीहरुलाई नियन्त्रणमा लियो, माओवादी भएको कवुल गराउन खोजियो तर स्थानीयले आफूहरु माओवादी नभएको बताएपछि कुटाई खान पुगे । ‘जोतिएका गोरुका हलो र जुवासमेत काट्यो’ चक्र भन्छन् ‘त्यसपछि लाइन लाएर गोली हान्यो ।’

स्थानीय ७० बर्षीय रणबहादुर चन्द र ६५ बर्षीय दलवहादुर चन्द, २५ बर्षीय लालबहादुर चन्द र १८ बर्षीय टेकवहादुर चन्दको मृत्यु भयो । गोरु किन्न आएका पुड्केपानी गाउँका डवलवहादुर सार्की पनि मारिए । ‘उनी गोरु किन्न आएका थिए, गोरुको मोलमोलाई भइरहेको थियो’ त्यो दिन सम्झदै चक्रले भने ‘त्यहीबेला सेनाले आएर हामीलाई समात्यो ।’

२०५८ साल फागुन ४ गते अछाम जिल्ला सदरमुकाम आक्रमणपछि तत्कालीन माओवादी नेता कार्यकर्ताहरु छेडा गाउँमा जम्मा हुने क्रममै थिए । घटनाको सुइको पाएको सेनाले गाउँमा आई स्थानीयलाई पक्राउ गरी गोली हानेको चक्रको भनाइ छ ।

२०५९ साल बैशाख १९ गते छेडा गाउँमा एकाएक गोली चल्न सुरु भयो । घटनामा माओवादीतर्फ कति हताहत भए थाह भएन तर स्थानीयहरुका अनुसार करीव एक सयको हाराहारीमा माओवादी कार्यकर्ता मारिएका थिए । ‘माओवादीले त यसरी सेना आएर आक्रमण गर्ला भन्ने सोचेकै थिएनन्, उनीहरु त सुरक्षित बसेको महसुस गर्दै थिए’ सामाजिक कार्यकर्ता मुना मटेली भन्छिन् ‘सेनाले आएर एकोहोरा गोली हाने, माओवादीले तयारी समेत गर्न पाएनन् ।’

सैनिक टोली गइसकेपछि माओवादी कार्यकर्ता आएर घाइते कार्यकर्ता बोकेर लगेको र मृतकलाई हतार हतारमा गाडेको मुना बताउँछिन् । ‘राम्रोसंग गाडिएका थिएनन् लास, पछि स्याल र कुकुरले तानेर निकाले’ मुना भन्छिन् ‘गाउँमा जताततै रगतका छाप थिए, क्षतबिच्क्षेत अवस्थामा लासहरु चारैतिर ढलेका थिए, लामो समयसम्म गन्हाइरह्यो गाउँ ।’ अहिले पनि मान्छेका हड्डीहरु छरपट्ट देखिने गरेको उनी बताउँछिन् ।

घटनाअघि १२ परिवार बस्थे छेडा गाउँमा । घटनापछि त्रसित भएका स्थानीयहरु बसाई सरेर गए । अहिले जम्मा तीन परिवार मात्रै छन । ‘एक परिवार अर्को गाउँबाट बसाई सरी आएकाले चार परिवार भएका छौं’ स्थानीय चक्र मटेली भन्छन् ‘त्यतिबेला गाउँ छोडेर गएकाहरु फर्केका छैनन् ।’ कतै जान नसक्ने अवस्था रहेकाहरु मात्रै गाउँमा बसेका चक्रको भनाइ छ ।

भत्किन थाले खाली घर

छेडा घटनाको कारण त्रासले भागेका स्थानीयका घरहरु भत्किन थालेका छन् । गाउँमा सन्नाटा छ । जताततै खेतहरु बाँझै छन् । ‘त्यतिवेलाको खेतीयोग्य जमिनमा अहिले जंगल भएको छ, घरहरु पनि भत्किइसके’ मुना भन्छिन् ‘जंगल बढेपछि जंगली जनावरहरु पनि बढेका छन्, गाउँमा बस्नै डर लाग्न थाल्यो ।’ जंगली जनावरले खेती पनि नष्ट गर्ने गरेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?