+
+

मेजर सिंहलाई लागूऔषध बेच्ने युवती पनि समातिइन्

पूर्वी नाका हुँदै भित्रिन्थ्यो ब्राउन सुगर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १४:००

१२ भदौ, काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमककी २६ वर्षीया प्रिया राई छिन् ।

इलाका प्रहरी कार्यालय, इटहरीले उनलाई चार दिनअघि पक्राउ गरेर अनुसन्धान थालेको हो । इटहरीका डीएसपी समिरचन्द्र खरेल भन्छन्, ‘अनुसन्धानका सिलसिलमा राईको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।’

खरेलले अनलाइनखबरलाई बताएअनुसार राईलाई अनुसन्धानका लागि जिल्ला अदालत, सुनसरीले ७ दिनका लागि अनुमति दिएको छ । अनुसन्धान अधिकृतका अनुसार सिंहले राईबाट ब्राउन सुगर खरिद गर्ने गरेको बताएपछि उनलाई पक्राउ गरिएको हो ।

स्रोतका अनुसार इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतनामा कार्यरत् सेनानी सिंह ब्राउन सुगर लिन आफैं दमकसम्म पुग्ने गरेका थिए । ‘कहिले मोटरसाइकल त कहिले सार्वजनिक यातायात चढेर लिन जाने गरेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘दमकले राईले उनलाई आवश्यकता अनुसार ब्राउन सुगर दिने गरेकी थिइन् ।’

अधिकृतका अनुसार मेजर सिंह आफैं लागूऔषध प्रयोगकर्ता समेत हुन् । उनले आवश्यकता अनुसार प्रयोगकर्तालाई पनि विक्री गर्ने गरेका प्रहरी अधिकृत बताउँछन् ।

राईले भने पूर्वी नाका झापाको काँकरभिट्टा हुँदै भारतबाट लागूऔषध भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ । ‘पारि एक भारतीय नागरिकले उनलाई ब्राउन सुगर दिने गरेको देखिएको छ’, प्रहरी भन्छ, ‘हामीले घटनामा अरुको पनि कनेक्सन छ कि भनेर केलाइरहेका छौं ।’

प्रहरीले मेजर सिंहलाई २५ साउनमा ब्राउन सुगरका ४ वटा पोकासहित पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध लागूऔषध ऐनअनुसार अनुसन्धानका लागि पहिलो पटक ५ दिन म्याद थपेको थियो । त्यसपछि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो भने पछिल्लो पटक थपिएको ७ दिनको म्याद शनिबारबाट सकिँदैछ । लागूऔषध सम्बन्धी मुद्दामा प्रहरीले अदालतको अनुमतिमा ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।

सामान्य मुद्दामा सैनिक अधिकृतविरुद्ध सैनिक प्रहरीले अनुसन्धान गर्छ । तर, लागूऔषधसम्बन्धी कसूर भएकाले सामान्य नागरिक सरह नियमित अदालतबाट मेजर सिंहको कसूरको फैसला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?