
११ भदौ, काठमाडौं । काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको छ । तर, सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको छ ।
मन्त्रिपरिषदबाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको हो ।
एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार सिकाली मन्दिरसँगै १३ रोपनी जमिन मासिने भन्दै खोकनाबासी विरोधमा उत्रिएपछि विकल्पको बहस सुरु भएको थियो ।
जनप्रतिनिधिहरुले बुङ्गमती नजिकै रहेको फर्सिडोललाई प्रस्थान विन्दु बनाउने सहमति पनि गरे । तर नेपाली सेनाले स्थानीयबासीको मागअनुसार सिकाली मन्दिरसँगै कोदेशलाई संरक्षण गरेर नयाँ रेखांकन बनाएको छ ।
यसअनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।
यस्तै कान्ति लोकपथसँग जुध्ने भएपछि महादेवटारदेखि लेनडाँडा क्षेत्रमा पनि रेखांकन तयार भएको छ । त्यहाँ १.३७ किमी लामो छोक्रेडाँडा-ठिगन-लेनडाँडा सुरुङमार्ग प्रस्ताव गरिएको थियो । अब तीन वटा सुरुङ बनाइने छ । महादेवडाँडामा ३.३५५, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमी लामो सुरुङमार्ग बनाइनेछ ।
लम्बाइ घट्यो, लागत बढ्यो
निर्माणको जिम्मा पाएको नेपाली सेनाका अनुसार डीपीआरअनुसार द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर कायम हुनेछ । यसअघि ७६.२ किमी थियो ।
तर लागत भने बढेको छ । नयाँ डीपीआरअनुसार आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुग्ने सेनाले जनाएको छ ।
कस्तो छ कामको गति ?
नयाँ डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किमी सुरुङमार्ग हुनेछ भने १०.५५ किमी पुल र ५५.५ किमी सडक हुने छ । यसमध्ये हालसम्म २५.४४ किमी खण्डको सवग्रेड फमर्ेेसन लभेलमा काम भएको छ भने झण्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको छ ।
निजगढस्थित बकैया खोलामा दुई बेलिब्रिज जडान भइरहेको छ भने थप दुई जडानको क्रममा छन् । धेद्रेमा एक र सिस्नेमा दुई वटा जडानको क्रममा छ ।
खोकनाको सिकालीमा दुई वटा, फर्सिडोल र महादेवटारमा एक-एक वटा बेलिब्रिज जडान गरिनेछ । बकैया खोलामा पनि थप एक बेलिब्रिज जडान गरिने द्रुतमार्ग आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया 4