+
+

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना सुत्केरी

सुवास पण्डित सुवास पण्डित
२०७६ भदौ १३ गते १३:१७

१३ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको खुल्ला चिडियाखानामा एक अर्नाले बच्चा जन्माएको छ ।

अर्नाले भदौ ९ गते बच्चा (पाडो) जन्माएको हो । निकुञ्जका अधिकारीहरुका अनुसार अर्नाको बच्चा स्वस्थ छ । यो सँगै यहाँ अर्नाको संख्या १३ पुगेको छ । खोरमा अर्नाको बच्चा संख्या ४ पुगेको छ । हाल खोरमा वयस्क दुई भाले र सात पोथी छन् । निकुञ्जका पशु चिकित्सकहरुका अनुसार अन्य दुई अर्ना पनि गर्भवती छन् । गत वर्ष तीन अर्नाले बच्चा जन्माएका थिए । गएको साउन ३१ गते पहिलो पटक निकुञ्जमा अर्नाले बच्चा जन्माएको थियो । गत वर्षकै भदौ ७ र भदौ २३ गते थप दुई अर्नाहरुले पाडापाडी पाए । अर्नाका तीन पाडो र एक पाडी छन् ।

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा २०७३ सालमा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो । अर्ना र बाह्रसिङ्गे राख्न दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुँइमा सोलिङ गरेर जालीलाई पीसीसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको छ । खोरमा वरिपरी सोलार फेन्सिङ गरिएकाले अन्य जनावर खोरभित्र पस्न सक्दैनन् । इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौंडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान छ । सदर चिडियाखानाबाट ३ र कोशी टापुबाट १२ गरी १५ वटा अर्ना ल्याएको ४ महिनामा नै सदर चिडियाखानाबाट ल्याइएका ३ अर्ना मरिसकेका छन् । २०७४ साउन २८ र २९ गते आएको ठूलो बाढिमा परेर थप २ जना अर्ना मरे । अर्को, एक अनालाई बाघले मा¥यो । अर्ना घटेर ९ वटामा झरे । अहिले अर्ना राखिएको खोरमा दैनिक निरीक्षण, उनीहरुको अवस्थाकाबारेमा पशु चिकित्सकसहितको टोलीले अनुगमन गर्दै आएको छ । रातको समयमा पनि मचानमा राखेर नेपाली सेनासहितको टोलीले अर्नाको रेखदेख गरिरहेको छ । हात्तीको सहयोगमा दैनिक ५ देखि ७ जनाको टोलीले अर्नाको अवस्थाकोबारेमा रेखेदेख गरिरहेको निकुञ्जको भनाइ छ ।

अर्नाको सरदर आयु २५ वर्षको हुन्छ । यिनिहरुले जीवनकालमा ५ वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना ३–४ वर्षमा र पोथी अर्ना २ देखी ३ वर्षको उमेरमा प्रजनन् योग्य हुन्छ । यसको गर्भाधारण अवधि १० देखि ११ महिनाको हुन्छ । अर्नाको तौल ७ सय देखि १२ सय किलोग्रामसम्म हुन्छ । यसको उचाई १५० देखि १९० सेन्टिमिटरसम्म हुन्छ । खरानी खैरोदेखि कालो छाला हुने र घाँटी, मुख, आँखा, कान र खुट्टामा सेता धर्का हुन्छन् ।

क्षेत्रफल र अर्ना थपिँदै

निकुञ्ज विभागले चालु आर्थिक बर्षमा खोर विस्तारका लागि १ करोड बजेट विनियोजन गरेको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

ठाउँ विस्तार गरेपछि अर्नाको संख्या थप्ने तयारी छ । अर्नाको संख्या २० देखि २५ वटासम्म भएपछि खोरबाट बाहिर छाड्न सकिने प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ ।
खोरभित्र घाँसेमैदान व्यवस्थापन, पानीका पोखरी निर्माण गरिने छ । सँगै सुरक्षाका लागि निर्माण गरिएको मचान व्यवस्थित गरिने निकुञ्जले जनाएको छ । अर्नाको वंश विस्तारमा सफलता पाउन पोथी अर्नाको संख्या कम्तीमा पनि २० वटा हुनु पर्दछ । तिनीहरुले जन्माएका पाडापाडीले समेत दोस्रो पुस्ता जन्माउन थालेपछि मात्रै सफलता पाएको मानिन्छ । अहिले पोथी संख्या पर्याप्त छैन । जम्मा ७ वटा मात्रै प्रजनन् योग्य पोथी अर्ना छन् । अब थप १३ वटा पोथी अर्ना थप्नुपर्ने निकुञ्जका अधिकारीहरु बताउँछन् ।

अर्नाको ‘स्टाण्र्डड साइज’ भनेको ४० देखि ५० वटासम्मलाई मानिन्छ । वंश बिस्तार भएपछि यिनीहरुलाई निकुन्जको प्राकृतिक वातावरणमा स्वतन्त्र रुपमा छाड्ने उद्देश्य निकुञ्जको छ । अर्ना बढेसँगै बाघको आहार प्रजाति पनि बढ्ने छ । कोशी टापुमा अर्नाको बाघसँग पनि देखभेट नभएकोले बाघको संगत बुझेका छैनन् । तर, यहाँ भने बाघ छ । बाघले एक अर्ना समेत मा¥यो । एउटा भाले अर्नाले बाघलाई घाइते पनि बनायो । बाघका गतिविधि यहाँका अर्नाले पनि नियालेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । दिर्घकालिन लक्ष्य बनाएर काम गरे, अबको ५ देखि ७ बर्षमा निकुञ्जको खुल्ला क्षेत्रमा छाड्न सकिने प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

कोशी टापु वन्यजन्तु आरक्षमा मात्रैं पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले ‘कोल्याप्स’ हुने सक्ने भएकोले यसअघि २०७३ माघ १४ गते पहिलो पटक अर्नाको स्थानान्तरण गरि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । कोशीटापुको र चितवन राष्ट्रिय निकुञ्जको हावापानी र आहार मिल्दोजुल्दो छ ।

निकुञ्जमा अर्नाको इतिहास

सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो । तर, एकाएक अर्नाहरु यहाँबाट लोप भए । सन् १९७३ मा नेपालमा नै पहिलो राष्ट्रिय निकुञ्जका रुपमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ बर्षअघि नै अर्ना यहाँका जंगलबाट लोप भए । चितवनबाट अर्ना लोप हुनुको कारणका बारेमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल भन्छन्, ‘चितवनमा पहाडी भेगवाट वसाईसराई हुने क्रम बढ्यो, वासस्थानको विनास भयो, उसैपनि प्राकृतिक कारणबाट घट्दै गएका अर्नाको चोरी शिकारी भयो । बाघले पनि आक्रमण गर्‍यो र त्यसलाई जोगाउन सकिएन ।’

चितवनबाट अर्ना लोप भएको झण्डै ५७ बर्षपछि २०७३ माघमा कोशी टापु बन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट ३ गरि १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइए ।

विश्वभरी अर्नाको कुल सख्या ३ हजारको हाराहारीमा रहेको अनुमान छ । पछिल्लो गणना अनुसार कोशीटप्पुमा ४३२ वटा अर्ना रहेका छन् । काँस, सिरु, नर्काेट, बन्सो लगायतका घाँस प्रमुख चरनका रूपमा अर्नाले उपयोग गर्ने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई संरक्षित वन्यजन्तु सूचिमा राखेको छ । अर्ना मार्ने वा घाइते बनाउनेलाई बढीमा एकदेखि १० वर्षसम्म कैद वा ५० देखि ७५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?