+
+

लुम्बिनी बौद्ध विश्वविद्यालय उद्देश्य विपरीत चलेको भन्दै समाजवादीले जनायो विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १३:५६

११ भदौ, बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयले बुटवलमा स्नातकोत्तर तहमा कानुन र ट्राभल्स एण्ड टुरिज्मका कक्षा सञ्चालन गर्न थालेकोमा समाजवादी पार्टीले विरोध जनाएको छ।

केन्द्रीय क्याम्पस रहेको लुम्बिनीमै कक्षा सञ्चालन गर्न माग गर्दै समाजवादी पार्टी लुम्बिनी सांस्कृतिक नगर कमिटीले लुम्बिनी बौद्ध विश्व विद्यालयको उक्त कदम तत्काल सच्याउन माग  गरेको छ ।

बौद्ध दर्शन र साहित्यको अध्यापन एवं अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको संस्थाले उद्देश्य विपरित इन्जिनियरिङ, कानुन, टुरिज्म लगायतका विषयहरु पढाउन अन्य संस्थालाई अनुमति दिने कार्य उपयुक्त नभएको उक्त पार्टीले भनेको छ ।

विश्वविद्यालयले प्रदेश ५ सरकारसँगको सहकार्यमा बुटवलमा सञ्चालन गर्न थालिएको बीबीटीएम र बीएएलएलबीका कक्षा तत्काल बन्द गरी केन्द्रीय क्याम्पस लुम्बिनीमै सञ्चालन गर्न माग गर्दै उक्त पार्टीले क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

सो पार्टीले काठमाडौंमा सञ्चालित विश्वविद्यालयको परीक्षा शाखा तत्काल बन्द गरी केन्द्रीय क्याम्पस लुम्बिनीमै सञ्चालन गर्न, देवदहमा विश्व विद्यालयको नाममा जग्गा खरिद गरिएकोमा विरोध गर्दै विस्तार प्रक्रिया लुम्बिनीमै गर्नुपर्ने माग गरेको छ ।

यस्तै विद्यार्थी भर्ना सूचना समयमै प्रकाशित गर्न, स्थानीय अवस्था र आवश्यकतालाई मध्यनजर गरेर संकाय सञ्चालन प्रकृया अघि बढाउन र विश्व विद्यालयमा पुस्तक लगायत अन्य शिक्षण सहायक सामग्रीको पर्याप्त व्यवस्थापन गर्न पनि समाजवादी पार्टीले माग गरेको छ ।

‘बौद्ध दर्शनमा विशिष्टिकृत विश्वविद्यालयका रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरिएको हो,’ लुम्बिनी बचाऔं संघर्ष समितिका उपाध्यक्ष मोहम्मद इस्लामले भने, ‘लुम्बिनीको गरिमामै आँच आउने गरी स्थापनाको उद्देश्य, मर्म र भावनामा ठेस पुर्‍याइ विश्वविद्यालयलाई व्यापारीकरण गर्न नानाथरिका विषयहरु, त्यो पनि लुम्बिनी बाहिर पढाउन खोजिएको छ, जुन हामीलाई कदापी स्वीकार्य छैन ।’

समाजवादी पार्टीका नगर अध्यक्ष अब्दुल मोबिन खाँले विश्व विद्यालय प्रशासनले स्थानीयका माग बेवास्ता गरेर अघि बढे सर्वदलीय सहमति जुटाएर तालाबन्दी गरिने बताए ।

‘बौद्ध विश्वविद्यालय लुम्बिनीमा सञ्चालन गर्नका लागि स्थापना गरिएको हो, हामी अन्यत्र कक्षा चलाउन दिन्नौं,’ खानले भने । विश्व विद्यालयको करोडौं लगानीमा बनेको छात्रावास भवन भएपनि एकजना विद्यार्थी पनि नबसेको खानले बताए ।

विश्वविद्यालयले स्कुल अफ डेभलपमेन्ट स्टडिज र एप्लाइड साइन्स संकाय थपेर स्थापनाको उदेश्य विपरीत हुने गरी स्नातक र स्नातकोत्तर तहमा कानुन, ट्राभल्स एण्ड टुरिज्म, वातावरण, विकास, वन विज्ञान लगायत ११ वटा थप विषयमा पढाइ सञ्चालन गर्न लागेको छ ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा करिब दुई सय विद्यार्थी छन् । विद्यार्थी बढाउन नसकेपछि विश्वविद्यालय उदेश्य विपरीत नयाँ कार्यक्रम सञ्चालनतिर लागेको शिक्षाविद्हरुको ठम्याई छ । अन्य विश्वविद्यालयले जस्तै जुनसुकै विषयमा पठनपाठन गराउँदा विशिष्टीकृत विश्वविद्यालयको औचित्य नै समाप्त हुने शिक्षाविद्हरु बताउँछन् ।

लुम्बिनी वौद्ध विश्व विद्यालय २०६३ बैसाख २३ देखि आरम्भ भएको हो । क्याम्पस प्रमुख न्यौपानेले ज्ञापनपत्रका विषयमा आफूले विश्व विद्यालयको माथिल्लो निकायमा जानकारी गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?